Play

पोउबासंघमा निर्बाचन : उमेद्वारी दर्ता शुल्क डेढ लाख, चुनाबी खर्च महँगो, उमेद्वारको संख्या घट्ने

मुलुकको आर्थिक अवस्था कमजोर हुनु र संस्था प्रतिको आकर्षण घट्दा उमेद्वारको संख्या घट्ने अनुमान


गुरुकुल खबर


पोखरा, पोखराको जेठो संस्थाको रुपमा मानिने पोखरा उद्योग बाणिज्य संघको आगामी कार्यसमितिमा जान चाहनेहरुको लागि निर्बाचन समितिले शुक्रबार बिहानबाट मनोनयन पत्र वितरण गर्ने कार्यक्रम सार्बजनिक गरेको छ। भदौ ११ गतेबाट निर्बाचन कार्यक्रम शुरु भएकोमा भदौ २९ गते मतदान र त्यसपछि मतगणना सम्पन्न गरेपछि निर्बाचन प्रक्रिया पुरा हुनेछ।

शुक्रबार मनोनयन पत्र लिने र आइतबार उमेद्वारी दर्ता

निर्बाचन कार्यक्रम अनुसार शुक्रबार उमेदवारी दर्ताको लागो भदौ १४ गते शुक्रबार बिहान ११ बजे देखि दिउँसो ५ बजे सम्ममा मनोनयन पत्र लिन पाइने छ।

मनोनयन पत्र शुक्रबार लिएपनि उमेद्वारी दर्ता भने भदौ १६ गते बिहान ११ बजे देखि ४ बजे सम्म हुनेछ। उमेद्वारी उपर दाबि बिरोधको लागि बिहान १० बजे देखि दिउँसो १ बजे सम्मको समय निर्धारण गरिएको छ। उमेद्वारहरुले आफ्नो नाम फिर्ता लिन चाहेमा भदौ १८ गते ११ बजेबाट ४ बजेसम्मको समय दिइएको छ।

सबै उमेद्वारको अन्तिम नामावली पनि सोहि दिन साँझ ५ बजे प्रकाशन गरिने कार्यक्रम छ । भदौको २८ र २९ गते संघको महाधिबेशन हुँदै छ सोहि महाधिबेशनको क्रममा भदौ २९ गते हुने निर्बाचन कार्यक्रमबाट संघको आगामी कार्यकालको लागि अध्यक्ष सहितको नयाँ कार्यसमिति निर्बाचित हुने छ।

उमेद्वारको संख्या  बिगतमा भन्दा थोरै हुने 

पोखरा उद्योग बाणिज्य संघको निर्बाचनमा यस पटक उमेद्वारको संख्या घट्ने निश्चित जस्तै छ। अघिल्लो निर्बाचनमा अध्यक्षका उमेद्वारको संख्या कम्तिमा दुई र बढीमा छ जना सम्म पनि पुगेको थियो। पदाधिकारीहरुमा कम्तिमा दुईवटा प्यानल हुने गरेको कारण हरेक पदमा दुई वा त्यसभन्दा बढी संख्यामा उमेद्वार बन्ने गरेका थिए। तर यसपटक अधिकांश पदाधिकारीमा निर्बिरोध हुने सम्भावना बढेको छ।

सदस्यहरुमा पनि आबश्यक संख्याभन्दा थोरै बढी मात्र उमेद्वार बन्ने अनुमान गरिएको छ। यसपटक अध्यक्षमा हालका बरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की र पूर्व महासचिब एबम अघिल्लो पटकका उपविजेता अर्जुन पोखरेल बीच प्रतिष्पर्धा हुने भएको छ। पोखरेल र कार्कीले चुनाबी प्रचार प्रसार शुरु गरेको भएपनि उमेद्वारी दर्ता भने निर्बाचन कार्यक्रम अनुसार नै हुनेछ।

अध्यक्ष पदमा दुई जनाको मात्र उमेद्वारी पर्ने देखिनु, अन्य पदाधिकारीमा पनि अधिकांश पदमा निर्बिरोध हुने सम्भावना देखिनुले उमेद्वारी दर्ता गराउनेको संख्या कम हुने अबस्था देखिएको संघमा काम गरिसकेका जिम्मेवार ब्यबसायीले गुरुकुल खबरलाई बताए। यसका साथै पोखरा उद्योग बाणिज्य संघको शाख पनि बिगतमा भन्दा गिर्दै जानु र उमेद्वार मनोनयन बापत बुझाउने रकम पनि अत्यधिक लिने भएपछि संघका मतदाता वा सदस्य उद्योगी ब्यबसायीले चुनाबी प्रतिष्पर्धामा जान कम चाहना राखेको बुझिएको छ।

मनोनयन शुल्क महँगो बनाएकोले पनि उमेद्वार कम 

पोखरा उद्योग बाणिज्य संघको अधिबेशनमा उमेद्वार बन्न चाहनेहरुले यसपटक मनोनयन शुल्क बापत महँगो शुल्क तिर्नुपर्ने भएको छ। जस अनुसार संघको अध्यक्ष पदका प्रत्याशीले १ लाख ५० हजार, बरिष्ठ उपाध्यक्ष, दुई उपाध्यक्ष, महासचिब, कोषाध्यक्ष र उपमहासचिब पदमा उमेद्वार बन्न चाहनेले १ लाख रुपैया र कार्यसमितिको सदस्य पदमा उमेद्वार बन्न चाहनेहरुले ५० हजार रुपैया सहित मनोनयन पत्र बुझाउनु पर्ने छ।

यस अगाडीको अधिबेशनमा उमेद्वार मनोनयन बापत अध्यक्षका लागि ७५ हजार रुपैया, पदाधिकारीको लागि ५० हजार रुपैया र सदस्यहरुको लागि २५ हजार रुपैया लिईएकोमा यस पटक उक्त रकममा दोब्बर वृद्धि गरि क्रमश १ लाख ५० हजार, १ लाख र ५० हजार पुर्याइएको हो।

एकातिर देशको राजनीतिक एबम आर्थिक कारणले उद्योग ब्यबसायको अबस्था राम्रो नहुनु र अर्को तिर उद्योग बाणिज्य संघले आम उद्योगी व्यवसायीको हितमा काम गर्न नसकेको आरोप लाग्नु त छंदैछ। त्यसमाथि चुनाबमा उमेद्वार बनेर जित्ने निश्चित समेत नहुँदा संघको कार्यसमितिमा उमेद्वारी दिनेको संख्या कम हुने देखिएको छ।

एकातिर मुलुकको समग्र आर्थिक अबस्था उत्सहनाजक नभएको र अर्को तिर उद्योग बाणिज्य संघप्रतिको आकर्षण समेत घटेको अबस्थामा किन मनोनयन शुल्क बढाइएको त भन्ने प्रश्नमा निर्बाचन समितिका संयोजक एबम पोखरा उद्योग बनिजा संघका पूर्व अध्यक्ष कृष्णमोहन श्रेष्ठले मनोनयन शुल्क निर्बाचन समितिले नतोकेको स्पष्ट पारे।  “पोखरा उद्योग बाणिज्य संघको कार्यसमितिको बैठकले मनोनयन शुल्क निर्धारण गरेर निर्बाचन समितिलाई दिएको र सोहि अनुसार निर्बाचन समितिले काम अगाडी बढाएको हो।” संयोजक श्रेष्ठले गुरुकुल खबरसंग भने।

उमेद्वार मनोनयन गर्दा महँगो शुल्क बनाएकोले मात्र नभएर चुनाबी प्रचार प्रसारमा समेत मोटो रकम खर्च लाग्ने भएपछि उमेद्वार बन्नेको संख्या कम हुने अनुमान गरिएको छ। यस अगाडिको अधिबेशनमा कार्यसमितिको सदस्य पदमा उमेद्वार हुनेले समेत ४/५ लाख रुपैया खर्च गर्ने गरेका थिए। प्यानलमा चुनाब लड्नुपर्ने भएपछि संयुक्त कोष बनाएर प्रचार अभियान संचालन गर्ने गरेकोमा यस वर्ष अघिल्लो अधिबेशनहरुमा जस्तो प्रचार प्रसार र भोजमा कम मात्र खर्च हुने अनुमान चुनाबी अभियानमा खटिएका उमेद्वारहरुले नै गरेका छन् ।

कसले गर्लान त मनोनयन दर्ता ? 

पोउबासंघको आगामी कार्यकालको लागि नेतृत्व लिन दुईजनाले अध्यक्ष पदमा उमेद्वारी दिने चर्चा केहि दिनदेखि चलिरहेको छ। हालका बरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की र गत अधिबेशनका उपविजेता अर्जुन पोखरेल गरि दुई जनाले अध्यक्षमा उमेद्वारी दर्ता गर्ने करिब निश्चित जस्तै छ।

अन्य पदहरु मध्ये बरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्दाचार्य, उपाध्यक्ष उद्योग तर्फ दिनेश बाँस्तोला र उपाध्यक्ष बाणिज्य तर्फ बलराम आचार्यको उमेद्वारी पर्ने देखिएको छ भने महासचिबमा शोभा गौतम, कोषाध्यक्षमा मनोज श्रेष्ठ र उपमहासचिबमा बालकृष्ण कोइरालाको उमेद्वारी पर्ने भएको छ। अन्य केहि उद्योगी ब्यबसायीको समेत चर्चा चलेको भएपनि कसले कुन पदमा उमेद्वार दिन्छन या दिंदैनन भन्ने कुरा उमेद्वारी दर्ता पछि मात्र स्पष्ट हुनेछ।

सदस्य पदमा दिलिप कुमार श्रेष्ठ,  भिम गौतम, जिबन प्रकाश श्रेष्ठ, प्रेम प्रसाद सुबेदी, सौगात थापा, देबेन्द्र प्रजु, टिकाराम सुबेदी, ललित बहादुर कुँवर, दुधमान गुरुङ र यादब पोखरेल लगायतको उमेद्वारी दर्ता हुने सम्भावना छ। सदस्य पदमा अन्य केहि उमेद्वार बन्ने सम्भावना रहेपनि को को उमेद्वार बन्लान भन्ने स्पष्ट भैसकेको छैन हाल कार्यसमितिमा रहेका र केहि नयाँ उमेद्वारहरु सदस्य पदका लागि आउने बताइएको छ ।

१३ भाद्र २०८१, बिहीबार २३:१८ मा प्रकाशित
Nabintech