Play

पोउबासंघ अधिबेशन : निर्बाचन नजिकिंदै गर्दा प्यानल निर्माण र घोषणा झनै पेचिलो

गुरुकुल खबर


पोखरा, पोखरा उद्योग वाणिज्य संघको  ३५ औं अधिबेशन आउन करिब एक महिना मात्र समय बाँकी छ। तर कार्य समितिको निर्बाचनको लागि अझैसम्म पनि औपचारिक रुपमा उमेद्वारी घोषणा हुन सकेको छैन। संघको अध्यक्ष बन्नको लागि हालका बरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की र अघिल्लो अधिबेशनमा अध्यक्ष पदका उपबिजेता अर्जुन पोखरेलले आआफ्नो गृहकार्य शुरु गरेको भएपनि उनीहरुको प्यानल बन्न नसक्दा औपचारिक घोषणा र चुनाबी प्रचार प्रसारले गति लिन नसकेको हो । व्यक्तिगत रुपमा भने सबै आकाँक्षीहरुले सदस्यहरु संगको भेटघाटलाई तिब्र बनाउंदै लगेका छन।

यहि साउनको १५ गते बसेको कार्यसमितिको बैठकले भदौ २८ र २९ गते अधिबेशन गर्ने निर्णय गरे लगत्तै प्यानल बनाउने गृहकार्यमा कार्की र पोखरेल जुटेको भएपनि प्यानल बनाउने कार्य चुनौतिपूर्ण बन्दै गएको छ । अधिबेशन तोकिए लगत्तै कार्कीको नेतृत्वमा बन्ने प्यानल बलियो हुने अनुमान गरिएको थियो। सोहि अनुरुप तत्कालै प्यानल घोषणा गर्ने तयारीमा कार्की सहित संघको संस्थापन पक्ष लागेको थियो।

कार्की प्यानलमा बरिष्ठ उपाध्यक्षमा बलराम आचार्य, दुई उपाध्यक्षमा उत्तममान बुद्दाचार्य र देबेन्द्र केसी, महासचिबमा दिनेश बाँस्तोला र कोषाध्यक्षमा मनोज श्रेष्ठ र उप महासचिबमा सुदीप प्रधानाङ्ग सहित अन्य बहालवाला सदस्य र अन्य केहि नयाँ थप गरेर प्यानल बनाउने तयारी संस्थापन पक्षले गरेको थियो । प्यानल बनाउन बिशेष गरि बहालवाला अध्यक्ष पवन प्रजापती, पूर्व अध्यक्षहरु नारायण कोइराला र विश्वशंकर पालिखे लगायत बढी सक्रिय रहेका थिए।

तर उनीहरुले प्रस्ताब गरेअनुरुप बुद्दाचार्यले अहिलेको जस्तै उपाध्यक्ष पदमा बस्न नमानेपछी प्यानल घोषणा गर्ने कार्य पछि सर्दै आएको छ। आँफुहरुले प्रस्ताब गरे अनुरुपको प्यानल मन नपराउनेहरु संगठित बनेर अर्को प्यानल बनाउन सक्ने डरका कारण कार्कीको प्यानल घोषणा हुनमा ढिलाई हुँदै गएको हो। समय घर्किंदै गएपछि उक्त प्यानलमा रहेकाहरु समेत असन्तुष्ट बन्न लागेको छन ।

सोहि प्यानलमा उपाध्यक्षमा बस्न तयार रहेका हालका उपाध्यक्ष देबेन्द्र केसीले बुधबार सामाजिक संजाल मार्फत आँफु उद्योग बाणिज्य संघको कुनै पनि पदमा उमेदवार नबन्ने घोषणा समेत गरेका छन। केसीको यो घोषणा संगै कार्कीको प्यानल बनाउने काम थप चुनौतीपूर्ण देखिएको छ।

कार्कीसंग अध्यक्षमा प्रतिष्पर्धा गर्ने चाहना राखेका पोखरेललाई शुरुमा प्यानल बनाउन निकै कठिन देखिएकोमा समय बित्दै जाँदा पोखरेललाई प्यानल बनाउने समस्या कम हुँदै गएको छ। पोखरेलको प्यानलमा बरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्दाचार्य र महासचिबमा शोभा गौतमको टुंगो लागेको भएपनि अरु पदाधिकारी कसलाई बनाउने भन्नेमा पोखरेल समेत अन्योलमै छन। पोखरेलले कार्कोको प्यानलमा नअटाएकाहरुलाई समेटेर प्यानल बनाउने डरका कारण पनि कार्कीको प्यानल घोषणामा ढिलाई हुँदै गएको हो । कार्कीको प्यानल घोषणा गरेपछि मात्र पोखरेलले आफ्नो प्यानल घोषणा गर्ने बताउंदै आएका छन । कार्की प्यानलमा प्रस्ताब गरिएका पदाधिकारीहरु मध्येबाट नै पोखरेलले प्यानल बनाउने तयारी गरेको थाहा भएपछि अहिले कार्कीको प्यानल घोषणा हुन नसकेको एक पूर्व अध्यक्षले गुरुकुल खबरलाई जानकारी दिए।

यस अगाडी पोखरेलको प्यानलबाट उपाध्यक्षमा निर्बाचित देबेन्द्र केसीलाई यसपटक पनि आफ्नो प्यानलमा सोहि पदमा बस्न पोखरेलले आग्रह गरेको बुझिएको छ कार्की प्यानलले उपाध्यक्ष पदमा यथाबत रहन प्रस्ताब गर्नु र पोखरेलले पनि आफ्नो प्यानलमा आएर सोहि पदमा चुनाब लड्न प्रस्ताब गर्नुले उनि दोहोरो चेपुवामा परेर चुनाब नलड्ने घोषणा गरेको पो हुन् कि भन्ने अनुमान समेत कतिपयले गरेका छन । पोखरेललाई संघका पूर्व अध्यक्ष बिन्दु थापा सहित अन्य केहि प्रभावशालि पूर्व अध्यक्षको समर्थन रहने उनीहरु अझै सम्म खुलिसकेको छैनन ।

पोखरा उद्योग बाणिज्य संघमा करिब तिन हजार उद्योगी ब्यबसायीहरु सदस्य रहेका छन। उनीहरुले नै मतदान गरेर अध्यक्ष सहित नयाँ कार्यसमिति चुन्ने ब्यबस्था रहेको छ।

अध्यक्ष पदका आकांक्षी कार्की २०५५ मा संघको साधारण सदस्य बनेपछि २०६१ मा संघको कार्यसमितिको सदस्य बन्न चुनाब लडेको भएपनि पराजित बनेका थिए। पछिल्लो समयमा उनि लगातार ३ कार्यकाल संघको महत्वपुर्ण पदमा छन उनि २ कार्यकाल सम्म उद्योग तर्फको उपाध्यक्ष र पछिल्लो कार्यकाल बरिष्ठ उपाध्यक्षको रुपमा कार्यरत छन । “अब मेरो उमेद्वारी अध्यक्ष पदमा नै रहनेछ र यो स्वाभाविक पनि हो, चुनाबको लागि सबैलाई मिलाएर टिम बनाउने प्रयासमा साथीहरु लाग्नु भएको छ” कार्कीले गुरुकुल खबरसंग भने । उनले उद्योग बाणिज्य संघको विभिन्न उपसमितिमा रहेर पनिकाम गरिसकेका छन ।

अघिल्लो पटक अध्यक्ष पदमा पराजित अर्जुन पोखरेल यस पटक पनि अध्यक्ष पदमा चुनाब लड्ने तयारीमा छन। २०७१ मा संघको कार्यसमितिको सदस्य निर्बाचित भएपछि क्रमश: उपमहासचिब, महासचिब र बाणिज्य तर्फको उपाध्यक्ष जितेको उनले अघिल्लो पटक अध्यक्ष पदमा चुनाब लडेका थिए। यसपटक पनि अध्यक्ष पदमा चुनाब लड्ने कुरा सार्बजनिक गरेका उनले आँफु पूर्व अध्यक्षहरु सहित अन्यसंगको परामर्शमा रहेको जानकारी दिए। “धेरै सदस्यहरुले मलाइ अध्यक्ष बन्न आग्रह गरेकोले त्यसलाई मुर्तरुप दिन मैले गृहकार्य शुरु गरेको छु”। उनले भने ।

यस अगाडी सम्पन्न अधिबेशनमा बरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्कीले जित्दा उक्त पदका उमेद्वार हरिहर सापकोटा पराजित बनेका थिए। सापकोटा तत्कालिन अबस्थामा अध्यक्ष पदका उमेद्वार अर्जुन पोखरेलको टिमबाट उमेद्वार बनेका हुन। पोखरेलको टिमबाट उमेद्वार बनेकाहरुमध्ये देबेन्द्र केसीले मात्र उपाध्यक्ष पदमा बिजय प्राप्त गरेका थिए । केसीसंग हिरामणी पण्डित पराजित बनेका थिए। पण्डित राजनीतिक रुपमा नेकपा एकीकृत समाजबादी सम्बद्द भएकोले मत तान्ने प्रयोजनमा उनलाई उमेदवार बनाइएको थियो।

बाणिज्य तर्फको उपाध्यक्षमा कुमारी मुना बाँस्तोला र शोभित पौडेलले पराजय भोग्नुपर्दा उत्तममान बुद्दाचार्यले बिजयी हुने अवसर पाएका थिए। महासचिबमा बलराम आचार्य बिजयी बन्दा केशव खत्री र तारानाथ ढुंगानाले पराजय भोगेका थिए। यसैगरी कोषाध्य्क्षमा हरीराज पन्तलाई दिनेशचन्द्र बाँस्तोलाले पराजित गरेका थिए भने उपमहसचिबमा शोभा गौतमले हर्कबहादुर अधिकारी ‘मिराज’ लाई पराजित गरेकी थिइन।

यसपटक संघको उपमहसचिबमा हालको कार्यसमितिमा सदस्य रहेकाहरु मध्येबाट उमेद्वार बनाइने सम्भावना छ।  कार्यसमितिमा खुल्ला तर्फबाट सदस्यमा निर्बाचित प्रभा सुबेदी, बालकृष्ण कोइराला, सुदिप प्रधानाङ्ग, भरत केसी, दिलिप कुमार श्रेष्ठ, कृष्ण प्रसाद कोइराला, भिम गौतम, माधव बस्ताकोटी, मनोजकुमार श्रेष्ठ, सुदिप ओझा रहेकोमा प्रभा सुबेदी, बालकृष्ण कोइराला, सुदिप प्रधानाङ्ग र सौगात थापाले पदाधिकारीमा चुनाब लड्ने चाहना राखेको कारण कार्की र पोखरेलको प्यानलमा उनीहरुमध्ये बाट नै राखिने छ।

कार्यसमितिमा कर्पोरेटबाट बन्दना कार्की केसी र राम प्रसाद कंडेल तथा बस्तुगत तर्फबाट जिबन प्रकाश श्रेष्ठ, प्रेम प्रसाद सुबेदी, लेखनाथ सुबेदी, लिलाधर चपाइ सदस्य छन भने उद्योग तर्फबाट युबक बहादुर बस्नेत सदस्य रहेका छन। कार्यसमितिमा सौगात थापा, देबेन्द्र प्रजु, प्रदिप राजभण्डारी, टिकाराम सुबेदी मनोनित सदस्य र रुद्रलाल श्रेष्ठ अनि निरन केसी आमन्त्रित सदस्यको रुपमा रहेका छन। उनिहरु कार्यसमितिको कुन पदमा उमेद्वार बन्ने वा नबन्ने भन्ने स्पष्ट हुन सकेको छैन।

अघिल्लो अधिबेशनमा सदस्य पदमा उमेद्वार बनेर पनि झिनो मतले पराजित हुनेमा ललित कुँवर रहेका छन। उनि यस पटक पनि सदस्य पदमा उमेद्वार बन्ने निश्चित जस्तै छ। होटल पर्यटन सहित अन्य विभिन्न ब्यबसायमा कुँवरको संलग्नता रहेको र अघिल्लो पटक झिनो मतले पराजित भएको कारण यस पटक दुवै पक्षले उनलाई आफ्नो प्यानलमा राख्न चाहेको बताईन्छ।

अघिल्लो पटक सदस्यको उमेद्वार बनेर पराजित भएका हिमानिधि लौडारी, बिनोद केसी, रामचन्द्र शर्मा, धर्मेन्द्र बाटाजु, दुर्गा रंजित श्रेष्ठ र यामनाथ तिमिल्सिना यस पटक उमेद्वार बन्ने वा नबन्ने भन्ने अझै खुलेको छैन।

यो पनि पढ्नुहोस ..

पोखरा उद्योग बाणिज्य संघको चुनाब : कार्की र पोखरेलको छुट्टाछुट्टै प्यानल निर्माण गर्न गृहकार्य शुरु

३० श्रावण २०८१, बुधबार १५:३३ मा प्रकाशित
Nabintech