Play

लुम्बिनी र बागमती प्रदेशमा नयाँ मन्त्रीमण्डल, भागबण्डा नमिलेको भन्दै कांग्रेसमा किचलो

गुरुकुल खबर


काठमाडौँ । नेपाली काँग्रेस र नेकपा एमालेबीच नयाँ समिकरण बनेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा केन्द्र सरकार बनेको छ र विभिन्न प्रदेशहरुमा पनि नयाँ सरकार बन्ने क्रम चलिरहेको छ यसै क्रममा बागमती र लुम्बिनीमा पनि नयाँ समीकरण अनुसार नयाँ सरकार गठन भएका छन् ।

बागमती प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाको नेतृत्वमा नयाँ मन्त्रिमण्डल बनेको छ भने लुम्बिनीमा एमालेका चेतनारायण आचार्यको नेतृत्वमा सरकार गठन भएको छ । आचार्य भने संसदीय दलको नेता नभएपनि मुख्यमन्त्री बनाइएकोमा पार्टीभित्र असन्तुष्टि पनि देखिएको छ।

बागमती प्रदेशमा लामा मंगलबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले बुधवार कांग्रेस एमालेलाई समेटेर १० सदस्यीय मन्त्रिपरिषद् गठन गरेर शपथ ग्रहण गराएका छन् । शपथ ग्रहण गरेसँगै बागमतीका मन्त्रीहरूले बुधबारबाटै जिम्मेवारी बहन गरेका छन् ।

लामाको नेतृत्वमा बनेको मन्त्रीमण्डलमा एमालेका ६ र कांग्रेसका ३ मन्त्री छन् । एमालेबाट मन्त्री बनेका प्रकाश श्रेष्ठले कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापाले स्वास्थ्य मन्त्रालय, कृष्ण सिलवालले वन तथा वातावरण मन्त्रालय, सुकमाया तामाङले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन मास्केले भौतिक पूर्वाधार विकाश मन्त्रालय र प्रेम भक्त महर्जनले श्रम रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।

त्यस्तै कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम खड्का, मदुकुमार श्रेष्ठले मन्त्रीको शपथ लिएपनि उनीहरूको जिम्मेवारी तोकिएको छैन । बागमतीमा १३ वटा मन्त्रालय छन् ।

यता लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नौ सदस्यीय मन्त्रिमण्डल बनाएका छन् । मुख्यमन्त्री आचार्यले बुधवार नै शपथ लिएर नौ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका हुन मुख्यमन्त्री आचार्यले कांग्रेस र एमालेका गरी ८ जना सांसदलाई विना विभागीय मन्त्री बनाएका हुन् ।

नयाँ मन्त्रीहरूमा भूमिश्वर ढकाल, दिनेश पन्थी, बादशाह कुर्मी, सरोज थापा, प्रचण्ड विक्रम न्यौपाने, खेमबहादुर सारु, सीता शर्मा रहेका छन् । मन्त्रालय भागबन्डामा सहमति नजुटेकोले उनीहरूको मन्त्रालय भने तोकिएको छैन । हाललाई ११ वटै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीलाई नै तोकिएको छ।

प्रदेशमा मन्त्री बनाउँदा भागबन्डा नमिलेको भन्दै कांग्रेसभित्र किचलो

यसैबीच एमालेसंगै सत्तारोहण गरेको नेपाली कांग्रेसभित्र प्रदेश सरकारमा मन्त्री चयन गरिएको बिषयलाई लिएर असन्तुष्टि देखोइएको छ। सङ्घीय सरकारमा ४० प्रतिशत मन्त्री भागबन्डा पाएको डा.शेखर कोइराला समूहले प्रदेश सरकारको मन्त्रीमा भाग नै नपाएपछि असन्तुष्टि बढेको हो ।

पार्टी सभापति शेरबहादुर देउवाले प्रदेश सरकार गठन र पठाउने मन्त्रीहरूका सवालमा अहिलेसम्म शेखर समूहसँग सल्लाह र समन्वय नगरेको भन्दै कोइराला समूह आन्तरिक छलफलमा जुटेको छ। प्रदेश सरकार गठन र आफ्नो समूहको सहभागिताबारे कोइरालाको बिशालनगरस्थित सम्पर्क कार्यालयमा कोइरालाले उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनसँग छलफल गरेको र छलफलले कोशीमा–२, बाग्मतीमा– ३, गण्डकीमा–२, लुम्बिनीमा– २, कर्णालीमा–१ र सुदूरपश्चिममा–१ जना मन्त्री शेखर समूहले पाउनुपर्ने अडान राख्ने निष्कर्ष निकालेको एक नेताले बताए ।

महामन्त्री थापा र शर्माले सभापति देउबालाई लिखित ध्यानाकर्षण पत्र बुझाउने

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पनि सरकार गठन सहितका विभिन्न बिषयमा सभापति शेरबहादुर देउवालाई लिखित ध्यानाकर्षण बुझाउने तयारी गरेका छन् । महामन्त्रीद्वयले मन्त्रिपरिषद् विस्तार गर्दा समावेशितालाई ख्याल नगरेको‚ विवादित र स्वार्थ बाझिने सांसदहरूलाई मन्त्री बनाएको विषयमा ध्यानाकर्षण गराउने तयारी गरेका हुन् । यस्तै‚ असोज २३ मा बस्ने केन्द्रीय समितिमा उठान गर्नुपर्ने एजेन्डालगायत विषय समावेश गरेर लिखित ध्यानाकर्षण गराउने तयारी भएको महामन्त्री निकट स्रोतले बतायो ।

प्रदेश अध्यक्षको अध्यक्षको आपत्ति

यसैबिच, लुम्बिनी प्रदेशको मन्त्री छनोट गर्दा प्रदेश कार्यसमितिलाई बेवास्ता गरेको भन्दै कांग्रेसका प्रदेश सभापति अमरसिंह पुनले असन्तुष्टि जनाएका छन् । पार्टीबाट पठाउने व्यक्तिहरूको छनोट गर्दा प्रदेश समितिलाई पूर्णतया बेवास्ता गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको उनले बुधवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सङ्घीयता एवं समावेशिताको मर्म र पार्टीको विधान विपरीत मन्त्रीहरू बनाएको आरोप पुनको छ । आम कार्यकर्ताको भावना विपरीत मन्त्रीहरू छनोट भएको जनाउँदै प्रदेश सभापति पुनले असन्तुष्ट कार्यकर्ताको बृहत् भेला गरी यथोचित निर्णयमा पुग्ने चेतावनी दिएका छन् ।

गुल्मीका धनेन्द्र कार्की, प्युठानका सरोज थापा (रोज राणा), दाङका प्रचण्डविक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मी कांग्रेसबाट मन्त्री बनेका छन् । न्यौपाने संस्थापन इतरका हुन् भने मन्त्री बनेका अन्य संस्थापन समूहका हुन् ।

९ श्रावण २०८१, बुधबार २१:५४ मा प्रकाशित
Nabintech