Play

चौथो महिला परराष्ट्रमन्त्री बनिन आरजु राणा, परराष्ट्र सचिब पनि महिला

गुरुकुल खबर


काठमाडौँ ,  नेपालको परराष्ट्रमन्त्री पदमा नेपाली काँग्रेसकी नेत्री डा. आरजु राणा देउबाले पदबहाली गरेकी छन उनि परराष्ट्रमन्त्री बन्ने चौथो महिला बनेकी छन। नेपालको पहिलो परराष्ट्रमन्त्री सहाना प्रधान हुन् भने त्यसपछि विभिन्न समयमा क्रमशः सुजाता कोइराला र डा.विमला पौडेलले परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए सोमबार चौथो महिला परराष्ट्रमन्त्रीको रुपमा आरजु राणा पद बहाली भएको हो।

नेपाली काँग्रेसकी सांसद आरजु राणा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी धर्मपत्नी हुन् । उनलाई विदेश मामिलाका जानकार पनि मानिन्छ । उनी नेपाली कांग्रेसबाट समानुपातिक प्रतिनिधित्व गर्दै प्रतिनिधिसभा सदस्य बनेकी हुन।

यसअघि उनी २०७४ सालमा कैलालीबाट चुनाव लडेपनि एमालेका नारदमुनि रानाबाट पराजित भएकी थिइन् । यस्तै २०७९ को चुनावमा पनि उनी समानुपातिक सांसद भएकी थिइन् । भारतबाट मनोविज्ञान विषयमा विद्यावारिधि गरेकी आरजु २०५३ देखि राजनीतिमा सक्रिय छिन् । राजनीतिबाहेक उनी गैरसरकारी संस्थाहरूमा पनि आबद्ध रहँदै आएकी छन् ।

नेपाल सरकारको परराष्ट्र सचिब समेत महिला भएको समयमा परराष्ट्र मन्त्री पनि महिला बन्ने संयोग जुटेको छ। परराष्ट्र मन्त्रालयको सचिवको भूमिकामा सेवा लम्साल रहेकी हुन् ।

सचिव लम्साल परराष्ट्रमा उपसचिवका रूपमा प्रवेश गरेकी थिइन् । सन् २०१६ देखि २०२० सम्म पाकिस्तानका लागि नेपाली राजदूतका रूपमा काम गरिसकेकी उनले २०२० मा नेपाल फर्केपछि संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरू र अन्तर्राष्ट्रिय कानुन विभागमा पनि काम गरेकी थिइन् । २०८० मा सचिवमा बढुवा भएकी लम्सालले आफ्नो कार्यकालमा महिलामन्त्री मन्त्रालयको नेतृत्वको रूपमा पाएकी हुन् ।

यसैबीच नवनियुक्त परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले नेपाल असंलग्न आन्दोलन र पञ्चशीलको सिद्धान्तमा विश्वास गर्ने मुलुक भएको बताउंदै सबैसँग सन्तुलित सम्बन्ध कायम गरी अघि बढ्नुपर्ने धारणा राखेकी छन।

संचारकर्मीसंग कुरा गर्दै उनले भनिन, ” पूर्वजहरूको योगदानका कारण मुलुकको सार्वभौमसत्ता र स्वतन्त्रता इतिहासदेखि नै सुरक्षित रहेको छ, यसलाई अक्षुण्ण राख्नुपर्ने हामी सबैको दायित्व हो।”

नेपालले विभिन्न अन्तर्राष्ट्रिय सन्धि, सम्झौता र प्रतिबद्धता गरेको तथा त्यसको कार्यान्वयनबाट आर्थिक कूटनीतिलाई अघि बढाउन योगदान गर्न सकिनेमा जोड दिंदै उनले वर्तमान अबस्थामा नेपाल बाहिर बस्ने नेपालीका लागि धेरै काम गर्नुपर्ने आवश्यकता औँल्याईन।

मन्त्री डा. राणाले रुसी सेनामा भर्ना हुन गएका र अप्ठ्यारोमा परेका नेपाली युवाको उद्धार तथा इजरायलमा हमासको आक्रमणको क्रममा बेपत्ता भएका नेपाली युवा विपिन जोशीको रिहाइका लागि नेपाल सरकारबाट यसअघि पनि पहल भएको र आफ्नो कार्यकालमा पनि थप पहल गर्ने स्पष्ट पारिन।

३१ असार २०८१, सोमबार २३:२७ मा प्रकाशित
Nabintech