Play

अपाङ्ग व्यक्तिको अधिकारको लागि गण्डकी प्रदेश सरकार गम्भीर छ – मन्त्री थापा

गुरुकुल खबर


पोखरा, गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनिश्चिततामा प्रदेश सरकार गम्भीर रहेको बताएका छन् । नेपाल अपाङ्गता संघ कास्की र राष्ट्रिय शारीरिक अपाङ्ग महासंघ गण्डकी प्रदेशको संयुक्त आयोजना र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय अन्तर्गतको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र गण्डकीको सहयोगमा भएको स्वास्थ्य तथा सहायक सामग्री वितरण कार्यक्रममा उनले यस्तो बताएका हुन् । कार्यक्रममा अपाङ्गता भएका व्यत्तिहरुलाई व्हीलचियर, मेडिकल सामग्री हस्तान्तरण गरिएको थियो ।

“अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चिततामा प्रदेश सरकार प्रतिबद्ध छ । सम्बन्धित संघसंस्थासँग समन्वय गर्दै अगाडि बढनेछौं।”, उनले भने । मन्त्री थापाले अपाङगता भएका नागरिकको क्षमता अभिवृद्धि, सीप विकास र रोजगारी सिर्जनामा प्रदेश सरकार लागिरहेको बताए । त्यसका लागि आवश्यक बजेट विनियोजन समेत गरिएको उनले जानकारी दिए ।

अपाङ्गता भएका व्यक्तिहरुलाई सीप विकास तालिम दिलाई उनीहरुबाट उत्पादित वस्तुको बजारीकरणमा समेत प्रदेश सरकारले सहयोग गर्ने उनले उल्लेख गरे । स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका अधिकृत राममणी ढुंगानाले अपाङ्गता भएका व्यक्तिहरुको समस्या प्रकृति अनुसार फरक रहेको र आगामी दिनमा समन्वयका आधारमा कार्यक्रम तय गरिने बताए ।

राष्ट्रिय शारीरिक अपाङ्ग महासंघ गण्डकीका अध्यक्ष जगन्नाथ सुवेदीले प्रदेश सरकारबाट उपलब्ध भएको सहयोग सामग्रीले ठूलो राहत मिल्ने बताए । उनले अपाङ्गता भएका व्यक्तिहरुलाई आयआर्जनमा जोड्ने खालको कार्यक्रम ल्याउनुपर्ने आवश्यकतालाई औंल्याए ।

पोखरा महानगरपालिका अन्तर्गत नगर संजालका अध्यक्ष गंगा बहादुर खड्काले प्राप्त सामग्रीको सही सदुपयोग गर्न आग्रह गरे।

कार्यक्रम नेपाल अपाङ्गता संघ कास्कीका अध्यक्ष विष्णु सिग्देलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

२९ असार २०८१, शनिबार २१:५६ मा प्रकाशित
Nabintech