Play

अमेरिकाको टाउन अफ हेम्पस्टीडका नगरप्रमुखद्वारा नेपाली व्यक्तित्व खरेल सम्मानित

गुरुकुल खबर


लङआईल्याण्ड (अमेरिका),  अमेरिकाको लङ आईल्याण्डको टाउन अफ हेम्पस्टीडको आयोजनामा प्रत्येक बर्ष मनाइने एसियन अमेरिकन हेरिटेज मन्थ सेलेब्रेसन अर्थात सम्पदा उत्सब कार्यक्रम अन्तर्गत यस बर्ष नेपाली मुलका ब्यबसायी एबम स्थानीय सामाजिक व्यक्तित्व बेद खरेललाई सम्मान गरिएको छ ।

कार्यक्रममा खरेल सहित बिभिन्न मुलुकबाट त्यस नगरमा रहेर सामुदायिक सेवामा संलग्न व्यक्तित्वहरुलाई पनि सम्मान गरिएको थियो। न्यूयोर्क राज्य सिनेटर स्टिब रोड्स, हेम्पस्टीड टाउन क्लर्क केट मरे, हेम्पस्टीड वरिष्ठ परिषद महिला डोरोथी एल. गूस्बी लगायतका व्यक्तित्वहरु पनि कार्यक्रममा सहभागी भएका थिए । सम्मान प्राप्त गर्ने खरेल नेपालमा रहेकोले कार्यक्रममा उपस्थित हुन नसकेपछि उनको सम्मानपत्र कान्छा छोरा बिकास खरेललाई हस्तान्तरण गरिएको थियो ।

टाउन अफ हेम्पस्टीडका कार्यक्रम सुपरवाइजर महामहिम डा. डोनाल्ड क्लाभिन र सामुदायिक मामिला कार्यकारी निर्देशक जाहिद सैयदले आयोजना गरेको उक्त कार्यक्रममा नेपाल दोश्रोपटक सहभागी भएको हो । बिगतमा भारत, पाकिस्तान, चीन, बंगलादेश, फिलिपिन्स, कोरिया, र टर्की सहित सात देशहरूसँग मिलेर एशियन अमेरिकन हेरिटेज महिना कार्यक्रम संचालन हुने गरेकोमा गत बर्ष नेपाली ब्यबसायी एबम नेपाली समुदायका अगुवा बेदप्रसाद खरेलले उक्त संस्थामा नेपाली समाजलाई जोडेपछि नेपाल पनि सहभागी बन्न लागेको हो।

निर्वाचित अधिकारीहरू, टाउन अधिकारीहरू, विभिन्न देशका विभिन्न संस्थामा संलग्न व्यक्तित्वहरु उत्सवमा उल्लेखनीय रुपमा सहभागी थिए।

कार्यक्रममा बोल्दै टाउन अफ हेम्पस्टीडका प्रमुख डा. डोनाल्ड क्लाभिनले आफ्नो नगरलाई विभिन्न देशका नागरिकको कला, संस्कृति र परम्पराले थप आकर्षक  बनाएको बताउँदै  सबै देशको राष्ट्रियता र पहिचानलाई आँफुहरुले सम्मान गर्ने बताए। उक्त  नगरमा नेपाली प्रतिनिधिको रूपमा शंकर भण्डारी र रुपा भण्डारीले काम गरिरहेका छन।

सम्पदा उत्सव कार्यक्रममा सहभागी विभिन्न देशका मौलिक परम्परा र संस्कृति झल्कने नाचगान सहित आ-आफ्नै देशका खानाका परिकारहरू पनि प्रस्तुत गरिएको थियो।

आयोजकको तर्फबाट लङ आईल्याण्डस्थित नेपाली समुदायकी प्रतिनिधि रुपा भण्डारीले कार्यक्रम सफल पार्न सहयोग गर्नेहरुप्रति आभार प्रकट गरेकी थिईन।

यसैगरी कार्यक्रममा शंकर भण्डारीले नेपाली मान र सान उचो राख्न समुदायका अगुवाहरूसंग गरिएको छलफल र सहकार्यले सहज बनाएको बताए ।

लङ आईल्याण्ड नेपाली समाजका पूर्व अध्यक्ष एबम सेन्ट्रल नासाउ नेप्लिज लायन्स क्लबका अध्यक्ष रहेका टीका ढकालले नेपाली समुदायलाई स्थानीय समाज सहित त्यहाको मूल प्रबाहमा जोड्ने प्रयास सार्थक बन्दै गएको बताए ।

कार्यक्रममा लङ आईल्याण्ड नेपाली समाजका अध्यक्ष, पूर्व अध्यक्ष, लङ आईल्याण्डस्थित विभिन्न नेपाली संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरू र नेपाली अमेरिकी समुदायको सक्रिय सहभागिता रहेको जानकारी लङ आईल्याण्ड नेपाली समाजका अगुवा एबम नेपाली जनसम्पर्क समितिका नेता एबम बिटी फाउन्डेसन अमेरिकाका अध्यक्ष विश्वराज बाँस्तोलाले गुरुकुल खबरलाई जानकारी दिए ।

२० जेष्ठ २०८१, आईतवार २०:५९ मा प्रकाशित
Nabintech