Play

पोखराबाट ब्यबसायिक यात्रा गरेको लक्ष्मी ग्रुपद्वारा नेपालमा कारको उत्पादन शुरु, रामग्राममा एसेम्बल प्लान्ट

मिठाईको उत्पादन शुरु गरेको ५० बर्षमा कारको उत्पादन, नेपालमै बन्यो पहिलो


गुरुकुल खबर


पोखरा,  पोखराबाट ५० वर्ष अगाडी  लक्ष्मी मिठाई भण्डार ( लक्ष्मी ग्रुप ) ले आफ्नो ब्यबसायिक यात्रालाई  निरन्तर सफल र बिस्तार गर्दै जानेक्रममा पछिल्लो समय चार पांग्रे सवारी साधनको एसेम्बल गरि उत्पादन तथा बिक्रि वितरण गर्ने चरणमा पुर्याएको छ ।

२०३० सालमा पोखराको बगरबाट गणेश बहादुर श्रेष्ठ सहित उनको परिवारले शुरु गरेको लक्ष्मी मिठाई भण्डारको ब्यबसायिक यात्रा विभिन्न प्रकृतिका ब्यबसाय हुँदै गाडीको उत्पादन तथा बिक्रि वितरण गर्ने अबस्थामा आइपुगेको हो । पोखरामा सामान्य ब्यबसायबाट शुरुवात गरि पोखराको प्रतिष्ठित ब्यबसायिक घरानाको रुपमा परिचित लक्ष्मी ग्रुप ५० वर्ष पुग्दा नपुग्दै नेपालकै ठुलो ब्यबसायिक प्रतिष्ठान बन्न पुगेको हो ।

अत्यन्त मेहनती, सरल र सहयोगी भावनाका दुई दाजुभाई (बुद्धिबहादुर श्रेष्ठ र गणेश बहादुर श्रेष्ठ) मिलेर २०३० सालमा लक्ष्मी मिठाई भण्डार सुरु गरेकोमा २०३३ सालमा जयमा लक्ष्मी कन्फेक्सनरी उद्योग स्थापना गरेका थिए। यो लक्ष्मी मिठाई भण्डारको नयाँ स्वरूप थियो ।

त्यसपछि २०३९ सालमा लक्ष्मी लफ्टी क्यान्डीका रुपमा उद्योग दर्ता गरियो भने २०४२ सालमा जया कन्फेक्सनरी समेत स्थापना भयो। त्यसको चार वर्षपछि अर्थात २०४६ सालमा जया पोलिथिन र २०४७ मा जया प्याकेजिङ उद्योग स्थापना गरिएको थियो।

औद्योगिक र ब्यबसायिक प्रतिष्ठान बिस्तार गर्दै जाने क्रममा सूर्य कन्फेक्सनरी, जय चुइगम, सुजल फुड्स, सुजल प्लास्टिक्स, सुजल डेरी संचालन गरेको लक्ष्मी उद्योग समुह २०६३ सालमा नेपालको लागि हुन्डाईको आधिकारिक बिक्रेता बनेको थियो । यसपछि यो समुहले जयमा इन्टरकन्टिनेन्टल, लक्ष्मी कर्मसियल भेहिकल र सिद्धलक्ष्मी स्टिल उद्योग समेत संचालन गरेको छ।

पोखरा बाट ब्यबसायिक यात्रा शुरुगरेपनि हाल नेपालको प्रशिद्द ब्यबसायिक तथा औद्योगिक घरानाको रुपमा लक्ष्मी ग्रुपलाई लिने गरिन्छ। यहि समुहले पछिल्लो समय नवलपरासीको रामग्राममा लक्ष्मी मोटर्स मार्फत हुन्डाई कम्पनिका गाडीको उत्पादन शुरु गरेपछि राष्ट्रिय रुपमा फेरी एकपटक चर्चामा आएको छ ।

बिगतमा लक्ष्मी ग्रुपको अध्यक्षको रुपमा गणेश बहादुर श्रेष्ठले नेतृत्व लिएर अगाडी बढाएको ब्यबसायिक यात्रालाई पछिल्लो समयमा उनका परिवारका सदस्यहरु अन्जन, नीरंजन, निराकार र सुनील श्रेष्ठ लगायतले जिम्मा लिएर निरन्तरता दिनुको साथै बिस्तार समेत गर्दै आएका छन। शुरुवातमा पोखरा मात्र कर्यक्षेत्र रहेको लक्ष्मी ग्रुपको ब्यबसाय हाल देश भित्र र बाहिर समेत बिस्तार भैसकेको छ ।

नेपालमा नै पहिलो पटक चार पाङ्ग्रे सवारीको  ‘एसेम्बल’ सुरु गरेको लक्ष्मी ग्रुपले २ अर्ब रुपैयाँभन्दा बढी लागतमा नवलपरासीको रामग्राममा चार पाङ्ग्रे सवारी एसेम्बल प्लान्ट स्थापना गरेर हुन्डाईका गाडीको उत्पादन सुरु गरेको हो ।

नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष समेत रहेका लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक अन्जन श्रेष्ठका अनुसार प्लान्टबाट वर्षमा ५ हजार ४०० वटा सवारी उत्पादन गर्न सकिन्छ ।  उद्योग पूर्ण क्षमतामा चलाउँदा प्रतिघण्टा ३ वटासम्म गाडी उत्पादन हुन सक्ने जानकारी दिंदै श्रेष्ठले लक्ष्मी लक्ष्मी मोटर्सबाट  तीन मोडलका सवारी उत्पादन हुने बताए ।

१० बिघा क्षेत्रफल जमिनमा रहेको उक्त उद्योगबाट प्रतिघण्टा ३ वटासम्म सवारी उत्पादन गर्न सकिने बताइएको छ । बजारको मागअनुसार २४ घण्टा नै काम गर्न सकिने र  दैनिक ३० देखि ३६ वटासम्म गाडी र वर्षमा करिब ६ हजार गाडी उत्पादन गर्न सकिने कम्पनिले जनाएको छ।

उद्योगले पहिलो चरणमा भेन्यू मोडलका हुन्डाई गाडी उत्पादन गरेर सफल परीक्षण गरिसकेको छ । यस बाहेक आई-१० र क्रेटा गाडी समेत उद्योगबाट उत्पादन हुनेछन् । केही वर्षपछि विद्युतीय सवारी समेत उत्पादन गर्ने लक्ष्य लक्ष्मी ग्रुपको छ । लक्ष्मी समूहले लक्ष्मी मोटर्स नामको सहायक कम्पनीको स्थापना गरेर डेढ वर्ष अघिदेखि प्लान्ट निर्माणको काम सुरु गरेको थियो ।

१४ हजार वर्गमिटर क्षेत्रफलमा एसेम्बल प्लान्ट

कम्पनीको अनुसार ६५ हजार वर्ग मिटर वा १० बिघा क्षेत्रफलमा फैलिएको मोटर एसेम्बल प्लान्टमा १४ हजार वर्ग मिटर क्षेत्रफलमा भव्य संरचना निर्माण गरिएको छ। एचएमसीको सबै मापदण्डहरुको पालना गर्दै नेपालभर मोटर गाडी उत्पादनलाई तीव्र गतिमा ल्याउने लक्ष्य कम्पनीले राखेको छ ।

एचएमसीको प्राविधिक पर्यवेक्षणमा एलएमसीले निर्माण गरेको प्लान्टमा उत्पादित हरेक सवारी साधनमा कार्य सम्पादन, सुरक्षा र विश्वसनीयताका उच्चतम गुणस्तर सुनिश्चित हुने कम्पनीको जनाएको छ ।

वैशाख २८ गते शुक्रबार आयोजित बिशेष समारोहमा उक्त एसेम्बल प्लान्टको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका थिए । उद्घाटनमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा, नेपालका लागि दक्षिण कोरियाका राजदुत पार्क ते यन्ग, हुन्डाइ मोटर भारत लि का प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत उन्सू किम लगायतको उपस्थिति रहेको थियो ।

उदघाटनसँगै लक्ष्मी ग्रुपले नेपालको मोटर गाडी उद्योगमा एक महत्त्वपूर्ण इतिहास रचेको दाबी गरिएको छ। जहाँ नेपालमा बनेको पहिलो ‘हुन्डाइ भेन्यू’ हाल प्रदर्शनमा राखिएको छ । प्लान्टले निकट भविष्यमा हुन्डाइ मोटर्सका अन्य मोडलका गाडीहरुको पनि एसेम्ब्लिंग गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

नेपालमा हाल हुन्डाइका १६ शोरूम, १९ सेवा केन्द्र र नेपालभर ४५ भन्दा माथि चार्जिङ्ग प्वाइन्ट्स छन् । यसका लागि लक्ष्मी इन्टरकन्टिनेन्टलले बजारमा विशेष भूमिका निर्वाह गरिरहेको छ ।

हुन्डाईको एसेम्बल उद्योगमा सबैजसो कामदार नेपाली छन् । उद्योग स्थापना गर्ने भएपछि लक्ष्मी ग्रुपले कोरियाबाटै मान्छे बोलाएर ४/५ महिनासम्म कर्मचारीलाई तालिम दिएको थियो । तालिम दिएपछि उद्योगमा रहेका २०० मध्ये अधिकांश कर्मचारी नेपाली छन् । ‘यसबाट नेपालले समेत गाडी उत्पादन गर्न सक्छ भन्ने सन्देश विश्वमा गएको छ,’ अन्जन श्रेष्ठले भने, ‘हामीले नेपालमा नै नेपालीहरूको सिपबाट नै गाडी एसेम्बल गरेका छौँ ।’

कसरी बन्छ एसेम्बल प्लान्टमा गाडी ?

लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक दीपक थपलियाका अनुसार लक्ष्मी मोटर्समा २०० जनाले रोजगारी पाएका छन् । एसेम्बल प्लान्ट स्थापना भएपछि नेपाली बजारमा आउने ‘भेन्यू’ गाडीको माग उद्योगबाटै पूर्ति गरिनेछ ।

प्लान्टमा ११ सय मुख्य पार्टपुर्जा कोरिया र एकसय सहायक गरी १२ सय पुर्जा जडान गरी एउटा भेन्यू कार तयार गरिने थपलियाले जानकारी दिए । कोरियाली प्राविधिकहरुको सहयोग र तालिमबाट नेपालमै दक्ष प्राविधिकबाट कार उत्पादन गरिएको कम्पनीले जनाएको छ । कार टेष्ट राइडका लागि प्लान्ट परिसरमै एक किलोमिटर सडक निर्माण गरिएको छ ।

लक्ष्मी ग्रुपले भारत र कोरियाबाट समेत गरी सवारीमा जडान हुने सम्पूर्ण पार्टपुर्जा छुट्टाछुट्टै ल्याउँछ । त्यस क्रममा भारत र कोरियाबाट ११ सयभन्दा बढी पार्टपुर्जा आउने महाप्रबन्धक थपलिया बताउँछन् ।

‘हामी बाहिरबाट सवारीको ‘मेन बडी’सहित कभर, टायर, मेसिन लगायतका पार्टपुर्जा छुट्टाछुट्टै ल्याउँछौँ,’ थपलियाले भने, ‘ती पार्टपुर्जालाई जडान गरेर सवारी बनाउँछौँ ।’ कन्टेनरमा राखेर ल्याइने गाडीका सबै पार्टलाई उद्योगको गोदाममा झारिन्छ ।

त्यसपछि विभिन्न पार्टको स्वास्थ्य र ‘स्क्र्याच’ हेरिन्छ । सवारीको ‘मेन बडी’ स्क्र्याच निरीक्षणपछि एसेम्बलका लागि जान्छ । पहिलो चरणमा ‘ट्रिम’ गरिन्छ । यो चरणमा सवारीको बडी पहिचान र फिटिङ गरिन्छ भने च्यासिस जडानको अर्को चरण सुरु हुन्छ ।

च्यासिस जडान गरिएपछि टायर, मेसिन लगायत जडान गरिन्छ । यसपछि सवारीमा कभर राखिन्छ र अन्तिममा ब्रेक र च्यासिसको परीक्षण गरिन्छ । यसपछि गाडीमा पानी पस्ने/नपस्नेबारे परीक्षण हुन्छ भने त्यसपछि ‘टेस्ट ड्राइभ’ गरिन्छ । कुनै समस्या नदेखिएमा बिक्रीका लागि तयार हुन्छ भने परीक्षणमा समस्या देखिएमा समस्या समाधानका लागि फ्याक्ट्रीमा नै फर्काइन्छ।

कर सहुलियतपछि एसेम्बल उद्योग स्थापना 

सवारी एसेम्बल गर्न चाहनेका लागि सरकारले विभिन्न प्रकारका कर सहुलीयत दिँदै आएको छ । एसेम्बलका लागि ल्याइने मोटरसाइकलका पार्टपूर्जा (सीकेडी वा डीकेडी) आयातमा लाग्ने अन्तःशुल्कमा ५० प्रतिशत र आयकरलगायत अन्य सुविधाहरु सरकारले उपलब्ध गराएको छ ।

त्यस्तैगरी कारको एसेम्बलमा समेत सरकारले बजेटमार्फत नै सहुलीयत दिएको छ। कार एसेम्बल गर्दा ल्याइने सीकेडी आयात गर्दा भन्सारमा २५ प्रतिशत, अन्तःशुल्कमा ५० प्रतिशत, आयकरलगायत छुट सुविधा दिएको छ । प्लान्ट उदघाटन समारोहमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहालले लगानी सुरक्षित राख्ने प्रतिबद्धता जनाउँदै लगानी प्रोत्साहनका लागि नयाँ व्यवस्था ल्याउने जनाएका छन् ।

सरकारले एसेम्बल उद्योगलाई प्रोत्साहन गर्न कर छुटलगायत अन्य सुविधा दिएपछि लक्ष्मी ग्रुपले हुन्डाइका कार नेपालमै एसेम्बलका लागि सीकेडी (कम्प्लिटली नक्ड डाउ) पार्ट्स आयात सुरु गरेको थियो ।

हुन्डाइ मोटर कर्पोरेसनले २०२३ डिसेम्बर अन्तिम साता कोरिया तथा भारतबाट सीकेडी आयात गरेको थियो । त्यसयता कम्पनीले ठूलो संख्यामा सीकेडी आयात गरिसकेको छ । ग्रुपले २०७६ मा ५ अर्ब १० करोड रुपैयाँ लागतमा एसेम्बल उद्योग दर्ता गरेको थियो । रामग्राममा एसेम्बल उद्योग रहने गरी लक्ष्मी मोटर कर्पोरेसनले वार्षिक ८ हजार चारपांग्रे गाडी उत्पादन गर्ने लक्ष्य राखेको छ ।

नेपाली उत्पादनको मूल्य १० प्रतिशत कम हुने अनुमान 

नेपालमै कार उत्पादन शुरु भएपछि गाडीको मूल्य पनि घट्ने कम्पनीले जनाएको छ । कम्पनीका मार्केटिङ एवम कम्युनिकेशन अधिकृत सन्दिप शर्माका अनुसार एक साताभित्र नेपालमा उत्पादित नयाँ कारको मूल्य निर्धारण हुनेछ ।

उनका अनुसार नेपालमा एसेम्बल भएका भेन्यूको मूल्य आयातको तुलनामा कम पर्नजाने बताए । नेपालमा एसेम्बल भएका भेन्यूको मूल्य आयात गरिएको गाडीको तुलनामा १० प्रतिशतसम्म कम हुने अनुमान गरिएको छ ।

हाल आयात गरेर बिक्री भइरहेको हुन्डाइको पेट्रोल भर्सनको भेन्यूको बजार मूल्य २०२४ मोडलको ई १.२ को ४१ लाख  ९६ हजार रुपैयाँदेखि ५८ लाख ९६ हजार रुपैयाँ मूल्य राखिएको छ ।

एसेम्बल उद्योगहरु थपिंदै 

हुन्डाईले एसेम्बल प्लान्ट स्थापना गर्नुअघि रामग्राममा दुई पाङ्ग्रे सवारीको एसेम्बल सुरु भइसकेको थियो । २०७५ सालदेखि गोल्छा समूहले बजाजका मोटरसाइकल नेपालमा एसेम्बल गर्न थालेको थियो । त्यसपछि हालसम्म यामाहा, टीभीएस, हिरो, रोयल इन्फिल्ड लगायतका दुई पाङ्ग्रे सवारी नेपालमा एसेम्बल भइरहेका छन् । र, यीमध्ये टीभीएस, यामाहा र बजाज नवलपरासीको रामग्राम क्षेत्रमा नै छन् ।

सरकारले नेपालमा नै एसेम्बल गर्ने सवारी उद्योगका लागि बजेटमार्फत नै कर छुट सुविधा दिँदै आएको छ । सवारी उत्पादनको उद्योगमा एसेम्बललाई पहिलो चरण मानिन्छ । एसेम्बलबाट सुरु भएपछि विस्तारै केही पाटपुर्जा नेपालमा उत्पादन गर्न सकिने बाटो खुल्ने सरकार र निजी क्षेत्रको विश्वास छ । सरकारले हुन्डाईलाई समेत करमा ५० प्रतिशत छुट दिएको छ ।

जसबाट मूल्यमा केही समायोजन हुने अपेक्षा गरिएको छ । यद्यपि कम्पनीले भने यसबारे थप अध्ययन गरेर निर्णय लिने र नयाँ मूल्य सूची सार्वजनिक गर्ने बताइरहेको छ । तर दुई पाङ्ग्रे सवारी एसेम्बल गर्दै आएका अन्य कम्पनीले भने उपभोक्तालाई मूल्यमा छुट दिएका छैनन् । महालेखाको प्रतिवेदनमा समेत पटक–पटक मूल्यमा उपभोक्ताले सुविधा नपाएको र राज्यले समेत करबापत करोडौँ रुपैयाँ गुमाइरहेको उल्लेख गरिएको छ ।

३१ बैशाख २०८१, सोमबार १९:५८ मा प्रकाशित
Nabintech