Play

चार दशकदेखि पर्यटन ब्यबसायमा सक्रिय गैरे भन्छन-राज्यले आवश्यक पुर्वाधार र बाताबरण बनाउन नसक्दा पर्यटन क्षेत्रमा समस्या

पोखरा भिलेज रिसोर्टमा २५ करोड लगानी थप, होटलको क्षमता र सेवा बिस्तार


गुरुकुल खबर


गंगाधर पराजुली / पोखरा ,

चार दशक भन्दा बढी समय पर्यटन क्षेत्रमा बिताएका हरी शर्मा गैरेले पोखरामा संचालित आफ्नो होटल ” पोखरा भिलेज प्रालि” लाई थप सुबिधा सम्पन्न बनाएका छन ।पोखरा र लेकसाईड क्षेत्रको पर्यटकीय बिकासको सम्भावनालाई दृष्टिगत गरेर उनले पछिल्लो समय २५ करोड भन्दा बढी लगानी थप गरेर होटलको सुबिधामा वृद्धि गरेका हुन ।

अर्घाखाँची जिल्लाबाट २०३८ मा काठमाडौँ गएर पर्यटन क्षेत्रमा काम गरेका गैरेले काठमाडौँमा काम गर्दा सिकेको ज्ञान र अनुभबलाई २०४७ सालबाट पोखरामा प्रयोग गरिरहेका छन । ” मैले काठमाडौँमा जागिर गर्दा सिकेको ज्ञान र अनुभवलाई पोखरामा ब्यबसायी बनेर उपयोगमा ल्याउन रेस्टुरेन्ट ब्यबसाय शुरु गरें, त्यसपछि भाडामा लिएर ‘होटल मूनलाइट’ संचालन गरें ।, करिब डेढ दशक त्यो होटल संचालन गरेपछि २०६३ सालमा पोखरा भिलेज आफैले किनेर संचालन गरिरहेको छु ।” गैरेले गुरुकुल खबरसंग भने ।

उनले पोखरामहानगरपालिका -६ खहरे स्थित तत्कालिन पोखरा भिलेज रिसोर्टको जग्गा सहितको संरचना २०६३ सालमा खरिद गरेका थिए । २०५८ सालबाट नेपालमा जारी शसस्त्र द्वन्दको कहाली लाग्दो समय सकिदै गरेको समयमा उनले उक्तहोटलमा लगानी गरेका हुन । माओबादीको शसस्त्र द्वन्द चलिरहेको बेला कतिपय पर्यटकहरु नेपालको चक्काजाम र नेपाल बन्द जस्ता कार्यक्रमको अनुभब लिन आएको समेत मैले पाएँ ।, उनि भन्छन “तत्कालिन समयमा द्वन्द पर्यटनको बेला थियो, तर माओबादी शान्ति प्रक्रियामा आएपछि भने देश राजनीतिक स्थिरता र समृद्दिको बाटोमा अगाडी बढ्ला भनेर मैले आफ्नै लगानीमा होटल शुरु गरेको हो । ”

पर्यटन क्षेत्रमा लामो समय बिताएका अनि पर्यटनसंग सम्बन्धित विभिन्न संघ संस्थामा समेत नेतृत्वदायी भूमिका निर्बाह गरेका गैरेले २०६२/६३ को जनआन्दोलन र माओबादी शान्ति प्रक्रियामा आएपछि नेपालको पर्यटन बिकासले गति लिने बिश्वास गरेका थिए । हुन पनि २०६२/६३ पछिको एक दशक नेपालको पर्यटन बिकासले गती लिएको थियो । पोखरामा पनि पर्यटकको चहलपहल बढेको थियो । तर २०७२ मा आएको भूकम्पका कारण सकारात्मक ढंगले अगाडी बढेको पर्यटन विकास र अनि उकालो लाग्दै गरेको पर्यटकको संख्या एक्कासी ओरालो लाग्यो ।  भूकम्पको धक्काको मार खेप्दै गरेका पर्यटन ब्यबसायी त्यसलगत्तै विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ को चपेटामा परे ।जसका कारण पर्यटन क्षेत्रमा गरिएको लगानी बालुवामा पानि जस्तै हुनपुग्यो ।

अन्य पर्यटन ब्यबसायीहरु सरहको समस्या झेल्दै गरेका थिए हरी शर्मा गैरेले पनि । ट्राभल एजेन्ट्सहरुको संस्था नाट्टा गण्डकी च्याप्टरको दुई कार्यकाल अध्यक्ष साथै पस्चिमान्चल होटल संघको अध्यक्ष रहेर काम गरिसकेका गैरे पर्यटन मार्फत पोखराको बिकास गर्न सकिन्छ भन्ने कुरामा सदैब आशाबादी नै रहे ।  “हामी आशाबादी नै हुन्छौं , पहिले गन्तब्य तय गर्ने अनि गाडी स्टार्ट गरेर अगाडी बढे जस्तै हो, पर्यटन ब्यबसाय पनि। कुनै अप्रत्याशित वा प्रत्याशित अबरोध वा बाधा र अड्चनहरु आए गाडी रोकिन्छ अन्यथा आफ्नो रफ्तारमा गाडी अगाडी बढछ ।” उनको भनाई छ ।

नेपालमा पर्यटक आउन चाहन्छन, तर राज्यले उपयुक्त बाताबरण र पुर्वाधार नबनाउँदा पर्यटकको संख्या अपेक्षा गरेअनुसार वृद्धि हुनसकेको छैन । पोखरामा पनि निजि क्षेत्र कर तिर्न र पर्यटकलाई राम्रो आतिथ्यता दिन सक्षम छ, तर पोखरा आउने सबैजसो नाका निर्माणाधीन जस्तै गरेर अबरुद्ध छन । अन्तराष्ट्रिय विमानस्थल भएपनि अन्तराष्ट्रिय उडान हुन सकेको छैन । जसका कारण बाह्य पर्यटक सहज रुपमा आउन सक्ने अबस्था छैन । देशभित्र पनि सबै प्रदेशमा कनेक्तीभिटी हुनसके आन्तरिक पर्यटकको संख्या पनि बढ्ने थियो, तर निजि क्षेत्रले अन्तरप्रदेश हवाईसेवाको लागि निकै पहल गरेपनि राजनीतिक स्थिरताको अभावले प्रदेश सरकार समेत स्थिर हुनसकेनन र आबश्यक सम्ब्बद्द निकाय सन्ग समन्वय गर्न पनि नसक्दा प्रदेश तहमा समेत पोखराबाट उडान हुन नसकेको भनाई छ, होटल एसोसियसन नेपाल गण्डकीका अध्यक्ष समेत रहेका उनै हरी शर्मा गैरेको ।

विभिन्न समस्या र चुनौतीका बाबजुद पनि आफ्नो ब्यबसायमा लगानी थप गर्दै गएका गैरेले पछिल्लो समय २५ करोड लगानी थप गरेर होटल पोखरा भिलेजलाई नयाँ सुबिधा र आकर्षणका साथ सञ्चालनमा ल्याएका छन् । प्रेसिडेन्सियल सुइट रुम, हनिमुन सुइट रुमसहितको नयाँ सेवा सुविधासहित रिसोर्ट सञ्चालनमा ल्याइएको सञ्चालक हरि शर्मा गैरले जानकारी दिए ।

यसअघि २३ वटा कोठा रहेकोमा अहिले ४२ कोठा थप गरेर ६५ काेठासहितको होटल सञ्चालनमा ल्याएईको हो । होटलमा प्रेसिडेन्सियल सुइट, हनिमुन सुइटका साथै डिलक्स र स्याट्यान्डर कोठाहरु पनि छन् । यस बाहेक दुई वटा लिफ्ट, ५० देखि ३ सय जनासम्म अट्ने तीन वटा सभाहल, पर्याप्त पाकिङको व्यवस्था समेत रहेको छ ।

जिम हल, स्विमिङ पुल पनि होटलका आकषर्णका केन्द्र हुन् । होटलका बालकोनीबाट फेवातालसहितको मनोरम दृष्य देख्न सकिन्छ । हनिमुन मनाउन आउने जोडीलाई लक्षित गरेर पनि होटल सञ्चालनमा ल्याइएको अर्का सञ्चालक बालकृष्ण गैरेले बताए ।

आफुले संचालन गरेको व्यवसायमा केहीलाई रोजगारी दिएको र परिबारका सदस्यहरुले समेत ब्यबसाय हेर्ने गरेको संचालक गैरेले बताए । श्रीमती इन्दीरा गैरे र छोरा सुरज गैरेले पनि ब्यबसायको काममा सहयोग गर्ने गरेको बताउंदै गैरेले भने- पढ्दै गरेको छोरलाई बिदेशमा पठाउनु भन्दा आफ्नै देशमा बस्ने र आफ्नै ब्यबसायमा जिम्मेवारी लिन उत्प्रेरीत गर्ने उद्देश्यले पनि होटलमा लगानी थप गरिएको हो । आफ्ना दुई छोरी सुनिता र अनिताको बिहे भएपनि होटलमा आबश्यक पर्दा र उनीहरुको समय मिल्दा आएर सहयोग गर्ने गरेको जानकारी दिंदै उनले परिवारको सदस्यहरु समेत काममा खटिने भएकोले ब्यबसाय संचालनमा अझ सहज भएको बताए ।

कतिपय व्यक्तिले पर्यटन व्यवसायमा लगानी गर्ने भनेर बैंक बाट ऋण लिने तर अरु क्षेत्रमा लगानी गर्ने गर्दा पर्यटन ब्यबसायको नाममा विभिन्न समस्या आएको समेत उनले सुनाए ।

यसैबीच पोखरा भिलेज होटलको नयाँ संरचना र थप सेवाको गण्डकी प्रदेशका मुख्य मन्त्री खगराज अधिकारीले हालै उद्घाटन गरे। त्यस अबसरमा बोल्दै अधिकारीले निजी क्षेत्रबाट पर्यटन क्षेत्रमा उल्लखनीय काम भएको तर अब पर्यटन व्यवसायीले गुणस्तरीय सेवामा केन्द्रीत भएर विदेशी पाहुनालाई आकर्षित गर्नुपर्नेमा जोड दिए ।

‘मैले कामकै शिलशिलामा धेरै देश घुमेको छु । त्यहाँ पाहुनालाई केन्द्रीत गरेर धेरै सेवा सुविधा दिन्छन् । हामीले त्यसको सिको गर्नुपर्छ,’ मुख्यमन्त्री अधिकारीले भने, ‘सयन कक्षामा आराम गर्ने कुरामा कप्रोमाइज गर्न हुँदैन । राज्यले गर्नुपर्ने अन्य हवाई र सडक पूर्वाधारमा जोड दिएपछि नेपालमा व्यापक पर्यटक भित्र्याउन सकिन्छ ।’ मुख्यमन्त्री अधिकारीले पोखरामा यस्तो सेवा सुविधासहित भिलेज सञ्चालनमा आउनु खुसीको कुरा भएको सुनाए ।

उद्घाटन कार्यक्रममा बोल्दै पोखरा ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराई, नेपाल पत्रकार महासंघ कास्कीका  अध्यक्ष विमला भण्डारी, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ लगायतले पोखराको पर्यटन र समस्या बारेमा आफ्नो आफ्नो भनाई राखेका थिए ।

१३ बैशाख २०८१, बिहीबार ०८:०८ मा प्रकाशित
Nabintech