Play

भदौरेमा भएको जीप दुर्घटनामा दुईको मृत्यु, १० घाइते, प्रत्यक्षदर्शी कोइराला के भन्छन ?

गुरुकुल खबर


पोखरा, कास्कीको अन्नपूर्ण गाउँपालिका – ४ भदौरेको थामडांडामा आइतबार दिउसो भएको जिप दुर्घटनामा दुईजनाको मृत्यु भएको र १० जना घाइते भएका छन। अन्नपुर्ण गाउँपालिका वडा न ४ का वडा सदस्य बिजय गुरुङले दिएको जानकारी अनुसार पोखराबाट भदौरे हुँदै सल्यान जान लागेको ग १ ज ५५४७ नम्बरको जीप सडकबाट करिब २ सय ५० मीटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा परि पोखरा महानगरपालिका – २३ ठुलाखेत नजिक कार्कीको तगारा  भन्ने स्थानमा घर भएका ५५ बर्षिय लक्ष्मण सुनार र पोखरा २३ ठुलाखेत बस्ने ५२ वर्षिय जयराम सुनारको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

दुर्घटनामा घाइते भएका  ६ जनाको मणिपाल शिक्षण अस्पतालमा  र ४ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेकाहरुमा जिप चालक अन्नपूर्ण गाउँपालिका ४ बस्ने २२ वर्षिय धनराज सुनार, पोखरा २३ का ५८ वर्षिय लक्ष्मण कामी,  अन्नपुर्ण गाउँपालिका सल्यानका ७ वर्षिय आरुष बिक र सोही ठाउँकै ४१ वर्षिय राजकुमार बिक रहेको र उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

यसैगरि मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेकाहरुमा  अन्नपुर्ण गाउपालिका भदौरे सल्यानका ३५ वर्षिय प्रकाश सुनार, सोही ठाउँकै ३५ वर्षिय सुशिला सुनार, १५ वर्षिय सोनिशा सुनार, २२ महिनाको बालक सुप्रिम सुनार, पोखरा महानगरपालिका – २ बस्ने ६० वर्षिया राम प्रसाद सुनार र अन्नपूर्ण गाउँपालिका- ४ बस्ने ५० वर्षिय देउमाया केसी रहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

यसैबीच दुर्घटना भएको समयमा दुर्घटनास्थलमा पुगेका पोखराका युवा सिरोजबिजय कोइरालाले घाइतेहरुको उद्वार गर्ने क्रममा जंगलमा रुख काटेर साटा बनाई तिनमा नै महिलाको बर्को र सल प्रयोग गरेर स्ट्रेचर बनाइएको र त्यसमा बोकेर घाइतेहरुलाइ जंगलबाट सडकमा ल्याईएको उल्लेख गरेका छन् ।

दुर्घटनास्थलबाट घाईतेहरुलाई सडकमा ल्याएपछि त्यहाँ उपलब्ध चारवटा जीप र एउटा एम्बुलेन्समा राखेर उपचारको लागि अस्पताल पठाईएको जनाउदै कोइरालाले त्यहि समयमा नै दुईजना घाइते पुरुषको अवस्था भने अत्यन्त गम्भीर देखिएको र उनीहरु बाँच्नसक्ने अनुमान गर्ने अबस्थामा नरहेको पनि आफ्नो फेसबुकवालमा लेखेका छन।

घाइतेहरुको उद्वारमा संलग्न कोइरालाले लेखेका छन्। ‘ दुर्घटनामा परेका सबैलाई अस्पताल पठाई सकेर फर्कने क्रममा एम्बुलेन्सहरू र प्रहरीका गाडीहरू घटनास्थलतर्फ जानका लागि उकालो सडकमा गुड्दै थिए”। कोइरालाले दुर्घटनास्थलमा वडाध्यक्ष आइन्दल गुरुङ,  स्थानीय गाउँका बासिन्दाहरु, सुनास संस्थाका कार्यसमितिका सदस्यहरु मनु गौतम शर्मा, शान्ति गुरुङ, इन्दीरा भण्डारी र भानु पराजुली समेतको चिन्ता र संलग्नताको प्रशंसा गरेका छन ।

(तस्बिर – सिरोजबिजय कोइरालाको फेसबुकबाट)

१८ चैत्र २०८०, आईतवार २१:४६ मा प्रकाशित
Nabintech