Play

कांग्रेस नेता पौडेलको उपचार जारी, स्वास्थलाभको कामना गर्न अस्पताल र घरमा पुग्नेको संख्या उल्लेखनिय

गुरुकुल खबर


पोखरा,  कास्कीमा रहेर प्रजातन्त्रको लागि निरन्तर आन्दोलनमा लागेका नेपाली काँग्रेसका पुराना नेता खेमराज पौडेल यतिबेला गम्भीर बिरामी परेका छन्। करिब ८० वर्षको उमेर पुगेका पौडेललाई  कांग्रेसको राजनीतिमा क्रियाशील, इमान्दार र निष्ठावान नेताको रुपमा लिने गरिन्छ।

कास्कीको तत्कालिन पुम्दीभुम्दी गाबिस र हाल पोखरा महानगरपालिका -२२ पुम्दीमा सामान्य परिवारमा जन्मेका पौडेल बिद्यार्थीकाल देखि नै नेपाली काँग्रेसको राजनीतिमा सक्रियता पुर्बक निरन्तर लागिरहेका नेता हुन् ।

दुई वर्ष भन्दा अगाडीबाट बिरामी परेका पौडेललाई पहिले छातीमा क्यान्सर भएको अनुमान गरिएको थियो । तर उपचार गर्दै जाँदा छातीमा नभएर घांटीमा क्यान्सर भएको पत्ता लागेको डा बुद्धिबहादुर थापाले गुरुकुल खबरलाई जानकारी दिए।  डा थापाका अनुसार घांटीको क्यान्सर फैलिएर अहिले फोक्सोमा पुगेको छ। फोक्सोमा पानी जम्ने भएकोले केहि दिनको अन्तरालमा फोक्सोबाट पानी निकाल्नुपर्ने हुन्छ।

फोक्सोमा पानी जमे पछी स्वास्थमा असहज हुने भएकोले केहि दिन बिराएर अस्पताल आउने र उपचार गर्ने अनि आफ्नो निवास पुम्दी गएर बस्ने क्रम चलिरहेको छ। पौडेलको स्वास्थ अवस्था जटिल बन्दै गएपछि उनलाई भेट्नजानेहरुको संख्या बढेको छ उनको निवास र अस्पतालमा भेट्न जाने, स्वास्थलाभको कामना गर्ने र तस्बिर खिच्नेहरुको संख्या उल्लेखनीय रहेको छ ।

सोमबार पौडेलको स्वास्थलाभको कामना गर्न उनको निवासमा नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति  शुक्रराज शर्मा सहितको टोलि  पुगेको थियो । अक्सिजनको सहारामा कोठाभित्र बेडमा बसिरहेका पौडेलले सभापति शर्मा सहितको टोलिलाइ आभार प्रकट गर्दै भने  – ” मेरो स्वास्थ अवस्था प्रति चिन्ता लिएर तपाईंहरु आउनुभयो सबैप्रति आभारी छु।

पौडेलले घरमा रहेको सामान्य बेडमा बस्न र सुत्न  असहज भएपछी केहि दिन अगाडी अस्पतालमा बिरामीको लागि प्रयोग हुने किसिमको बेड घरमा ल्याएको र त्यसपछी बस्न र सुत्न अलि सहज भएको जानकारी दिए। केहि दिनको फरकमा अस्पताल पुगेर फोक्सोमा जमेको पानी निकाल्ने र आबश्यक उपचार गर्ने क्रम चलिरहेको छ” पौडेलले भने ।

बिरामी अबस्थामा र बयोबृद्ध अबस्थामा रहेपनि पौडेलले पार्टी संगठन प्रति चिन्ता प्रकट गर्न छोडेको छैनन् ।उनले पार्टी सङ्गठन कमजोर हुन नदिन त्यहाँ पुग्ने सबै नेता र कार्यकर्तालाई सुझाब दिने गरेका छन् ।

पार्टी संगठनको बारेमा चिन्ता र चासो प्रकट गरेपनि स्वाभिमानी पौडेलले आफ्नो  पिडा र समस्या भने अरुलाई सुनाउने गरेका छैनन् ।

कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले प्रदेश समितिको तर्फबाट स्वास्थलाभको कामना सहित सानो सहयोग भन्दै ५० हजार रुपैया नेता पौडेललाइ दिएका थिए । त्यस अबसरमा सभापति शर्मालेअस्पताल र स्वास्थ उपचारमा आबश्यकता अनुसार सहयोग गर्न पहल गर्ने बताए ।

“लामो समयसम्म क्यान्सर जस्तो रोगको उपचार गर्नुपरेको अबस्थामा पनि सामान्य आर्थिक हैसियत रहेका पौडेल र उनको परिवारले भने आर्थिक सहयोगकालागि आग्रह गरेका छैनन् । तर जीवनभर नेपाली काँग्रेसको राजनीतिमा क्रियाशील सामान्य आर्थिक अवस्थाका नेता गम्भीर बिरामी पर्दा स्वतस्फुर्त ढंगले सहयोग गर्नु पार्टीका नेता कार्यकर्ताको जिम्मेवारी र कर्तब्य समेत हुन्छ।”-  पौडेलका आफन्त रहेका एक कांग्रेस नेताले भने ।

उनका अनुसार खेमराज पौडेलका कारण राजनीतिक र ब्यबसायिक उचाई प्राप्त गर्ने र आर्थिक हैसियत राम्रो बनाउनेहरु पनि पार्टीमा धेरै छन् तसर्थ यस्तो अबस्थामा ति साथिभाईको सहयोग अझ जरुरी हुन्छ।

उहाँ बिरामी परे लगत्तै दुई वर्ष अगाडी नेपाली काँग्रेस सरकारमा रहेको बेला नै सरकारको तर्फबाट उपचार खर्च बापत केहि सहयोग प्राप्त हुने अपेक्षा गरिएको थियो । तर संघिय सरकार वा प्रदेश सरकारमा कांग्रेसका नेताहरु रहेको भएपनि कतैबाट पनि कुनै किसिमको आर्थिक सहयोग प्राप्त भएको छैन।

पौडेलसंग राजनीतिक रुपमा निकट रहेका कांग्रेसका युवा नेता बीरेन्द्रनारायण बिजुक्षे सहितका केहि स्थानीयले पौडेलको उपचारमा सहयोग गर्न स्वतस्फुर्त ढंगले केहि रकम आइतबार अस्पतालमा नेपाली काँग्रेसका उपसभापति एबम पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले पौडेललाई हस्तान्तरण गरिएको बुझिएको छ।

कांग्रेस नेता एबम पूर्व अर्थमन्त्री डा प्रकाश शरण महतले पनि सोमबार बिहान पौडेलको निवास पुगेर पौडेलको स्वास्थलाभको कामना गरेको र व्यक्तिगत रुपमा केहि सहयोग गरेको बुझिएको छ।

पार्टी संगठनको काम र प्रजातान्त्रिक आन्दोलनको दौरानमा नेपाली काँग्रेसका सबैजसो नेता र तल्लो तहका कार्यकर्तासंग पनि राम्रो सम्बन्ध स्थापित भएका पौडेल लाभको वा सुबिधाको पदमा भने खासै पुगेनन्। नेपाल र भारतमा बसेर कांग्रेसको संगठनमा लागेदेखि नै उनको सम्बन्ध  नेपाली काँग्रेसका नेताहरु बिपी कोइराला,  गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, शैलजा कोइराला, शुशील कोइरालालगायत संग राम्रो रहेको थियो भने समकालीन नेताहरु शेरबहादुर देउबा, रामचन्द्र पौडेल सहित अन्यसंग पनि उनि निकट रहेको मानिन्छ।

पौडेलको स्वास्थमा समस्या आएको थाहा पाएपछि उनलाई अस्पताल वा घरमा भेट्न जानेहरुको चाप बढेको छ । डाक्टरले पौडेललाई धेरै नबोल्न सल्लाह दिएको भएपनि उनलाई भेट्न जानेहरुसंग कुराकानी गर्न पौडेलले छाडेका छैनन् । त्यस माथि भेट्न गएकाहरुले समेत पौडेल सामु विभिन्न प्रश्न र जिज्ञाशा राखेर बिरामी अबस्थामा पनि बोल्न बाध्य पार्ने गरेकोछन ।

आफुलाई भेट्न आउनेहरुमध्ये अधिकांशसंग पौडेलले आफ्नो स्वास्थअवस्था संगै मुलुकको राजनीतिक अवस्था बिग्रदै गएको भन्दै चिन्ता ब्यक्त गर्नेगरेका छन्  । उनले नेपाली काँग्रेसले बिग्रेको राजनीतिलाई समेत मिलाएर नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा त्यस्तो हुन नसकेको र पार्टी संगठन राष्ट्रिय रुपमा मात्र नभएर जिल्लास्तरमा समेत कमजोर बन्दै गएकोले जिम्मेबार बन्न कार्यकर्तालाई सुझाब दिने गरेका छन्  ।

लामो समय काँग्रेसको राजनीतिमा निरन्तर सक्रिय रहदै आएको र काँग्रेस पटक पटक सरकारमा रहेको भएपनि पौडेल लाभको पदमा भने खासै पुगेनन् । उनलाई  तत्कालिन पर्यटन मन्त्री रबिन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछी कास्की – २ मा रिक्त प्रतिनिधिसभा सदस्यको निर्बाचनको बेला मात्र नेपाली काँग्रेसले उमेद्वार बनाएको थियो, तर नेकपा एमालेको तर्फबाट उमेद्वार बनेकी रबिन्द्रकि धर्मपत्नी बिद्या भट्टराईबाट नै पौडेल पराजित हुनुपरेको थियो  ।

१३ चैत्र २०८०, मंगलवार १६:०९ मा प्रकाशित
Nabintech