Play

नेकपा एमाले कास्कीको अधिबेशन शनिबार, केन्द्रीय नेता खगराज र पृथ्वीसुब्बा पक्षको गुटगत बिबाद वडासम्म

गुरुकुल खबर


पोखरा, आन्तरिक बिबादका कारण अन्योलमा परेको नेकपा  एमाले कास्कीको जिल्ला अधिबेशन यही चैत्र १० गते शनिबार हुनेभएको छ । जिल्ला अधिबेशन प्रतिनिधि चयन गर्ने बिषयलाई लिएर उत्पन्न बिबाद केन्द्रको पहलपछि टुंगिएको र अधिबेशन  हुने निश्चित भएको बताइएको छ । अधिबेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष एबम पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको छ।

यस अगाडी चैत ३ गते शनिबारका लागि तोकिएको प्रतिनिधि चयन प्रक्रियाका बारेमा जिल्ला नेताहरुबीच आन्तरिक बिबाद बढेको कारण  केन्द्रीय संगठन विभागले स्थगित गर्न निर्देशन दिएको थियो र अधिवेशनका बारेमा अन्याैल सिर्जना भएको थियो  ।

जिल्ला अधिवेशनमा सहभागी हुने प्रतिनिधि चयन गर्ने विधिका विषयमा एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङ र सचिव बैनबहादुर अधिकारी क्षेत्रीबीच मत बाझिएपछि विवाद भएकाे हो ।

गण्डकी प्रदेशमा एमाले भित्र बिशेषगरि दुईजना केन्द्रीय नेताहरु, स्थायी समिति सदस्य अधिकारी र उप महासचिब पृथ्वीसुब्बा गुरुङसंग जोडिएर दुईवटा गुट रहेको चर्चा धेरै पहिले देखि चल्दै आएकोमा अहिले पनि सोहि गुटका कारण चरम आन्तरिक बिबाद रहेको बताईन्छ।

यस अगाडिको जिल्ला अधिवेशनमा पनि यी दुई समुहबीच प्यानल बनाएरै चुनाव भएको हो । मतदाताले दुवै प्यानलका पदाधिकारी र सदस्यहरुलाई जिताएका भएपनि अध्यक्ष सहित महत्वपूर्ण पद र संख्या भने गुरुङ पक्षकोले जितेका थिए ।

यस अगाडी जितेका मध्ये गुरुङ समूहको नेतृत्व जिल्ला अध्यक्ष एबम कास्की -१ का सांसद मनबहादुर गुरुङले गर्छन् भने अधिकारी  समूहको नेतृत्व जिल्ला सचिब बैनबहादुर अधिकारी क्षेत्रीले गर्छन् । उनीहरु बीच यो कार्यकालमा बिबाद भएको कुरा चर्चामा नआएको भएपनि जिल्ला अधिबेशनमा प्रतिनिधि छनोट गर्नेबेलामा आइपुग्दा भने गुटगत बिबाद फेरी सतहमा आएको हो ।

अध्यक्षले गुरुङले प्रतिनिधि छनोटका लागि पठाएको सर्कुलर जिल्ला कमिटीको निर्णय विपरीत भएको भन्दै सचिव क्षेत्रीले आपत्ति जनाएपछी बिबाद सार्बजनिक हुन पुगेको हो।  तर गुरुंगले भने जिल्ला कमिटीको निर्णय र केन्द्रीय समितिको सर्कुलर अनुसार प्रतिनिधि छनोटको मापदण्ड बनाएर वडा तहमा सर्कुलर पठाएको दावी गरेका छन् ।

४० भन्दा बढी पार्टी सदस्य भएको हकमा प्रतिनिधि छनोट गर्ने विषयमा विवाद भएको हो । अध्यक्षले मातहतका कमिटीलाई पठाएको सर्कुलरमा ४० भन्दा बढी सदस्य भएकाे हकमा प्रत्येक २१ जना पार्टी सदस्य बराबर थप एक जना प्रतिनिधि चयन गर्नु पर्नेछ भन्ने उल्लेख छ । यही कुरामा सचिव समूह असन्तुष्ट छ ।

सचिव बैनबहादुर अधिकारी क्षेत्री ४० लाई आधार मानेपछि थप ४० जना पार्टी सदस्यबाट १ जना प्रतिनिधि चयन गर्ने निर्णय जिल्ला कमिटीले  गरेको बताउँछन् । तर अध्यक्षले जिल्ला कमिटीले सर्वसम्मत रुपमा गरेको निर्णय विपरीत २१ जनाबाट थप १ प्रतिनिधि पठाउने गरी सर्कुलर गरेको सचिवको दावी थियो ।

जिल्ला अधिबेशनमा वडाबाट आउने अधिकांश प्रतिनिधिहरु गुरुङ पक्षको आउने देखेर अधिकारी पक्षका क्षेत्री समेतले  बिबाद सिर्जना गरेको कतिपयको भनाइ छ। तर बिबादपछी भएको सहमतिको आधारमा पनि गुरुङ पक्ष बलियो रहेको आंकलन एमालेका केहि जिल्ला नेताले गरेका छन् । यस अघि एमालेको गण्डकी प्रदेशको अधिबेशनमा गुरुङ पक्ष निकै बलियो देखिएको कारण कास्की जिल्लामा पनि गुरुङ पक्ष बलियो भएको तर्क धेरैको छ ।

अधिकारी पक्षका नेताहरु भने कास्की जिल्ला अधिकारीको गृहजिल्ला भएको र कास्कीका अधिकांश नेताहरुले अधिकारीको निर्णय लाइ समर्थन गर्ने गरेकोले अधिकारी पक्ष नै कास्कीमा बलियो हुने तर्क गर्छन। कतिपयले अधिकारी अब फेरी मुख्य मन्त्री बन्ने भएकोले उनि बलियो हुने तर्क अगाडी सार्ने गरेका छन् ।

बिगतमा एमालेको आन्तरिक बिबाद पार्टीका शिर्ष नेताहरु केपी ओली र माधव नेपालको नाम बाट समेत हुने गरेको थियो । तर अहिले माधव नेपालपक्ष एमालेबाट बाहिर अर्को पार्टीमा रहेको कारण ओलीपक्षका नेताहरुको नाममा आन्तरिक गुटबन्दी हुने गरेको हो ।

यस्तै यस्तै बिब्बाद र गुटबन्दीको बीच नेकपा एमाले कास्कीको अब हुने जिल्ला अधिबेशनमा पनि पार्टीका नेताद्वय गुरुङ र अधिकारीको नामबाट दुईवटा प्यानल बन्ने करिब पक्का जस्तै छ । यसपटक जिल्ला अध्यक्ष बन्ने दौडमा हालका उपाध्यक्ष तेजनारायण अधिकारी, हालका सचिब बैनबहादुर क्षेत्रीका साथै नेता दिपक पौडेल र माधव बाँस्तोलाको नाम चर्चामा छ यी मध्ये अधिकारी पौडेल र बाँस्तोला गुरुंगको गुटमा पर्ने र अधिकारीको गुटबाट भने क्षेत्रीमात्र अध्यक्षको दाबेदार रहेको बुझिएको छ ।

अघिल्लो जिल्ला अधिवेशनमा अध्यक्ष मन बहादुर गुरुङ र उपाध्यक्ष तेजनारायण अधिकारी पृथ्बीसुब्बा गुरुङको गुटबाट विजयी भएका थिए। सचिव क्षेत्री सहित सहसचिवद्वय दर्शन लामा र नवराज ओझा खगराज अधिकारीको गुट बाट विजयी भएका थिए ।

यसपटक पृथ्वीसुब्बा गुरुङ पक्ष अधिकारी, पौडेल र बाँस्तोला मध्येबाट एकजना लाइ अध्यक्षको उमेद्वार बनाउने र अन्य मुख्य पदमा समेत उनीहरु मध्येबाट नै उमेद्वार बनाउने रणनीतिमा रहेको छ । खगराज अधिकारी पक्ष भने बैनबहादुरलाइ अध्यक्ष जिताउने रणनीति सफल बनाउन अन्य पदमा आबश्यक परे तालमेल समेत गर्ने अबस्थामा रहेको बुझिन्छ।

कास्कीको जिल्ला अधिबेशनमा ८ सयको हाराहारीमा प्रतिनिधिहरु सहभागी हुने बुझिएको छ । प्रतिनिधिहरु चयन गर्दा खुल्ला, खुल्ला महिला र दलित लगायतको क्लस्टरबाट छानिने छन् । यसपटक ४० वर्ष मुनिका युवालाई पनि अनिबार्य प्रतिनिधित्व हुने  व्यवस्था गरिएको छ । जिल्ला अधिबेशनले अध्यक्ष १ जना, उपाध्यक्ष २ जना, सचिब १ जना र सहसचिब २ जना सहित करिब १ सय ४० जना रहेको जिल्ला कार्यसमिति निर्बाचित गर्नेछ ।

कास्कीमा एमाले नेताहरुमध्ये अध्यक्ष एबम सांसद मनबहादुर गुरुङ,  प्रदेश सांसद भिम कार्की, पूर्व मन्त्री जगतबहादुर बिक, केन्द्रीय सदस्य मिना गुरुङ, केन्द्रीय सदस्य बालकृष्ण काउछा, नेता भरतराज पहारी लगायत पृथ्वीसुब्बा गुरुङको पक्षमा रहेका छन् भने सांसद दामोदर बैरागी पौडेल, केन्द्रीय सदस्य कृष्ण थापा,केन्द्रीय सदस्य राजिब पहारी, जिल्ला सचिब बैन बहादुर क्षेत्री, जिल्ला सहसचिब दर्शन लामा र नबराज ओझा, नेता रश्मि आचार्य र पोखरा महानगर अध्यक्ष दिलिप नेउपाने,पोखरा महानगर सचिब जिबन आचार्य लगायत खगराज अधिकारीको पक्षमा रहेको बताईन्छ ।

कास्कीमा रहेर राजनीतिमा सक्रिय रहेका र पार्टीमा प्रभाव पार्नसक्ने मानिने सांसद बिद्या भट्टराई, पोखरा महानगरपालिकाकी उपप्रमुख मंजुदेवी गुरुङ र केन्द्रीय सदस्य सिता गिरि ओलीले जिल्लामा देखिएको गुटगत राजनीतिमा त्यति चासो लिने  गरेको छैनन ।

८ चैत्र २०८०, बिहीबार २२:३८ मा प्रकाशित
Nabintech