Play

पोखरा सहित नेपालमा लायन्सको प्रभाब बढ्दो, नेपालमा दुई हजार र पोखरामा मात्र दुईसय बढी क्लब

डिष्ट्रिक गभर्नरको जिम्मेवारीमा पुगे दर्जन बढी पोखरेली लायन्स


गुरुकुल खबर


गंगाधर पराजुली/ पोखरा 

‘लायन्स’ अन्तराष्ट्रिय स्तरमा स्वयमसेवी संस्थाको रुपमा स्थापित र परिचित संस्था हो । हामी सेवा गर्छौं अर्थात ‘वि सर्भ’ भन्ने मुख्य उद्येश्यका साथ यो संस्था संचालनमा रहेको छ। नेपालमा लायन्सको इतिहास त्यति लामो छैन सन् १९७१ मा मात्रिका प्रसाद कोइरालाको नेतृत्वमा लायन्स क्लब अफ बिराटनगरको नामबाट नेपालमा लायन्स भित्रिएको हो । त्यसपछि १९७२ मा काठमाडौँमा र १९७६ मा पोखरामा लायन्स क्लबको स्थापना भएको हो ।

पोखरामा खुलेको पहिलो लायन्स क्लबको नाम लायन्स क्लब अफ पोखरा हो।  त्यसपछि पोखरा सहित नेपालमा नै लायन्स क्लब खुल्ने क्रम तिब्र रुपमा बढ्यो । जसका कारण अहिलेसम्म आइपुग्दा पोखरामा मात्र दुई सय भन्दा बढी क्लब खुलेका छन् भने नेपालभर संचालित क्लबको संख्या करिब दुई हजार पुगेको छ । पोखरा क्षेत्रमा मात्र हेर्नेहो भने दुई सयभन्दा बढी क्लबमा करिब ५ हजार सदस्यहरुआबद्द छन्। नेपालका सबै लायन्स क्लबमा ५० हजारजति  सदस्यहरु रहेको अनुमान गरिएको छ । संसारभर अहिले आठ सय बढी डिष्ट्रिकमा आबद्ध लायन्स क्लबमा १४ लाख भन्दा बढी सदस्यहरु रहेकाछन् ।

नेपालमा सन् १९७६ बाट लायन्स क्लबहरु खुल्दै गएको भएपनि त्यसबेला भारतमा रहेको लायन्स डिष्ट्रिकबाट निर्देशित हुनुपर्ने अवस्था थियो। तर क्लब र सदस्यहरुको संख्या बढ्दै गएपछि नेपालमा नै डिष्ट्रिक बनेको हो । केहि बर्षको अन्तरालमा अहिले नेपालमा १५ वटा डिष्ट्रिक बनिसकेको छन्। नेपालमा छुट्टै डिष्ट्रिक बन्नु अगाडी नै अर्थात् नेपाल र भारतको संयुक्त डिष्ट्रिक रहेकै बेला १९७१ मा अन्जनी कुमार शर्माले पहिलो नेपाली गभर्नर बन्ने अबसर प्राप्त गरेका थिए ।

लायन्सको बिस्तार नेपालमा हुँदै गएपछि सन् १९८३ मा नेपालका क्लबलाई मात्र हेर्ने गरि पहिलो डिष्ट्रिक ३२५ बनाइएको थियो । उक्त डिष्ट्रिकको पहिलो गभर्नर हरिप्रसाद गिरि हुन् । डिष्ट्रिकको संख्या बढ्ने क्रममा सन् १९९८ मा दुईवटा, २०१२ मा चारवटा र २०२२ मा १५ वटा डिष्ट्रिक बनेका छन् । नेपालमा लायन्सको डिष्ट्रिक बनिसकेपछी धेरै जनाले डिष्ट्रिकको नेतृत्व लिने अवसर प्राप्त गरिसकेका छन् । यसरी नेतृत्व लिनेहरुमा पोखरेलीको संख्या पनि उल्लेखनीय छ । लायन्स डिष्ट्रिकको नेतृत्व लिने क्रममा पोखराका लायन्स प्रेम बहादुर श्रेष्ठले सन् १९९८ मा, योगेन्द्र प्रधानले सन् २००५ मा डिष्ट्रिक ३२५ बि का गभर्नरको जिम्मेवारी लिन सफल भएका थिए ।

सन् २०१२ मा दुईवटा डिष्ट्रिकबाट चारवटा डिष्ट्रिक बन्न पुगे । पोखराका दिपक श्रेष्ठले सन् २०१२ मा नै डिष्ट्रिक ३२५ बि १ को संस्थापक गभर्नर बन्ने मौका पाएका थिए । श्रेष्ठपछि उक्त डिष्ट्रिकमा ध्रुब थापाले सन् २०१५ मा, धनराज आचार्यले सन् २०१७ मा, तनहुँका अशोक श्रेष्ठले सन् २०१८मा गभर्नर बनेर डिष्ट्रिक हाँक्ने जिम्मा पाए।  पोखराका विश्वेस्वर आचार्य डिष्ट्रिक ३२५ बि १ को गभर्नर रहेकै समय अर्थात्  सन् २०२२ मा चारवटा डिष्ट्रिकबाट नेपालभर १५ वटा डिष्ट्रिक नेपालमा बनाइयो । डिष्ट्रिकको संख्या एक्कासी बढेपछि पोखराका राम बसेल, ध्रुब श्रेष्ठ र राजेन्द्र बाटाजुले एकैपटक तीनवटा डिष्ट्रिक आइ, जे र के को गभर्नर बन्ने अवसर प्राप्त गरे । डिष्ट्रिक गभर्नर बन्ने अन्य पोखरेलीहरुमा सुचित्रा थापा र परमेश्वर बराल पनि छन् । थापा र बरालले  सन् २०२३ मा क्रमश डिष्ट्रिक  के र एलको गभर्नरको जिम्मेवारी सम्हालेका थिए । अब यस वर्ष अर्थात् २०२४/२०२५ को लागि गभर्नरको जिम्मा पोखराकी मिलन थापा र बिनोद ढुंगाना र चण्डी अर्याललाइ मिलेको छ।

लायन्सको डिष्ट्रिक गभर्नर बन्ने अवसर पोखरेलीले प्राप्त गरेको भएपनि लायन्स इन्टरनेसनलको निर्देशक भने पोखरेलीहरु बन्नसकेको छैनन । नेपालबाट संजय खेतान पहिलो इन्टरनेसनल डाइरेक्टर बनेको थिए भने बालकृष्ण बुर्लाकोटी दोश्रो डाइरेक्टर बनेका छन् । पोखराबाट ध्रुब थापा लगायतले इन्टरनेसनल डाइरेक्टर बन्ने प्रयास गरेको भएपनि अझै सम्म कुनै पोखरेलीले त्यो अवसर पाएका छैनन् ।

लायन्सको इतिहासमा पोखराले अर्को रेकर्ड पनि राखेको छ। सम्भबत विश्वमा नै महिलाहरुको पहिलो लायन्स क्लब पोखरामा नै स्थापना भएको हो । पोखरामा रहेर विभिन्न पेशा र ब्यबशायमा क्रियाशिल महिलाहरुको संलग्नतामा लायन्स क्लब अफ पोखरा गण्डकीको स्थापना गरिएको हो । क्लबको संस्थापक अध्यक्ष शिला थापा हुन् भने संस्थापक सदस्यहरुमा इन्दिरा बराल, दिनकुमारी शर्मा, लिला प्रधान र स्व. बसन्ती लालचन लगायत हुन्।

पोखराको पहिलो लायन्स क्लब पोखरा लायन्स क्लब र त्यसको संस्थापक अध्यक्ष जोर्ज़ जोन हुन् । क्लबका संस्थापाकहरु सदस्यहरुमा  प्रेमबहादुर श्रेष्ठ, शुशिल कुमार गोशली, मेहरमान श्रेष्ठ, स्व. हरिध्वज तुलाचन, स्व. सुर्य बहादुर केसी र हरि पाण्डे लगायतका हुन् तर पाण्डे र केसीले भने केहि वर्षपछि सदस्यता छोडेका थिए। पोखरामा लायन्स स्थापना गर्ने क्रममा पोखराका उत्तम पुनको समेत भूमिका रहेको बताइएपनि उनि क्लबको सदस्य भने नभएको जानकारहरु बताउछन ।

लायन्स क्लबको सदस्य बन्नेले हरेक वर्ष अमेरिकी डलर ४६ लायन्स इन्टरनेसनललाई बुझाउनुपर्ने हुन्छ। यसरी हेर्दा नेपालका ५०  हजार बढी सदस्यहरुबाट  २० लाख  बढी अमेरिकी डलर नेपालबाट लायन्स इन्टरनेसनलमा जाने गर्छ । जसका कारण नेपालको पैसा लायन्सको नाममा विदेश गएको भन्ने गरिन्छ। यस बाहेक विदेश घुम्न पाइने आशामा लायन्सको सदस्य बन्ने गरेको भन्ने चर्चा पनि उत्तिकै हुनेगर्छ।

पछिल्लो समयमा लायन्सको नाममा सदस्यबाट संकलन हुने रकम नेपालकै बैंकमा जम्मा हुनेगरेको र लायन्स इन्टरनेसनलले नेपालमा बिभिन्न परियोजनाको लागि दिने अनुदान सहयोगको लागि त्यहि रकम उपयोग गर्ने गरेको बताईन्छ। लायन्स इन्टरनेसनलले नेपालमा स्वास्थ, शिक्षा र दैबी बिपत्तिको समयमा महत्वपूर्ण रुपमा ठुलो आर्थिक सहयोग समेत गर्ने गरेको छ। जाजरकोटमा केहि अगाडी आएको भूकम्प पछि राहतको लागि र केहि संरचना निर्माणको लागि लायन्स इन्टरनेसनलबाट २ लाख ५० हजार अमेरिकी डलर सहयोग प्राप्त भएको छ।

लायन्स इन्टरनेसनलबाट पोखरामा पनि लेखनाथ सामुदायिक अस्पताल, पोखरा स्वास्थ बिज्ञान प्रतिष्ठानमा मुटुरोग कक्ष, हेम्जा स्थित मानब सेवा आश्रममा भवन निर्माण तथा पर्बत, बाग्लुंग, बुटवल, काठमाडौँ, म्याग्दी तनहुँ लगायत विभिन्न जिल्लामा अस्पताल सहित अन्य काममा ठुलो आर्थिक सहयोग उपलब्ध भएको छ। यस बाहेक लायन्सले बिभिन्न मानबिय सहयोग समेत गर्दै आएको छ । स्थानीयस्तरमा पनि विभिन्न क्लबले विभिन्न सहयोग र रचनात्मक काम समेत गर्दै आएकोले लायन्सलाइ नकारात्माक दृष्टिकोणले मात्र हेर्ने प्रबृत्तिमा पनि परिबर्तन आबश्यक छ। लायन्सले आफुलाई केहि सुधार गरेर समाज समुदाय र राष्ट्रको लागि थप योगदान गर्नुपर्ने आबश्यकता भने अझै खड्केको छ ।

नेपालमा १५ वटा डिष्ट्रिक रहेकोमा पोखरा क्षेत्र अर्थात गण्डकी, धवलागिरी र काठमाडौँको केहि भागमा रहेका लायन्स क्लबहरुलाई मिलाएर बनाइएका ५ वटा सहित देशभरका १५ वटा डिष्ट्रिकमा यस समयमा महाधिबेशन चलिरहेको छ। आगामी अप्रिल महिनासम्ममा नयाँ नेतृत्व चयन गरिसक्नुपर्ने लायन्स इन्टरनेसनलको  प्राबधान अनुसार अहिल महाधिबेशन हुने क्रम पनि जारी छ।

पोखरा क्षेत्रमा रहेका ५ वटा लायन्स इन्टरनेसनल डिष्ट्रिकहरुमा लायन्स इन्टरनेसनल डिष्ट्रिक ३२५ आइ, लायन्स इन्टरनेसनल डिष्ट्रिक ३२५ जे , लायन्स इन्टरनेसनल डिष्ट्रिक ३२५ के , लायन्स इन्टरनेसनल डिष्ट्रिक ३२५ एल र  लायन्स इन्टरनेसनल डिष्ट्रिक ३२५ एम हुन्। जसमध्ये आइ र जे डिष्ट्रिकको कन्भेन्सन भैसकेको छ।

यस अगाडी चन्द्र केसी गभर्नर रहेको लायन्स इन्टरनेसनल डिष्ट्रिक ३२५ आइको नयाँ गभर्नरमा पोखराका बिनोद ढुंगाना चयन भएका छन् भने फर्स्ट भाइस डिष्ट्रिक गभर्नरमा काठमाडौँकी पार्वती खरेल पाण्डे र सेकेन्ड भाइस डिष्ट्रिक गभर्नरमा काठमाडौँकै सुर्य केसी निर्बाचित भएका छन्।

यसैगरि डिष्ट्रिक जे को हालै सम्पन्न कन्भेन्सनबाट पोखराकी महिला मिलन थापा गभर्नर, काठमान्डूका मिलनबाबु मल्ल फर्स्ट भाइस डिष्ट्रिक गभर्नर र पोखराका प्रजापति बाँस्तोला सेकेन्ड भाइस डिष्ट्रिक गभर्नर निर्बाचित भएका छन् । यस डिष्ट्रिकमा काठमाडौँका हरि मरहठ्ठा  यस अगाडिको गभर्नर रहेका थिए । पोखरामा भव्यताका साथ सम्पन्न भएको डिष्ट्रिक जे को दोश्रो महाधिबेशन मूल आयोजक समितिको  संयोजक पोखराको पुरानो तथा विश्वकै पहिलो महिला क्लब लायन्स क्लब अफ पोखरा गण्डकीकी पूर्व अध्यक्ष पुजन शाक्य थिईन ।

यस क्षेत्रमा रहेका अन्य डिष्ट्रिकहरुको महाधिबेसन अर्थात कन्भेन्सन भने हुन बाँकी छ। डिष्ट्रिक ३२५ के ले यहि चैत्र १७ गते महाधिबेसन गर्ने मिति तोकेर तयारी शुरु गरिसकेको छ भने डिष्ट्रिक एल र डिष्ट्रिक एमको महाधिबेशनको तयारीमा जुट्दै छन् ।

डिष्ट्रिक ३२५ के मा हाल पोखराकै महिला सुचित्रा थापा गभर्नर रहेकी छन् तर अब केहि दिनमा हुने महाधिबेशनबाट उक्त डिष्ट्रिकमा काठमान्डूकी निरा बज्राचार्य गभर्नर, काभ्रे घर भई पोखरालाइ कर्मस्थल बनाएका दुर्गाप्रसाद हुमागाई फर्स्ट भाइस डिष्ट्रिक गभर्नर र पोखराकै रमेश अधिकारी सेकेन्ड भाइस डिष्ट्रिक गभर्नर हुने करिब पक्का छ ।

अन्य दुईवटा डिष्ट्रिक एल र एम मध्ये एलमा हाल पोखराका परमेश्वर बराल गभर्नर छन् । काठमान्डूका सुमन भट्ट र पोखराका एकनारायण शर्मा क्रमश फर्स्ट र सेकेन्ड भाइस डिष्ट्रिक गभर्नर रहेको छन् । यो डिष्ट्रिक अन्य डिष्ट्रिकको तुलनामा राजनीतिबाट बढी प्रभावित मानिन्छ। जसका कारण अब सेकेन्ड डिष्ट्रिक गभर्नर बन्ने दौडमा निर्बिरोध हुने सम्भावनाको साटो तिन जनाको उमेद्वारी परेको छ ।

डिष्ट्रिक एम मा आसन्न महाधिबेसनबाट सेकेन्ड भाइस डिष्ट्रिक गभर्नर बन्नको लागि रत्न पराजुलीले तयारी गरेको बुझिएको । छ  हाल उक्त डिष्ट्रिकमा काठमाडौँका भिम पौडेल गभर्नर, पोखराका चण्डी अर्याल फर्स्ट डिष्ट्रिक गभर्नर र पोखराकै धनीराम बराल सेकेन्ड भाइस डिष्ट्रिक गभर्नर छन्। महाधिबेशनपछि गभर्नर र सेकेन्ड भाइस डिष्ट्रिक गभर्नरमा पोखराका अर्याल र बराल नै आउने पक्का छ ।

 

 

६ चैत्र २०८०, मंगलवार २२:५८ मा प्रकाशित
Nabintech