Play

जनताको हित र सुशासनको पक्षमा काम गर्न जनप्रतिनिधिलाई निर्देशन

गुरुकुल खबर


पोखरा,  नेपाली काँग्रेसको तर्फबाट निर्वाचित गण्डकी प्रदेश स्थानीय तहका जनप्रतिनिधिलाई जनताको हित र सुशासनको पक्षमा काम गर्न निर्देशन दिइएको छ । नेपाली काँग्रेस गण्डकी प्रदेशले शनिबार पोखरामा अन्तरक्रिया कार्यक्रम गरी त्यस्तो निर्देशन दिएको हो ।

अन्तरक्रिया कार्यक्रममा प्रशिक्षण दिँदै  गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा.रघुराज काफ्लेले नेपालको संविधानले स्थानीय तहलाई अधिकार सम्पन्न बनाएसँगै जिम्मेवार रुपमा जनताको पक्षमा काम गर्न सुझाव दिए  ।

‘स्थानीय तहका जनप्रतिनिधिले जनतामा निराशा हैन, आशा सृजना गर्न सक्नुपर्छ, उनले भने –कानुनले दिएको अधिकार प्रयोग गर्दै जनताले प्रप्त गर्ने सेवा प्रवाह चुस्तजुरुस्त गर्नुपर्ने दायित्व जनप्रतिनिधिको हो ।’ फजुल खर्च घटाएर पारदर्शी रुपमा काम गर्न सुझाव दिँदै डा.काफ्लेले युवालाई नेपालमा रोक्न उत्पादनशील र रोजगारीका क्षेत्रमा बजेट विनियोजन गर्न समेत सुझाव दिए ।

त्यस्तै नेपाल सरकारका पूर्व सचिव एवं नेपाली काँग्रेस महासमिति सदस्य बाबुराम आचार्यले स्थानीय तहका जनप्रतिनिधि जनताको घर आगनको सरकार भएकाले राम्रो काम गरेर देखाए  फेरिपनि जनताले मत दिएर विजयी गराउने बताए ।

नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले लोकतन्त्रमा नेपाली जनता नै सर्वेसर्वा भएकाले उनीहरुको सेवक भएर काम गर्न सुझाव दिए  । नेपाली काँग्रेस गण्डकी प्रदेश समितिका सभापति शर्माको अध्यक्षतामा भएको उक्त अन्तरक्रिया कार्यक्रममा नेपाली काँग्रेसबाट निर्वाचित गण्डकी प्रदेशका ११ जिल्लाका स्थानीय तहका प्रमुख तथा अध्यक्ष र उपप्रमुख तथा उपाध्यक्षहरुको उपस्थित रहेको थियो ।

कार्यक्रममा सहभागी जनप्रतिनिधिको तीन समुह बनाएर जनप्रतिनिधिले जनतालाई दिएको सुविधाको बारेमा छलफल गरिएको जानकारी नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य एवम् सञ्चार बिभाग उपप्रमुख शिरोमणि बरालले दिए । कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका उपसभापति कल्पना तिवारी, कोषाध्यक्ष बसन्त कुमार श्रेष्ठ, महामन्त्री बिष्णुप्रसाद लासमिछानेले लगायतले आआफ्नो भनाइ राखेका थिए ।

३ चैत्र २०८०, शनिबार २१:४७ मा प्रकाशित
Nabintech