Play

बाह्रखरी गल्फ एन्ड बियोन्ड कार्यक्रम चैत १ देखि ३ गतेसम्म पोखरामा हुने

गुरुकुल खबर


पोखरा । बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको एनसेल बाह्रखरी गल्फ एन्ड बियोन्ड कार्यक्रम यो वर्ष चैत १ देखि ३ गतेसम्म पोखरामा हुने भएको छ ।

शुक्रबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर चैत १ गतेदेखि ३ गतेसम्म आयोजना गरिएको कार्यक्रमका बारेमा जानकारी गराइएको छ ।

पत्रकार सम्मेलनमा बाह्रखरी मिडियाका कार्यकारी अध्यक्ष प्रतीक प्रधानले चैत १ गते आयोजना गरिएको साइकल र्‍याली, २ गते र ३ गते आयोजना गरिएको गल्फ प्रतियोगिताका बारेमा जानकारी गराएका थिए ।

चैत २ गते नै पोखरामा वरिष्ठ पत्रकार तथा सम्पादकहरुसँग मुख्यमन्त्री र मेयरसँग अन्तरक्रिया हुनेछ भने नेपालस्थित विदेशी राजदूत तथा विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिले पनि छुट्टाछुट्टै अन्तरक्रिया गर्नेछन् ।

पत्रकार सम्मेलनमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बाह्रखरी गल्फ प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दै पोखराको वार्षिक क्यालेन्डरमा समावेश गरेर सधैं पोखरामै गरिनुपर्नेमा जोड दिए ।

उनले त्यसका लागि महानगरपालिकाले गर्ने सहयोगको प्रतिवद्धता पनि व्यक्त गरेका थिए ।

त्यसैगरी गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्ण देवकोटाले पनि कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै वार्षिक क्यालेन्डर बनाएर पोखरामै आगामी वर्षमा पनि प्रतियोगिता गर्न आग्रह गरेका थिए ।

उनले गण्डकी प्रदेशमा भएका सम्भावना र अवसरका बारेमा पनि विदेशी राजदूत र विकास साझेदार संस्थालाई जानकारी गराउने अवसर बाह्रखरीले जुटाइदिएको भन्दै खुसी व्यक्त गरे ।

त्यसैगरी गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरेले शुभकामना व्यक्त गर्दै पोखरामा रहेको गल्फ कोर्स विश्वकै नमुना रहेको उल्लेख गर्दै त्यहाँ केही पूर्वाधारको अभाव भएको हुनाले स्थानीय सरकार र व्यवसायीले ध्यान दिनुपर्ने बताए ।

उनले सात वर्षदेखि गल्फलाई निरन्तरता दिएको भन्दै बाह्रखरीलाई धन्यवाद व्यक्त गरेका थिए ।

pokharagolf-(3)-1708679055.jpg
विकास तथा सुशासन विज्ञ रमेश अधिकारी, हिमालयन गल्फ कोर्सका अध्यक्ष किरण केसी, एनसेल कम्युनिकेसन एन्ड सीएसआर प्रमुख विशाखालक्ष्मी खड्का, बीवाईडीका प्रबन्ध निर्देशक यमुना श्रेष्ठ, गोकर्ण गल्फ कोर्सका निर्देशक दीपक आचार्य, पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठ, युवा उद्यमी मञ्च पोखरा च्याप्टरका अध्यक्ष निरन केसी, बाह्रखरी मिडियाका विशेष सम्पादक हरिबहादुर थापालगायतले शुभकामना व्यक्त गरेका थिए ।

१२ फाल्गुन २०८०, शनिबार १७:०० मा प्रकाशित
Nabintech