Play

प्रेस चौतारी पुरस्कार माधवलाई, प्रेस चौतारी सम्मान मिना र हुम गुरुङलाई

गुरुकुल खबर


पोखरा । प्रेस चौतारी, कास्कीले स्थापना एवं सञ्चालन गरेको ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार’ बाट यस वर्ष माधव बराल पुरस्कृत हुने भएका छन् । प्रेस चौतारी पत्रकारिता सम्मान २०८० मीना गुरुङ र हुम गुरुङलाई अर्पण गर्ने पनि प्रेस चौतारीले जनाएको छ ।

प्रेस चौतारीको २६ औं स्थापना दिवसको अवसरमा कास्की शाखाले पुरस्कार एवं सम्मान अर्पण गर्न लागेको हो । पूर्व अध्यक्ष हरि बास्तोला संयोजक, पूर्व अध्यक्ष श्याम कुँवर र पूर्व पुरस्कृत व्यक्तित्व शान्ति गुरुङ सदस्य तथा कार्यवाहक अध्यक्ष मोतिसागर अधिकारी र सचिव रञ्जन अधिकारी पदेन सदस्य रहेको प्रतिभा छनौट समितिले गरेको सिफारिसलाई मंगलबार बसेको कार्यसमिति बैठकले अनुमोदन गरेको सचिव अधिकारीले जानकारी दिए ।

पुरस्कारको राशी ११ हजार १ सय ११ बाट बढाएर यस वर्षदेखि २२ हजार २ सय २२ पुर्‍याइएको उनले बताए । प्रेस चौतारी कास्कीले लामो समयदेखि बर्षेनी प्रदान गर्दै आएको यो पुरस्कारलाई गत वर्षबाट पुनः निरन्तरता दिइएको हो ।

चौतारीले गत वर्षदेखि नै सम्मान अर्पण गर्न थालेको हो । गत वर्ष राजु भण्डारी र सावित्री खनाल सम्मानित भएका थिए ।  यस वर्ष सम्मानित हुन लागेका मीना गुरुङ लामो समय सञ्चारकर्मममा योगदान गरी राजनीतिमा क्रियाशील छन् ।

साढे २ दशकदेखि पत्रकारितामै सक्रिय हुम गुरुङ कास्की आवाज दैनिकका सम्पादक तथा प्रकाशक हुन् । अग्रणी संस्था तमु धिँ नेपालका अध्यक्ष रही समाजसेवामासमेत सक्रिय गुरुङले पत्रकारितामा लामो सयमदेखि अनवरत योगदान दिएका छन् ।

यस वर्ष पुरस्कृत बराल दुई दशक बढी समयदेखि पत्रकारिता गरिरहेका छन् । प्रेस चौतारी कास्कीका निवर्तमान अध्यक्ष बराल प्रेस चौतारी र प्रेस सेन्टर एकीकरण भएर बनेको प्रेस संगठन, कास्कीको पनि संयोजक बने ।

हाल नेपाल पत्रकार महासंघ कास्कीका सचिव बरालले २०५९ सालबाट पत्रकारिता थालनी गरेका थिए ।बरालले विभिन्न पत्रपत्रिका, रेडियो टेलिभिजनमा समेत काम गरेको अनुभव छ।

बरालले २०६८ सालममा जिल्ला विकास समितिबाट उत्कृष्ट पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् । यस्तै, २०६६ मा अन्नपूर्ण एफएमबाट बेस्ट न्यूज पर्सन अफ दि इएर लगायतका आधा दर्जन पुरस्कार प्राप्त गरिसकेका छन् ।

बराल प्रेस चौतारीको अध्यक्ष हुँदै हाल केन्द्रीय सदस्य तथा मिडिया अनुगमन विभाग संयोजक छन् । मिडिया टेक्नोलोजीमा स्नातकोत्तर गर्दै रहेका बरालको स्थायी घर पोखरा २८, कालिका हो । उनी पोखरा १४ चाउथेमा बस्दै आएका छन् ।

गत वर्ष एकसाथ ५ पत्रकारहरु पुरस्कृत भएका थिए । २०७५ देखि २०७९ सम्मका पुरस्कारबाट क्रमशः अग्रज पत्रकारहरु रामकृष्ण ज्ञवाली, श्याम कुँवर, दीपेन्द्र श्रेष्ठ, केशव पाठक र सुष्मा पौडेल पुरस्कृत भए ।

यसैबीच, सम्मान अर्पण समारोहलाई व्यवस्थित बनाउन विभिन्न उपसमितिसमेत गठन गरिएको छ । संस्थाको बैठकले सचिव रञ्जन अधिकारीको संयोजकत्वमा प्रचारप्रसार एवं मल्टिमिडिया म्यानेजमेन्ट समिति बनाइएको छ ।

उपाध्यक्ष मोतिसागर अधिकारीको संयोजकत्वमा जनवर्गीय संगठन समन्वय व्यवस्थापन समिति, उपाध्यक्ष तारा पौडेलको संयोजकत्वमा अतिथि सत्कार उपसमिति बनाइएको छ । कोषाध्यक्ष गिरीधारी पोखरेलको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति गठन गरिएको छ । कार्यसमितिका सबै सदस्यहरु उपसमितिहरुका सदस्य छन् ।

१६ माघ २०८०, मंगलवार २२:२३ मा प्रकाशित
Nabintech