Play

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन आगामी फाल्गुन ५ गते पोखरामा हुने

गुरुकुल खबर


पोखरा। सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०२४, यही फाल्गुन ५ गते नेपालकै सुन्दर पर्यटकीय नगरी पोखरामा हुने भएको छ । यस म्याराथनलाई सध्य र भव्य बनाउनको लागि आयोजक भूतपूर्व खेलाडी मञ्चले २३ वटा उपसमिति नेपालमा र ५ वटा अन्तर्राष्ट्रिय समिति (बेलायत, संयुक्त राज्य अमेरिका, अस्ट्रे्लिया, हंगकंग, सर्विया) लगायतका देशमा तिव्र रुपमा प्रचार प्रसारको कार्य अघि बढी रहेको छ ।

१८ औँ संस्करणमा आई पुग्दा स्वदेशी तथा विदेशी धावकले नयाँ रुटमा दौडिदै म्याराथन पुरा गर्नेछन् । म्याराथन दौडको सुरुवात पोखरा रङ्गशालाबाट हुनेछ भने समापन भने पोखरा–६ हल्लनचोकस्थित क्याम्पिङ चौरमा हुने छ।

सफल दूधको मुख्य प्रायोजन र भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा हुन लागेको सफल पोखरा अन्तर्राष्ट्रियता म्याराथनको मूल नारा “स्वास्थ्यको लागि,पोखराको लागि” रहेको छ । देशकै मोफसलमा हुने सबैभन्दा ठुलो म्याराथनले पोखरा तथा पोखरावासीको गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउँदै आइरहेको छ ।

यसपालि म्याराथनलाई विशेष बनाउनका लागि मुख्य म्याराथनका विधाहरुका सहभागीहरूलाई चिप्सको प्रयोग गरिने भएको छ जसले धावकको दौड समय सटिक तरिकाले मापन गर्दछ ।

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनले प्रथम विजेतालाई रु ५ लाख, दोस्रोलाई ३ लाख, तेस्रोलाई २ लाख र चौथोलाई ३० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ । साथै गण्डकी प्रदेशको खेलाडीहरूलाई प्रोत्साहन स्वरूप छुट्टै पुरस्कारको व्यवस्था पनि गरेको छ । साथै अन्य इभेन्टहरुमा महिला हाफ म्याराथन, १० कि.मि पुरुष तथा महिला, ५ कि.मि छात्र, छात्रा, ह्विल चियर तथा दृष्टिविहीन र भेट्रानतर्फका हरेक प्रतियोगितामा पनि छुट्टा–छुट्टै पुरस्कार प्रदान गरिने छ ।

यस सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई अझ व्यापक बनाउन पोखराकै प्रतिष्ठित औद्योगिक प्रतिष्ठान सुजल डेरी प्रा।लि।को सफल दूधको मुख्य प्रायोजन रहेको छ । साथै शारीरिक तन्दुरुस्ती र पौस्टिकतासंग सम्बन्ध राख्ने सफल दूधले पोखरा वासीको स्वास्थ्य र खेलको सम्बन्धलाई अझ प्रगाढ बनाउने कुरामा कम्पनी विश्वस्त रहेको जनाएको छ ।

बिगत ९ वर्ष देखि लगातार प्रायोजन गर्दै आइरहेको सफल दूधले उपभोत्ताको स्वास्थ्य प्रतिको विश्वासलाई कायम गर्नको साथै पोखरा वासीको मन जित्न सफल यस्तो कार्यक्रम आयोजना गरेकोमा गौरवान्वित महसुस गरेको कम्पनीले जनाएको छ । साथै सफल दुधले आगामी ३ वर्षका लागि मुख्य प्रयोजनको नविकरण समेत् गरेको छ ।

कम्पनीले सम्पूर्ण पोखरा बासीहरूलाई फाल्गुन ५ गते हुनगइरहेको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सहभागी भई “स्वास्थ्यको लागि,पोखराको लागि” दौडिन आह्वान गरेको छ ।

१० माघ २०८०, बुधबार २२:१८ मा प्रकाशित
Nabintech