पोखरा । २३ औं संस्करणको आहा रारा पोखरा गोल्डकप पोखरामा सुरु भएको छ । मंगलबार सम्पन्न उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरा काठमाण्डौको थ्रि स्टार क्लब संग २–१ गोलले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । जित संगै थ्रिस्टार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
थ्री स्टारको जितमा टिम कप्तान योगेश गुरुङ र एञ्जल महर्जनले समान १–१ गोल गरे । यता सहाराका लगि आशिष गुरुङले १ गोल फर्काएका थिए । खेलको पाँचौं मिनेटमा योगेशले थ्री स्टारका लागि गोल गर्दै अग्रता लिए पनि २३ औं मिनेटमा सहाराका आशिष गुरुङले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।
खेलको दोश्रो हाफको ५९ औं मिनेटमा थ्री स्टारका एन्जल गुरुङले दोश्रो तथा जितका लागि निर्णायक गोल गर्दै टिमलाई अन्तिम आठमा स्थान सुरक्षित गरे । खेलमा थ्री स्टारका कप्तान योगेश गुरुङ म्यान अफ दी म्याच घोषित भएका छन् । क्वार्टर फाइनलमा थ्री स्टारले भुटानको पारो एफसीसँग खेल्ने छ ।
बुधबार राइजिङ स्टार एफसी र विभागीय टिम त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।
यस अघि प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले आहा रारा गोल्डकपले पोखराको फुटबल विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेकोले नै महानगरले यसको संरक्षकत्व ग्रहण गरेको बताए । निरन्तर जस्तौ सुकै परिस्थितीमा समेत आयोजना भइरहेको प्रतियोगितामा विदेशी क्लबहरु ल्याउन आगामी दिनमा पोखरा महानगरले पहल गर्ने बताए ।
सो अबसरमा राष्ट्रिय फुटबल खेलाडी आयुष घलानलाई नगद सहित सम्मान गरिएको थियो ।
उद्घाटन कार्यक्रम सहारा क्लब पोखराका अध्यक्ष केशवराज बरालको अध्यक्षतामा भएको थियो । सो अवसरमा मुख्य प्रायोजक संस्थाका तर्फबाट हिमश्री फुड्सका अध्यक्ष प्रकाश केसी, क्लबका उपाध्यक्ष पूर्ण गुरुङ, महासचिब रामजी प्रसाद अधिकारीले समेत आफ्ना भनाई राखेका थिए ।