Play

विश्व चर्चित मुआथाई खेल पोखरामा

गुरुकुल खबर


पोखरा, पोखरामा आगामी पुस ९ गते मुवाँथाई च्याम्पियनसिप हुने भएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा नेपाल मुवाँथाई अर्गनाइजेसनको संयोजनमा विश्वमै लोकप्रिय बन्दै गइरहेको मुवाँथाईको खेल पोखरामा हुने भएको हो । मार्सलआर्ट अन्तरगतको मुआथाई व्यवसायीक फाइट हो । उक्त प्रतियोगितामा सहभागि हुने सबै खेलाडीले नगद प्राप्त गर्नेछन् ।

‘क्रिसमस डे’ को अवसर पारेर लेकसाइडमा आयोजना हुन लागेको प्रतियोगितामा नेपालका १९ क्लबका ३२ जना व्यवसायिक फाइटरहरुको सहभागिता रहने छ । प्रतियोगितामा कुल १६ फाइट हुनेछ । प्रतियोगिता संयोजक खगेन्द्र क्षेत्रीले दर्शकका लागि निशुल्क रहेको उक्त खेल पर्यटकीय क्षेत्र लेकसाइडमा हुनेछ । ‘यो व्यवसायिक फाइट हो । यहाँ सबै फाइटर छनोट भएर आएका छन् ।

थुप्रै क्लबहरुले खेलाडी दर्ता गराएपनि हामीले नेपालमा प्रोफेसन रहेको फाइटरहरुलाई मात्र समेटेका छौं’ उनले भने, ‘मुआथाईको प्रचार गर्नु हाम्रो मुख्य उदेश्य हो । अझ यसलाई लेकसाइडमा गर्नु भनेको बाह्य पर्यटकलाई आकर्षित गर्नुपनि हो ।’ विदेशीहरुले फाइट गेम निकै मन पराउने र लेकसाइडमा गर्दा खेलसँगै पर्यटक प्रवद्र्धनमा समेत टेवा पुग्नेछ ।

उनका अनुसार खेलाडीहरुका लागि खाना, बस्न र आवश्यक खेल पोशाकको समेत आयोजकले नै व्यवस्था गर्नेछ । प्रतियोगितामा एमेचर, सेमी प्रो (प्रोफेसनल) र प्रो फाइट (प्रोफेसनल फाइट) गरि तीन विधामा खेल हुनेछन् । वान फाइट सिस्टम अनुसार हुने फाइटमा खेलाडीले एक खेलमात्रै खेल्ने क्षेत्रीले जानकारी दिए । पछिल्लो समय मुवाँथाईको लोकप्रिय विश्वमा बढ्दै गइरहेको छ । नेपालमा मुवाँथाईको व्यवसायिक खेलाडी उत्पादन गर्ने समेत लक्ष्य रहेको छ ।

प्रतियोगितामा खेलाडीहरुको विमा समेत आयोजकले गरेको छ । नेपाल राष्ट्रिय मुवाँथाई संघको प्राविधिक सहयोग रहेको छ । कार्यक्रममा विभिन्न व्यावसायिक प्रतिष्ठान तथा व्यक्तिहरुको सहयोग रहेको छ ।

१ पुष २०८०, आईतवार ०८:५२ मा प्रकाशित
Nabintech