Play

पोखरा -२४ की वडासदस्य नेपालीले अनियमितता गरेको भन्दै अख्तियारद्वारा छानविन शुरु

गुरुकुल खबर


पोखरा महानगरपालिका वडा नं २४ कास्कीकोटमा वडा कार्यालयबाट छुट्याईएको र स्थानीय कृषकहरुबाट उठाईएको रकममा अनियमित किसिमले खर्च गरिएको भन्दै अख़्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा स्थित कार्यालयले अनुसन्धान शुरु गरेको छ ।

आर्थिक वर्ष २०७८/२०७९ का लागि वडा नं २४ मा कृषी औजार ख़रीद,प्लाष्टिक टनेल र हेलनेट खरिद गर्न भन्दै वडा कार्यालयबाट विनियोजित रकम करिब ६ लाख र स्थानीय कृषकबाट उठाईएको सोही बराबरको रकम वडास्तरीय कृषी समितिका अध्यक्ष समेत रहेकी वडा सदस्य मैया नेपालीले अनियमितता गरेको भन्दै अख़्तियारले अनुसन्धान प्रक्रिया अगाडी बढाएको हो ।

यसै सन्दर्भमा गत असौज २१ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयले पोखरा महानगरपालिका कार्यालयलाई एक पत्र लेखि उक्त योजनाको स्विकृत बजेट रकम र स्थानीय कृषकहरुबाट उठाईएको रकम समेतको विवरण साथै कृषी औजार तथा प्लास्टिक टनेल र हेलनेट वितरणको मापदण्ड, खरिद गरिएको सामानको बिल भर्पाई, सामाग्री बुझाएको भरपाई कागज, सामान खरिद र वितरण सम्बन्धी भएगरेका निर्णयको प्रमाणित प्रतिलिपि एवं खर्च भुक्तानी दिंदाको गोश्वारा भौचर समेतका काग़ज़ात १५ दिन भीत्र उपलब्ध गराईदिन निर्देशन दिएको थियो ।

अख़्तियारको सोही पत्रलाई आधार मान्दै पोखरा महानगरपालिका कार्यालयले असौज २३ गते वडा नं २४ को कार्यालयलाई पत्र लेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालबाट माग भए बमोजिमको बिवरण असौज २८ गते भित्र महानगरपालिकाको कार्यालयको अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्राप्त उजुरीको अध्ययन अनुसन्धान समिति ( कोठा नं १०) मा उपलब्ध गराईदिनुहुन भन्दै निर्देशनात्मक पत्र पठाएको थियो ।

पोखरा महानगरपालिकाका ईन्जिनियर शिव प्रसाद बरालको नामबाट प्रेषित पत्रको जवाफ वडा नं २४ को कार्यालयले असौज २३ गते नै पठाएको भएपनि त्यसपछि अध्ययन अनुसन्धानको प्रक्रिया कहा पुगेको भन्ने स्पष्ट जानकारी प्राप्त हुन सकेन ।

वडा नं २४ को कार्यालयले पठाएको जवाफमा कति रकम वडास्तरीय बजेट र कति रकम स्थानीय कृषकबाट संकलन गरिएको भन्ने केही खुलाईएको छैन तर पत्रमा रकम भुक्तानी गर्दा वडाबाट कुनै निर्णय गरेको नदेखिएको भनि उल्लेख छ । वडाध्यक्ष भरत बहादुर अधिकारीले हस्ताक्षर गरेको पत्रमा अख्तियारले माग गरेका कागजातहरुमध्ये २५ थान कागजात पत्र साथ पठाईएको भनिएपनि कुन कुन कागजात भन्ने केही खुलाईएको छैन ।

अख्तियारले छानविन शुरु गरेको भनिएकी वडास्तरीय कृषी संजालकी अध्यक्ष मैया नेपाली सोही वडाको निर्वाचित वडा सदस्य हुन ।

उनि यस अगाडी सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित वडा सदस्य हुन भने अधिकारी नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन ।

२९ मंसिर २०८०, शुक्रबार १४:२५ मा प्रकाशित
Nabintech