Play

पोखरामा आजदेखि शुरु भयो एन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेस

गुरुकुल खबर


पोखरा, एन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेस आज (बिहीबार) देखि शुरु भएको छ । रेसको उद्घाटन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरे ।

माउन्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजनामा मंसिर ९ गतेसम्म पोखरा महानगरपालिका वडा नं. १३ को आर्बा–बिजय डाँडा(महाप्रभु धाम)मा प्रतियोगिता भएको हो ।

प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै पोखराका मेयर आचार्यले खेल क्षेत्रको विकासको लागि महानगर सदैव तयार रहेको बताए । पोखरालाई खेल पर्यटनको हब बनाउनका लागि प्रशस्त सम्भाव्यता रहेका कारण अन्तर्राष्ट्रिय स्तरकाखेल पोखरामा ल्याउन सबैले पहल गर्नुपर्ने उलने बताए ।

त्यस्तै प्रतियोगिताका रेस डाइरेक्टर सुनिलचन्द्र शर्माले ४ वर्ष अगाडी देखि तयारी गर्दैहाल सञ्चालन गर्न सफल भएको बताए । उनका अनुसार ७ विधामा हुने प्रतियोगिताको लागि ६ वटा ट्रयाक रहने जसमा ४ वटा सबैले गर्नुपर्ने हुन्छ । प्रोफेशन राइडरका लागि इलिट र इ–बाइकको लागि छुट्टै ट्रयाकमा रेस गर्नुपर्ने उनले बताए । एन्ड्युरो माउन्टेन बाइक रेसका लागि पोखरा नै उपयुक्त ठाँउ रहेको उनको भनाई थियो ।

त्यस्तै पोखरा १३ का वडाध्यक्ष किरण बरालले आर्बालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने भएकाले खुशी व्यक्त गरे ।
तीन दिनसम्म हुने प्रतियोगितामा नेपालसहिति ११ देशका ५६ खेलाडीले सहभागिता जनाएका छन् ।

प्रतियोगितामा इलिट पुरुषतर्फ जुनियर (१२–१८ वर्ष), मास्टर्स ‘क’ (३०–३९ वर्ष), मास्टर्स ‘ख’ (४०–४९ वर्ष), भेट्रान (५० वर्ष माथि), महिला ओपन तथा इ–बाइक गरि ७ विधामा प्रतिस्पर्धा हुनेछन् । इ–बाइक रेस नेपालमै पहिलो पटक हुन लागेको आयोजकले जनाएको छ ।

इलिट पुरुषतर्फका प्रथम हुनेले नगद ५० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गर्ने र इलिट महिलातर्फ प्रथम, दोस्रो र तेस्रो क्रमशः ३५ हजार, २५ हजार र १५ हजार रुपैयाँ प्राप्ते गर्नेछन् । अन्य विधामा भने गिफ्ट ह्यापर प्रदान गरिने आयोजकले जनाएको छ ।

७ मंसिर २०८०, बिहीबार १५:३१ मा प्रकाशित
Nabintech