Play

नजिकको पर्यटकीय गन्तव्य : कालाबाङ घरेडी सामुदायिक होमस्टे

गुरुकुल खबर


पोखरा, पोखरा बजारबाट नजिकको होमस्टे मध्ये पर्छ कालाबाङ सामुदायिक होमस्टे । पोखरा २२ पुम्दीभुम्दीमा पर्ने यो गाउँमा २०७१ चैतदेखि होमस्टे सुविधा सुरु भएको हो । एशियन फोरमको सहयोगमा शुरु गरिएको होमस्टे २०७५ भदौमा भने स्थानीय समुदायलाई हस्तान्तरण गरियो ।

होमस्टेमा स्थानीयस्तरमा उत्पादित अर्गानिक तरकारी, फलफूल चाख्न पाइन्छ । स्थानीय रुपमा उत्पादित कफी, चिया, लोकल कुखुरा, खसी वा भेडाको परिकार पनि यहाँ खान पाइन्छ । पाहुनाका लागि दिउसोको खाजा, रातिको ननभेज खाना, एक ग्लाँस स्थानीय मदिरा, रातिको सुताई र भोलिपल्टको नास्ता गरेर एक हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

यो समुदायिक होमस्टेमा अठार घरका ३४ कोठामा ८७ विस्तारा छन् । होमस्टेले सन् २०१७ मा ग्रामीण पर्यटन प्रबर्द्धन मञ्च (भिटोफ) द्वारा प्रदान गरिने देशकै उत्कृष्ट होमस्टे अवार्ड समेत जितिसकेको छ । गुरुङ, बाहुन र दलित समुदायले सञ्चालन गरेको समावेशी होमस्टे हो कालाबाङ घरेडी । गाउँमा सबै गरेर एक सय ५६ घरधुरी रहेका छन् ।

यहाँ गुम्बा र शिवालय छन् । ढुंगेघर र ढुंगाका छपनी छापिएको चिटिक्क बाटोघाटो गाउँका विशेषता हुन् । घरघरमा पानीका धारा छन् । ग्रामीण जीवनशैली आनन्दको छ । हरियाली र हिमाली दृष्य तथा डाँडाबाट देखिने फेवातालको दृष्य मनमोहक लाग्छन् । धौलागिरी, अन्नपूर्ण र मनाश्लु लगायतका हिमालहरु यहाँबाट अबलोकन गर्न सकिन्छ । पोखराबाट पश्चिमपट्टिको यो गाउँको मोहोडा भने दक्षिण फर्किएको छ ।

पाहुनाले चाहे भने ब्राह्मणको भजन, गुरुङको झ्याउरे, दलितको रत्यौली र नौमती बाजा सुन्ने र हेर्ने व्यवस्था हुन्छ यहाँ । गाउँ पुग्ने पाहुनालाई न्यानो आतिथ्यता प्रदान गर्छन् गाउँले । साँझमा सुत्नु अघि पाहुनालाई गाउँका युवाहरु सांस्कृतिक कार्यक्रम पनि देखाउँछन् । यस्ता कार्यक्रममा स्वयं पाहुना पनि नाचेर रमाउँछन् । सांस्कृतिक कार्यक्रममा भजन र नाचगान पनि उत्तिकै रमाइलो गरी अगाडि बढ्छ ।

समुद्री सतहदेखि करिब १ हजार ४ सय ५६ मिटर उचाइमा पर्ने यो होमस्टे पोखरा शहरदेखि १३ किमीमात्र टाढा रहेको छ । यहाँ आउन पोखरा बुटवल जोड्ने सिद्धार्थ राजमार्गको तिलाहरबाट साडे दुई किलोमिटर उकालो लाग्नुपर्छ । गाउँससम्म मोटर र जीप सजिलै पुग्छन् । अधिकांश बाटो पिच भएको छ ।

११ कार्तिक २०८०, शनिबार १७:४२ मा प्रकाशित
Nabintech