Play

पुम्दीकोट महादेव मूर्ति नयाँ पर्यटकीय गन्तव्यको रुपमा स्थापित हुँदै

गुरुकुल खबर


पोखरा, फेवा ताल पारीको पुम्दीकोट डाँडामा अहिले एउटा विशाल मूर्ति देखिन्छ । शिव महादेवको ५१ फिट अग्लो यो मुर्ति यहाँ प्रतिष्ठापित गरिएसँगै अहिले पोखरा आउने धेरै पर्यटक यो मुर्तिको दर्शन र अवलोकन गर्न जाने गरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर २२ पुम्दीकोटमा निर्माण गरिएको यो विशाल शिव मुर्ति व्यवसायी कमल जैन एक्लैले दान गरेका हुन् ।

यस क्षेत्रमा हालसम्म ३१ फिट अग्लो विशाल डमरु, गंगापोखरी, १०८ स्वर्गद्वारी सिढी, १०८ धारा जडित तेश्रो आँखा, २१६ शिवलिंग, शिवताण्डव नृत्य हल र ध्यान केन्द्र निर्माण भईसकेका छन् । यसैगरी, मोनोरेलबाट गणेशले शिव परिक्रमा गरेको दृष्य पनि यहाँ देख्न सकिन्छ । पुम्दीकोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले विस्तारित परियोजना अन्तर्गत अव नजिकैको अर्को डाँडोलाई सुमेरु पर्वत घोषणा गरी कुमार र पार्वतिको मूर्ति स्थापना गर्ने, भूमेश्वर महादेवदेखि सुमेरु पर्वतसम्म विद्धुतीय कुर्सीकार निर्माण गर्ने, हरियाली पार्क स्थापना र पार्किङस्थलको व्यवस्था गर्ने जस्ता योजना रहेको जानकारी दिए । २० करोड रुपैयाँ लागत अनुमान गरिएको परियोजना विस्तारित भई दुई वर्ष अघि नै ४० करोड रुपैयाँको पुगेको र उक्त २० करोड रुपयाँ त्यही अवधिसम्म खर्च भइसकेको समितिले जनाएको छ ।

पुम्दीकोट क्षेत्रलाई भूमेश्वर कैलाश धामको रुपमा विकास गर्ने मुख्य योजना समितिको रहेको छ । २०७३ फागुन ३ देखि १३ गते सम्म यो स्थानमा शिव महापुराण तथा ज्ञान महायज्ञ एवं धार्मिक पर्यटन महोत्सव २०७३ आयोजना गरिएको थियो । सो अवसरमा करिव २० रोपनी जग्गा र ६ करोड २८ लाख रुपैयाँ दान प्राप्त भएको थियो । यसैगरी २०७९ वैशाख ४ गतेदेखि १२ गतेसम्म पनि यस्तै प्रकारको शिवमहापुराण एवं धार्मिक पर्यटन महोत्सव आयोजना गरियो । समृद्धि, विकास र रोजगारीको दिर्घकालिन लक्ष सहित आयोजित महोत्सवले ऐतिहाशिक एवं धार्मिक महत्वको पुम्दीभुम्दी क्षेत्रमा धार्मिक पर्यटन प्रबर्द्धन गर्ने उद्देश्य बोकेको थियो । यस क्षेत्रलाई भूमेश्वर कैलाश धामको रुपमा विकास गर्ने दीर्घकालिन शोच समितिको रहेको छ ।

पर्यटन प्रवद्र्धनका लागि मनोरञ्जनात्मक गतिविधि, खेल क्षेत्रको विकास, केबलकार र मोनोरेलको विकास गर्ने योजना पनि रहेको छ । समितिका अध्यक्ष बरालका अनुसार कोटमा पहिला उनका हजुरबुबाले बनाएको मन्दिर र भूमे थान थियो । यही स्थानमा जनताको पानी प्यास मेटाउन हजुरवुवामा इनार खन्ने हिम्मत र विचार आयो अनि इनार खन्ने काम पनि भयो तर लामो समयसम्म खन्दा पनि पानी भने निस्केन । अन्ततः गाउँलेकै सहयोगमा गाग्रीमा पानी बोकाएर इनारमा राखी सन्तुष्टि मेटेको भन्ने गरिन्छ । सोही इनार भएको ठाउँमा अहिले विशाल घडा बनाइएको छ । यसैगरी अहिलेको पाताले छाँगो अर्थात् डेभिज फल भन्दा माथि पानीको रहमा पौडिने क्रममा सपनामा चन्द्रकान्तलाई शिवस्वरुपको दर्शन प्राप्त भएको र सोही आकृतिको मूर्ति यहाँ प्रतिष्ठापित गरिएको उनी बताउँछन् ।

कास्कीका राजाहरु पनि पहिला पुम्दीकोट आएर शक्ति लिएर नुवाकोट युद्ध गर्न गएको किंवदन्ती छ । पानी नपरेको अवस्थामा यहाँ आएर पूजा गर्दा पानी आउने र असिना तथा दैवी विपत्ति पनि रोक्न सक्ने जनविश्वास पनि छ । अझ रोचक के छ भने स्थानीयले यहाँ पूजा नगरेसम्म चट्याङको भय थियो तर यो स्थल धामको रुपमा तयार भएपछि चट्याङको डर हटेर गएको बताइन्छ । विशाल शिव मुर्ति र धाम स्थापना भएसँगै अहिले यहाँ होटल, पसल र रेष्टुराँको संख्याब बढेको छ । व्यापार पनि बढ्न पुगेको छ । जग्गाको भाउले आकास छोएको छ । सिद्धार्थ राजमार्ग सँगै रहेको छोरेपाटन र अलि अगाडि पर्ने तिलाहरबाट शिवमुर्तिसम्म सडक मार्ग पुगेको छ । पोखरा बसपार्कबाट यहाँसम्म जान सार्वजनिक वस सुविधा पनि उपलब्ध छ ।

११ कार्तिक २०८०, शनिबार १७:४२ मा प्रकाशित
Nabintech