Play

नेपालद्वारा साउदी अरेबियामाथि ३०१ रनको जीत

गुरुकुल खबर


पोखरा, यू–१९ प्रिमियर कपको समूह चरणमा नेपालले साउदी अरेबियालाई पराजित गरेको छ । यो जीत सँगै नेपाल सेमिफाइनल प्रवेश गरेको छ ।

बिहीबार साउदी अरेबियालाई १९.१ ओभरमा ४६ रनमा अलआउट गर्दै नेपालले साउदी अरेबियामाथि ३०१ रनको फराकिलो जित हात पारेको थियो । ३४८ रनको विशाल लक्ष्य पछ्याएको साउदीले नेपालको स्पिन अट्याक सहन सकेन ।

खेलमा नेपालका लागि दिपेश कँडेलले ९.१ ओभर बलिङ गरेर ६ विकेट लिए भने अर्का स्पिनर सुवास भण्डारीले ५ ओभर बलिङ गरेर एक विकेट लिएका थिए ।

पावरप्लेमा साउदी अरेबियाले ६ विकेट गुमाउँदा जम्मा १८ रन जोडेको थियो । पावरप्लेमा अब्दुल्लाह सिराजले सर्वाधिक ९ रन बनाए । १० औं नम्बरमा आएका ब्याटर वरुण मुदलियाले बनाएको ११ रन नै साउदीका खेलाडीले जोडेको सर्वाधिक स्कोर रह्यो । उनी २० औं ओभरको पहिलो बलमा दिपेशको बलमा आकाश त्रिपाठीबाट क्याच आउट हुन पुगे ।

नेपालका तीव्र गतिका बलर आकाश चन्दले ३ ओभर बलिङ गर्दा १४ रन खर्चेर २ विकेट लिए । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले अर्जुन कुमालको शतकमा ३४७ रन बनाएको थियो ।
ओपनर ब्याटर अर्जुन कुमालले १११ बलमा १७ चौका र २ छक्का प्रहार गर्दै १४२ रन बनाए । उनले एक खेलमा सार्वधिक रन बनाउने नेपाली खेलाडीको कीर्तिमान पनि बनाएका छन् ।

अर्जुनले दीपक बोहरासँग पहिलो विकेटका लागि ७० रनको साझेदारी गरेका थिए । दोस्रो विकेटका लागि आकाश त्रिपाठीसँग १५५ रनको साझेदारी गरे । कप्तान देव खनाल भने डक आउट हुन पुगे । दीपक बोहरा २९ रन र विशालबिक्रम केसी २४ रनमा अविजित रहन पुगे ।

साउदी अरेबियाका मोहम्मद अहमद र अहमद राजाले दुई/दुई विकेट लिए । जुहैर मोहम्मद सजिव मुजिबुर रहमानले एक÷एक विकेट लिए । समूह चरणको पहिलो खेलमा नेपालले इरानलाई २७४ रनले हराएको थियो । त्यस्तै, दोस्रो खेलमा बहराइनलाई ७ विकेटले हराएको थियो ।

२ कार्तिक २०८०, बिहीबार १४:०१ मा प्रकाशित
Nabintech