Play

ठुलढुङ्गामा कृषि उपज सङ्कलन केन्द्र सञ्चालन

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका वडा नं.२२ ठुलढुङ्गामा कृषि उपज सङ्कलन केन्द्र सञ्चालन गरिएको छ । महानगरपालिकाको आर्थिक विकास महाशाखा र वडा नं.२२ को समन्वय तथा स्थानीय कृषकहरूको सक्रियतामा सिद्धार्थ राजमार्ग तरकारी पकेट क्षेत्र अन्तरगत उत्पादित कृषिजन्य उपजहरूको सङ्कलनका लागि सो केन्द्र सञ्चालनमा ल्याइएको हो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यस प्रकारका सङ्कलन केन्द्रहरू मार्फत उत्पादक र उपभोक्ताहरू प्रत्यक्ष रूपमा जोडिने र स्थानीय उत्पादनको सहज बजारीकरणमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे। “पोखरा महानगरपालिका कृषकहरूको उत्पादन खेर नजाओस् र उचित बजार मूल्य प्राप्त गर्न सकोस् भन्नेमा चिन्तित छ, प्रमुख आचार्यले भने, महानगरपालिकाले कृषक दाजुभाइ

दिदीबहिनीहरूको मिहिनेतले उत्पादित वस्तुको बजारीकरणका लागि समर्थन मूल्य समेत प्रदान गर्दैआइरहेको छ ।” कृषकहरूलाई प्रदान गरिने समर्थन मूल्यले उनीहरूलाई हौसला मिलेको उनले बताए ।
महानगरपालिकाका दर्जनौँ स्थानहरूमा कृषि उपज सङ्कलन केन्द्रहरू स्थापना गरी सञ्चालनमा ल्याइएको बताउँदै उनले गुणस्तरीय उत्पादनमा जोड दिए । महानगरपालिकामा तरकारीजन्य वस्तुहरूको आयात प्रतिस्थापन गरी आत्मनिर्भर बनाउने र निर्यात समेत गर्नेगरि उत्पादनमा लाग्नु पर्ने अवस्था रहेको उनले बताए । पोखरा काँक्रो लगायत कतिपय कृषिजन्य उत्पादनमा आत्मनिर्भर भैसकेको बताउँदै प्रमुख आचार्यले अव बिस्तारै अन्य तरकारी तथा मासुजन्य बस्तुहरूमा पनि आत्मनिर्भर हुने अवस्था सृजना गर्नुपर्ने बताए ।

वडा नं.२२ का वडा अध्यक्ष हिमलाल बरालले वडालाई तरकारीको पकेट क्षेत्र घोषणा गरी लागु गरिएका कार्यक्रमहरू निकै प्रभावकारी भइरहेको बताए । वडाको अधिकांश क्षेत्रमा तरकारी खेती गरिएको र व्यवसायी रूपमा खेती गर्ने कृषकहरूको सङ्ख्या समेत बढ्दै गइरहेको उनले भने । महानगरको अनुदान, प्रोत्साहन र लागत साझेदारी लगायतका कयौँ कृषक केन्द्रित कार्यक्रमहरूले यस प्रति कृषकहरूको आकर्षण बढिरहेको उनले बताए । व्यवसायीकतामा जोड दिँदै उनले उत्पादन वृद्धि र गुणस्तरमा ध्यान दिन सुझाव दिए ।

आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले पोखरा महानगरपालिकाको अधिकांश क्षेत्र निकै उर्वर रहेको बताए । कृषकहरूको मिहिनेत अनुसार प्रतिफल प्राप्त भइरहेको उल्लेख गर्दै उनले यसमा महानगरपालिकाको तर्फबाट आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराइएको बताए । महानगरले हाल ३५ वटा कृषि उपजहरूको न्युनतन समर्थन मूल्य तोकिसकेको उनले बताए । उनका अनुसार यसले उत्पादन पश्चात् बजारीकरणका सन्दर्भमा कृषकहरूको चिन्तालाई दूर गरिदिएको छ ।

कृषकहरूको उत्पादनलाई सहज तथा सुरक्षित ढुवानीका लागि महानगरपालिकाको तर्फबाट चिस्यान सुविधा सहितको कृषि एम्बुलेन्स सञ्चालन गरिएको छ । कृषकहरूको खेतबारीमा पुगेर कृषि उपजको सङ्कलन तथा सुरक्षित ढुवानी कृषि एम्बुलेन्स मार्फत भइरहेको कडरियाले बताउनुभयो । त्यस क्षेत्रका कृषकहरूले भने ग्रामीण क्षेत्रमा बाँदर लगायतको समस्या रहेकाले यसको समाधानका लागि उचित व्यवस्थापन गरिदिन आग्रह गरेका छन् ।

२ कार्तिक २०८०, बिहीबार १३:४७ मा प्रकाशित
Nabintech