Play

प्रभावकारी बन्दै मेयर बाख्रा पकेट कार्यक्रम, सौर्य बजारमा ८० केजीसम्मका खसी बोका प्रदर्शन

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कृषक प्रोत्साहनका कार्यक्रमहरूलाई महानगरपालिकाले प्राथमिकता दिने बताएका छन् ।

पोखरा २८ सौर्य बजारमा आयोजित तेस्रो खसी बोका मेला प्रदर्शनी कार्यक्रममा बोल्दै उनले मेयर बाख्रा पकेट कार्यक्रमको प्रभावकारिता कृषकहरूको उत्पादनमा देखिएकाले कृषक प्रोत्साहनका कार्यक्रमहरूलाई थप प्राथमिकता दिइने बताए ।

“कृषक दाजुभाइ तथा दिदीबहिनीहरूले पाल्नुभएका खसीबोकाहरु ७५-८० केजी सम्म भएको पाएकामा मलाई विगतमा वितरण गरिएको अनुदानको सम्झना आइरहेको छ, यो बाख्रा पालनमा देखिएको सकारात्मक नतिजा हो, प्रमुख आचार्यले भने, गतवर्षदेखी नै हामीले विभिन्न वडाहरूमा बाख्रा पकेट कार्यक्रम सञ्चालन गरी ४४ लाख बढी अनुदान कृषकहरूलाई वितरण गरिसकेका छौँ ।” पैसा बाँडेर हुन्छ, भन्नेहरूका लागि यो एक आश्चर्यको विषय बनेको प्रमुख आचार्यले बताए ।

पोखरा महानगरपालिकाका विभिन्न वडाहरूमा बाख्रा पकेट कार्यक्रम सञ्चालित छ । महानगरका वडाहरू वडा नं.१९,२०,२१,२४,२५ र २८ मा यो कार्यक्रम सञ्चालन लागु गरिएको छ । यस अन्तरगत विभिन्न प्रजातिका ७२ हजार बाख्राहरू कृषकको खोरमा रहेका छन् । प्रमुख आचार्यका अनुसार मागको आधारमा उत्पादन निकै कम रहेकाले यसलाई थप व्यवसायीक रूपमा विस्तार गरिनेछ । कृषकहरूलाई दिनुपर्ने सहुलियत तथा पशु सेवा सम्बन्धी चिकित्सकीय सेवाका लागि भेटेरिनरी डाक्टरको व्यवस्था गरिएको उनले बताए । आगामी दुई वर्षमा बाहिरबाट पोखरा आउने खसिबोका र बाख्राको आयातलाई रोक्ने गरी स्थानीय उत्पादन वृद्धिमा उनले जोड दिए ।

वडा नं.२८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले कृषकहरूको हौसला बढाउँदै उनीहरूलाई अनुदान, प्रोत्साहन र लगानी सुरक्षणका गतिविधिहरूमा आफूहरू लागिरहेको बताए । वडाका कृषियोग्य भूमिहरूको पूर्ण उपयोग र सम्भावित पशुपालनमा कृषकहरूसँग हातेमालो गरी कार्यक्रम सञ्चालन गरिएको उनले बताए । वडाका कृषकहरूले पालेका खसीबोकाहरु ग्रामीण वातावरणमा हुर्किएका स्वस्थ भएकाले यसको बजारीकरणमा आवश्यक व्यवस्थाका लागि पहल गरिरहेको अध्यक्ष लामिछानेले बताए ।

महानगरपालिकाको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले उत्पादनसँगै गुणस्तरमा समेत जोड दिए । कृषकहरूको उत्पादनलाई बजारीकरणका लागि आवश्यक प्रबन्ध मिलाइने बताउँदै उनले उत्पादन वस्तु तथा सेवाको बजार सुनिश्चित गरिने बताए । “यस्ता प्रकार मेला तथा जमघटहरूले कृषकहरूलाई प्रोत्साहन सहित हौसला प्रदान गर्दछन्, कतिपय कुराहरू देखेर पनि सिक्ने वातावरण बन्दछ, कडरियाले भने, कृषि उपजको नोक्सानी न्यूनीकरण गर्दै महानगरपालिकाले अहिले कृषि एम्बुलेन्स सञ्चालन गरिरहेको छ, न्युनतन समर्थन मूल्य प्रदान गरिरहेको छ, हामी आगामी वर्षदेखि खसिबोका र बाख्राहरूमा समेत यो लागु गर्ने योजनामा रहेका छौँ ।” यो ग्रामीण रोजगारीसँग जोडिएको विषय भएकाले बढ्दो युवा पलायनलाई समेत यसले रोक्न मद्दत गरिरहेको उनले बताए ।

कृषकहरूले आफूहरूले निकै मिहिनेतका साथ हुर्काएका खसिबोका र बाख्राहरू निकै लोभ लाग्दा रहेका बताएका छन् । महानगरपालिकाले दिएको अनुदानको सही सदुपयोग गरी आशातीत प्रतिफल तयार गरिएको उनीहरूको भनाई छ । आगामी दिनहरूमा समेत यस प्रकारका प्रोत्साहनका कार्यक्रमहरू वास्तविक कृषकहरूको पहिचान गरी प्रदान गर्न उनीहरूले आग्रह गरेका छन् । महानगरका ८ सय बढी व्यवसायीक कृषकहरूलाई कृषक परिचय पत्र प्रदान गरिएको पशुसेवा शाखा प्रमुख नवराज अधिकारीले बताए । अधिकारीका अनुसार महानगरपालिकामा २५ बढी कृषकहरू सूचीकृत छन् ।

पोखरा २८ का कृषक दिलु खनाल तेस्रो खसी बोका मेला प्रदर्शनीमा प्रथम हुनुभएको छ । उनले पालेको बोका ७७ केजी तौल पुगेको छ । उनलाई प्रोत्साहन स्वरूप महानगरपालिकाको तर्फबाट रु.१० हजार प्रदान गरिएको छ । यस्तै प्रकाश रमण अधिकारी दोस्रो हुँदै रु.८ हजार, बुद्धि बहादुर तिमिल्सीनाले तेस्रो हुँदै रु.६ हजार र चतुर्थ हुँदै नारायण प्रसाद तिमिल्सीनाले नगद रु.४ हजार प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन् । प्रदर्शनीमा ५ वटा भन्दा बढी खसी बोका ल्याउने १२ जना कृषकहरूलाई प्रोत्साहन स्वरुप नगद रु.२/२ हजार प्रदान गरिएको छ ।

२० केजी माथि तौल भएको खसी बोकाको मूल्य प्रतिकेजी रु.६४० र २० केजी भन्दा कम तौल भएको खसिबोकाको मूल्य प्रतिकेजी रु.६२० तोकिएको पशु सेवा शाखाले जनाएको छ । पोखरामा अधिकांश खरी, बोयर, जमुनापारि र स्थानीय जातको बाख्रा पालन गर्ने गरिएको छ ।

१ कार्तिक २०८०, बुधबार १३:४८ मा प्रकाशित
Nabintech