Play

हेमजाले प्रकाशन गर्यो संस्थागत परिचय कृति

गुरुकुल खबर


पोखरा, हेमजा साहित्य प्रतिष्ठान नेपालले प्रकाशन गरेको पोखरामा क्रियाशील वाङ्मयिक संस्थाको संस्थागत परिचय कृति चिनारी एक समारोह बीच पोखरामा लोकार्पण गरिएको छ ।

प्रतिष्ठानले रजतजयन्ती वर्ष २०८० को अवसर पारेर २४१ औं शुभप्रभात काव्यमाला, हेमजाका धरतीपुत्र मुकुन्दशरण उपाध्यायलाई रजतजयन्ती विशेषसम्मान उक्त परिचयकोष लोकार्पण कार्यक्रम एक साथ आयोजना गरेको हो ।
कृतिको लोकार्पण गर्दै भाषाविद् प्राज्ञ मुकुन्दशरण उपाध्यायले नेपाली भाषा बिग्रेकोमा चिन्ता व्यक्त गरे । उनले प्रतिष्ठान स्थापनाको २५ वर्ष पारेर प्रकाशन गरेको चिनारी कृतिलाई आफूँद्वारा प्रतिपादित व्याकरण अनुसार प्रकाशन गरेको र रजतजयन्ती विशेष सम्मान अर्पण गरेकोमा आभारसमेत व्यक्त गरे ।

कृतिको समीक्षा गर्दै रेन्डम रिडर्स सोसाइटी कास्कीका अध्यक्ष रुपिन्द्र प्रभावीले रजतजयन्ती विशेषाङ्क चिनारीका विविध आयामले यसलाई सदा जीवन्त राख्ने बताए । साथै उनले नेपाली साहित्यका क्षेत्रमा एक अर्को संस्थाबीच प्रतिष्पर्धात्मक मानसिकता मौलाउँदै गएको बेला प्रतिष्ठानले कास्कीमा क्रियाशील संस्थाका गतिविधिलाई एकैठाउँमा प्रकाशित गरेर एउटा महत्वपूर्ण कार्य गरेको धारणा राखे ।

गण्डकी प्रज्ञा–प्रतिष्ठानका परिषद् सदस्य कृष्णप्रसाद पौडेलले प्रतिष्ठानले आफ्नो रजतवर्षलाई विविध २५ विशेष कार्यक्रमका साथ अगाडि बढाएकोमा सोहीमध्येको एउटा विशेष कार्यक्रम चिनारी प्रकाशन गरेको बताए ।

स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष असफल गौतमले साहित्यकारलाई राज्य मात्र नभएर साहित्यिक संघसंस्थाले पनि तुछ्य व्यवहार गरिरहेको अवस्थामा प्रतिष्ठानद्वारा भएका पछिल्लो गतिविधिले आशाको दियो पिल्पिलाएको बताए ।

उपाध्यक्ष सुनिल गायकले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै प्रतिष्ठानले आयोजना गरेको पोखरामा क्रियाशील साहित्यिक संघसंस्थाबीचको अन्तरक्रियाको उपहार चिनारी भएको बताए ।

कार्यक्रममा प्रतिष्ठानका संस्थापक सचिव कोविदशरण उपाध्याय, निवर्तमान अध्यक्ष छन्दमणि त्रिपाठी,सचिव परशुराम अधिकारीलगायतले प्रतिष्ठानको थप प्रगतिको कामना गरेका थिए ।

कार्यक्रममा लघुकथा प्रतिष्ठानका उपाध्यक्ष कल्याण पन्त, साहित्यकार आवाज शर्मा, वसन्त चालिसे, चन्द्रावती वाग्लेले रचनावाचन गरेका थिए ।

 

२३ आश्विन २०८०, मंगलवार १३:४८ मा प्रकाशित
Nabintech