Play

गण्डकीलाई लामाचौर कप, नेपाल पुलिस क्लबलाई ३–२ सेटमा हराउँदै रु १ लाख ५० हजार पुरस्कार

गुरुकुल खबर


पोखरा, २ असोज घरेलु टिम गण्डकी प्रदेशले लामाचौर कप भलिबल प्रतियोगितामा पुरुषतर्फको उपाधि जितेको छ । मंगलबार फाइनलमा विभागीय नेपाल पुलिस क्लबलाई ३–२ सेटमा हराउँदै गण्डकीले उपाधिसहित १ लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त ग-यो ।

गत वर्ष पनि यी दुवै टिम फाइनल पुगेकोमा लगातार वर्षाले खेल रोकिएपछि पुरस्कार बाँडेर लिएका थिए । लाइट प्रोटेस्टका कारण सोमबारको फाइनल १–१ सेटको बराबरीपछि मंगलबारका लागि सरेको थियो । लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी मावि परिसर भलिबल कोर्टमा भएको फाइनलमा पहिलो सेट २५–२३ ले जित्दै अग्रता लिएको पुलिसले दोस्रो सेट भने गुमाउन पुग्यो । गण्डकी २५–१९ ले जितेर बराबरी खेल्यो । तेस्रो सेट भने पुलिसले आफ्नो पक्षमा पा-यो ।

उसले २५–२१ मा जिते पनि पछिल्ला २ सेट गुमाउँदा उपाधिबाट वञ्चित बनेको हो । चौंथो सेट जितेर उपाधि जित्ने दाउमा रहेको पुलिसले २३–२० को स्थितिको लय गुमाउँदै गण्डकीलाई जित सुम्पेको हो । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा गण्डकीले २८–२६ मा चौंथो सेट जित्नुका साथै अन्तिम सेट भने सहज १५–११ मा कब्जा जमायो । उपविजेता पुलिसले पुरस्कारस्वरुप १ लाख प्राप्त गरेको छ ।

सशस्त्र प्रहरी बलको एपिएफ क्लब तेस्रो हुँदै ५० हजार पुरस्कार पायो । प्रतियोगितामा गण्डकीका रवि केसी सर्वोत्कृष्ट खेलाडी घोषित भए । यस्तै गण्डकीका हरि पाण्डे (वेस्ट ब्लकर), किरण गुरुङ (वेस्ट स्पाइकर) र रमेश केसी (वेस्ट कोच) बने । पुलिसका कुलबहादुर थापा (वेस्ट सर्भर), अभिषेक थापा (वेस्ट सेटर) र भीम गाहा (वेस्ट लिबेरो) घोषित भएको रेफ्री टहलसिंह थापाले बताए ।

पुरुषतर्फ उपविजेतामा सीमित भए पनि नेपाल पुलिस क्लबले सोमबार महिलातर्फको उपाधि जितेको थियो । फाइनलमा चन्द्रागिरी नगरपालिका न्यु डायमण्डलाई ३–१ सेटमा हराउँदै उपाधि जितेको हो । लिग चरणका सबै खेलमा अपराजित यात्रा कायम गरेको पुलिसले डायमण्डमाथि फाइनलमा १८—२५, २५—२२, २५—१४ र २५—२० सेटको जित निकाल्दै १ लाख ५० हजार पुरस्कार प्राप्त गरेको छ । उपविजेताले १ लाख पायो । गत वर्ष पनि नेपाल पुलिसले न्यु डायमण्ड एकेडेमीलाई फाइनलमा सोझो सेटमा पराजित गर्दै उपाधि रक्षा गरेको थियो । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा २५ औं संस्करणको लामाचौर तीज महोत्सव अन्तर्गत १० औं संस्करणको लामाचौर कपमा महिलातर्फ ४ र पुरुषतर्फ ५ टिमले भाग लिएका थिए । गत वर्षदेखि पुरुषतर्फ स्पर्धा थप भएको हो ।

तस्वीर : दिननाथ/योगेन्द्र

२ आश्विन २०८०, मंगलवार १३:३३ मा प्रकाशित
Nabintech