Play

देशभरका अस्पताल बन्द, विरामी मर्कामा, चिकित्सक संघ र सरकारविच वार्ता सुरु

गुरुकुल खबर


पोखरा, देशभरका सरकारी र निजी अस्पतालमा आकष्मिक बाहेकका स्वास्थ्य उपचार सेवा ठप्प हुँदा विरामी मर्कामा परेका छन् । मकवानपुरको हेटौंडामा दुईजना डाक्टर कुटिएको विषयमा स्वास्थ्यकर्मीहरुले देशभर आन्दोलन गरेका हुन् ।

देशभरका स्वास्थ्यकर्मीले आइतबार देशभर स्वास्थ्य संस्था बन्द गरेपछि सरकारले वार्ताबाट समस्याको समाधान खोज्नुपर्ने जनाएको छ । अस्पताल तथा क्लिनिकमा आकस्मिकबाहेक सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार विज्ञप्ति निकालेर वार्तामा बस्न तयार रहेको स्पष्ट पारेको छ ।

‘नेपाल चिकित्सक संघको तर्फबाट पेशागत हकहित र सुरक्षाबारेका विषयवस्तुलाई तत्काल सम्बोधनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री भदौ २९ को निर्णयले अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव रहने गरी पाँच सदस्यीय वार्ता समिति गठन भइसकेको छ’, मन्त्रालयका सहसचिव तुलसीनाथ गौतमले उल्लेख गरेका छन् ।

‘वार्ताका लागि आव्हान भइसकेकाले नेपाल चिकित्सक संघका आधिकारिक प्रतिनिधिसँग यही आइतबार वार्ता हुने कार्यक्रम छ। छलफलवाट विवादको समाधानको पहल भइरहेको छ।’उता शनिबार विज्ञप्ति जारी गर्दै चिकित्सक संघले सरकारी अस्पताल, निजी अस्पताल, मेडिकल कलेज तथा क्लिनिकको सेवा बन्द गर्ने घोषणा बाहिर ल्याएको थियो ।

डाक्टरलाई कुटपिटमा संलग्नहरुलाई फौजदारी अभियोग तथा ऐनबमोजिम कारबाहीको सुनिश्चितताको माग पनि संघले अगाडि सारेको छ । गत बुधबार हेटौँडास्थित सन्चो अस्पतालका दुई चिकित्सकलाई चितवनमा मृत्यु भएका बिरामीबारे आफन्तहरुले कुटपिट गरेको घटना यसअघि नै सार्वजनिक भईसकेको छ ।

यसैविच नेपाल चिकित्सक संघ र स्वास्थ्य मन्त्रालयले गठन गरेको वार्ता समितिबीच बैठक सुरु भएको जनाइएको छ ।

३१ भाद्र २०८०, आईतवार १५:१९ मा प्रकाशित
Nabintech