Play

एमाले धादिङ–पोखरा सम्पर्क मञ्चको १२ औं साधारणसभा

गुरुकुल खबर


पोखरा, नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सत्ताधारी दलका नीतिका कारण देशको हालत बर्बादी उन्मुख भएको बताएका छन् । पार्टीको धादिङ–पोखरा सम्पर्क मञ्चको शनिबार पोखरामा सम्पन्न १२ औं साधारणसभा तथा छैटौं अधिवेशनमा प्रमुख अतिथि गुरुङले गत निर्वाचनमा एमालेलाई बहुमत नदिँदा यो परिणाम भोग्नुपरेको उल्लेख गरे ।

‘कर्मचारी तलब खान पाएका छैनन् । सरकारी विकास निर्माण आयोजनाका ठेकेदारहरुलाई दिने पैसा छैन । अर्थतन्त्र डामाडोल छ । जनता मारमा छन् ।’ उपमहासचिव गुरुङले भने– ‘गएको चुनावमा एमालेलाई जनताले नचिनेर, अझै चिन्न नसकेर पो परिणाम भोग्नुपरेको छ । ०८४ मा एमालेलाई बहुमत दिएर एकल सरकार सञ्चालनको जिम्मा लगाए देश बन्छ ।’

माओवादी, माधव नेपाल, काँग्रेसको भ्रममा जनता परेकाले पनि यस्तो परिणाम आएको भन्दै उनले यिनीहरुबाट जनता मुक्त हुनुपर्ने उल्लेख गरे । ‘विदेशीले जे जे भन्छ, त्यही नीति ल्याएर दलाल पूँजीवादीको सरकार चलिरहेको छ । दलाल नोकरशाही पूँजीवाद र दक्षिणपन्थी विस्तारवाद विरुद्ध एमाले मात्रै लडिरहेको छ ।’ उनले भने ।

०८४ कोे चुनावमा नेकपा एमालेले बहुमत ल्याउने र त्यसपछि स्थायी सरकार गठन भई देशले गति लिने, विकास र समृद्धिको ढोका खुल्ने उनको भनाई छ । नेकपा एमाले जनताको अथक मेहनत, संघर्ष र समर्पणले बनेको पार्टी भएकाले पञ्चायत फाल्ने, निरंकुशतन्त्र ढाल्ने अगुवा पार्टी बनेको गुरुङको भनाई छ ।

कामको सिलसिलामा जहाँ रहेपनि आफ्नो पार्टीप्रतिको निष्ठा र समर्पण नछाडेको भन्दै पछिल्लो क्रममा सक्रिय गतिविधिका साथ मुलुकका सम्पर्क मञ्च मध्ये धादिङ–पोखरा सम्पर्क मञ्च अग्रपंक्तिमा रहेको गुरुङले बताए ।

विशेष अतिथि एमाले बागमती प्रदेश सचिवालय सदस्य एवं पूर्व प्रदेश राज्यमन्त्री डा. रामकुमार अधिकारीले राजनीतिक प्रतिद्वन्द्वी काँग्रेस रहेकाले काँग्रेसको पछि हिँड्ने अन्यबाट कुनै खतरा नरहेको बताए ।

एमाले धादिङका उपाध्यक्ष एवं संविधानसभा सदस्य धन बहादुर घलेले धादिङबाट कामको सिलसिलामा पोखरा आएर वा यहीँ नै स्थायी बसोबास गरेर पनि पार्टीको हितमा लागिरहँदा असाध्यै खुशी लागेको बताए । नेकपा एमाले कास्कीका उपाध्यक्ष तेजनारायण अधिकारीले पार्टी विस्तार र विकासका लागि धादिङबासीको योगदान महत्वपूर्ण रहेको बताए ।

जिल्ला कमिटि धादिङ सदस्य चन्द्रकुमारी अधिकारी, मञ्चका संस्थापक अध्यक्ष कृष्णबहादुर लम्साल, जिल्ला कमिटि धादिङका सदस्य बेनी पाठक लगायतले बोलेका थिए ।

मञ्चका अध्यक्ष शेरबहादुर अधिकारीको अध्यक्षतामा भएको साधारणसभामा सचिव सरोज कुँवरले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा उपाध्यक्ष योगप्रसाद सापकोटा (नवराज)ले स्वागत गरेका थिए ।

उक्त अवसरमा मञ्चद्वारा आयोजित विभिन्न कार्यक्रमका संयोजकहरुलाई सम्मान पनि गरिएको थियो । निवर्तमान अध्यक्ष वीरबहादुर थापा, रक्तदान कार्यक्रम संयोजक यार्मिला तामाङ, क्यालेण्डर प्रकाशन संयोजक हरिकृष्ण श्रेष्ठ, न्यानो कपडा वितरण अभियान संयोजक मिलन सुनारलाई सम्मान गरिएको थियो ।

यस्तै, नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा धादिङ घर भई पोखरामा स्थायी वा अस्थायी बसोबास गर्दै आएका चेलीबेटीबीच भेटघाट कार्यक्रम पनि सम्पन्न भयो ।

 

२४ भाद्र २०८०, आईतवार १३:३० मा प्रकाशित
Nabintech