Play

पोखरा पर्यटन परिषद्को २३ औं साधारण सभा, निरासा नबाँड्न अर्थमन्त्री महतद्वारा व्यवसायीलाई आग्रह

गुरुकुल खबर


पोखरा, अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको पर्यटन क्षेत्रले चाँडै नै लय समात्नेमा आफू आसावादी भएको बताएका छन् । पोखरा पर्यटन परिषद्को २३ औं साधारणसभालाई सोमबार पोखरामा सम्वोधन गर्दै उनले पर्यटन र अर्थतन्त्रप्रति सकारात्मक भएर शोच्न व्यवसायीसँग आग्रह गरे ।

‘व्यवसायीले निरासा बाँड्नु भएन’, उनले भने, ‘जति निरासाका कुरा गर्यो उति माहोल नकारात्मक हुँदै जान्छ ।’ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट छिटै अन्तर्राष्ट्रिय उडान गर्न पहल भइरहेको दाबी पनि उनले गरे । भैरहवा र पोखरा जस्ता विमानस्थलले मात्र देशको आबश्यकता पुरा नहुने भन्दै उनले निजगढमा पनि सरकारले अन्तर्राष्ट्रिय विमानस्थल बनाउने बताए । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अहिले साँघुरो महसुस हुन थालेको उनको भनाई थियो ।अर्थतन्त्र विस्तारै सुधार हुँदै गएको बताउँदै उनले यसप्रति आसावादी हुन व्यवसायीसँग आग्रह गरे ।

गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दिपेन्द्रबहादुर थापाले प्रदेशको पर्यटनलाई उचाई प्रदान गर्न सरकार लागि परिरहेको बताए । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालयविच ट्युनिङ नमिल्दा अर्थतन्त्र सुध्रन गाह्रो भएको भनाई राखे ।

आयोजक संघका अध्यक्ष पोमनारायण श्रेष्ठले सरकार–माओवादी बिचको १० वर्षे राजनीतिक द्वन्द्व, २०७२ सालको महाभुकम्प, छिमेकी राष्ट्रबाट गरिएको नाकाबन्दी र महामारीकै रुप लिएको कोभिड– १९ को नकारात्मक प्रभावले नेपाली पर्यटन पटक–पटक थला पर्दै आएको स्मरण गराए । उनले बैंकको चर्को ब्याजको मारमा पर्यटन क्षेत्र परेको भनाई राखे ।

एकातिर बैंकको चर्को ब्याज र अर्कोतिर पर्यटक आगमनमा आएको न्यूनताले अहिले पर्यटन क्षेत्र दोहोरो चेपुवामा  परेको उनले बताए । सो अवसरमा उनले विभिन्न छ बुँदे माग समेत सरकारसमक्ष राखेका थिए । पर्यटन क्षेत्रका तर्फबाट उनले राखेका मागहरु ।

१) कर्जाको पुनर्तालिकीकरण र पुनर्कर्जा पाउने व्यवस्था गर्दै बैंक ब्याजदर एकल अंकमा कायम गर्न पहल अगाडि बढाइयोस् । छ-सात प्रतिशतमा लिएको कर्जाको ब्याज बैंक तथा वित्तीय संस्थाले एकतर्फी १५-१६ प्रतिशत पु-याउँदा व्यवसायी अहिले प्रताडित हुन पुगेका छन् ।

२) पर्यटन क्षेत्रमा अहिले बैंक तथा वित्तीय संस्थाले लगानी गर्न नचाहने प्रवृत्ति देखिएको छ । त्यसकारण बैंक तथा वित्तीय संस्थाका लागि कृषिमा जस्तै पर्यटनमा पनि अनिवार्य कर्जा लगानीको व्यवस्था गरियोस् ।

३) नेपालमा पाँच सय दरका भारतीय नोट नचल्दा नेपाल घुम्न आउने भारतीय पर्यटक दुरुत्साहित हुन पुगेका छन् । यसले नेपाली पर्यटनप्रति नै नकारात्मक धारणा सिर्जना हुँदै गएको छ । अतः पाँच सय दरका भारतीय नोटको नेपालमा बैध संचालनका लागि मित्रराष्ट्र भारतसँग कुटनीतिक पहल अगाडि बढाइयोस् ।

४) आठ महिना अघि पोखरामा उद्घाटन गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यथाशीघ्र अन्तर्राष्ट्रिय उडान संचालनका लागि पहल गरियोस् । यस्तो उडान नेपाल एयरलाइन्सबाट सुरुवात गरियोस् ।

५) पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–पोखरा सडक खण्डमा जारी स्तरोन्नती कार्यलाई व्यवस्थित र तीव्र बनाई समयमै काम सक्ने वातावरण बनाइयोस् । स्थलमार्ग हुदै नेपाल भित्रिने पर्यटकहरुलाई सहज र मुख्य शहरसम्मको यात्रा सुविधाका लागि अन्य राजमार्गहरुको समेत सुधार गरियोस् ।

६) पर्यटनमा विदेशी लगानी भित्र्याउन आबश्यक कदमहरु चालियोस् । नेपालमा विदेशी पर्यटक भित्र्याउन सरकारले नै वृहत योजना बनाई उचित बजेट व्यवस्था गर्दै पर्यटनलाई विदेशी मुद्रा आर्जनको प्रमुख श्रोतको रुपमा रहने गरी प्राथमिकिकरण गरियोस् ।

कार्यक्रममा होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदी, कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, परिषद्का निवर्तमान अध्यक्ष गोपिवहादुर भट्टराई, महासचिव सञ्जयकान्त सिग्देल लगायतले भनाई राखेका थिए ।

१८ भाद्र २०८०, सोमबार १६:२३ मा प्रकाशित
Nabintech