Play

चीन भ्रमण अघि प्रधानमन्त्रीलाई पोखरेलीको पाँच बुँदे ध्यानाकर्षण

गुरुकुल खबर


पोखरा, प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमणमा जाँदा उठाउनुपर्ने यस क्षेत्रका पाँच विषय पोखरेलीले सम्झाएका छन् । असोज ४ गतेदेखि प्रम दाहाल चीनको भ्रमणमा जाँदै छन् ।

पोखरा अन्र्ताष्ट्रिय विमानस्थल बनाउँदा एक्जिम बैंकबाट लिइएको ऋण मिनाहको पहल गर्न पोखरेलीले प्रधानमन्त्रीसँग भनेका छन् । संघसंस्थाका तर्फबाट पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले हस्तान्तरण गरेको ज्ञापनपत्रमा नेपाललाई ‘गन्तव्य राष्ट्र’मा सूचीकृत गर्न पनि माग गरिएको छ ।

यसैगरी कोरोला नाका संचालनको प्रक्रिया थाल्न र गोर्खामा पर्ने रुइला नाका खोल्न पनि उनीहरुले माग गरेका छन् । यसैगरी पोखरा चक्रपथको लागि सहयोग जुटाउन तथा पोखरा–मुग्लिन सडक निर्माणमा चिनियाँ ठेकेदार कम्पनीले देखाएको ढिलाईबारे समेत पोखरेलीले प्रधामन्त्रीलाई सम्झाएका छन् ।

पोखराका मेयर धनराज आचार्य, पूर्वसांसद राजकाजी गुरुङसहित नेपाल उद्योग वाणिज्य महासंघ तथा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी, संघकै निवर्तमान अध्यक्ष नारायण कोइराला, पूर्वअध्यक्ष विश्वशंकर पालिखे, पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठ,पोउवा संघका उपाध्यक्ष उत्तममान बुद्धाचार्य ज्ञापनपत्र बुझाउन पुगेका थिए ।

यसैगरी महासचिव बलराम आचार्य, उपमहासचिव शोभा गौतम, सदस्य बालकृष्ण कोइराला,पोखरा पर्यटन परिषदका पूर्वअध्यक्ष गणेशबहादुर भट्टराई, हालका महासचिव संजयकान्त सिग्देललगायतका व्यक्तित्वहरु पनि सो अवसरमा समावेश थिए । प्रधानमन्त्री प्रचण्डले ज्ञापनपत्रमा लेखिएका अधिकांश विषयहरु भ्रमणको एजेण्डामा समेटिएको बताए ।

१६ भाद्र २०८०, शनिबार १४:४७ मा प्रकाशित
Nabintech