Play

कलाकार सारुक ताम्राकारको निधनको विषयमा अभिनेत्री नम्रता श्रेष्ठले मुख खोलिन्

फेसबुकमा लेखिन् लामो स्टाटस


गुरुकुल खबर


पोखरा, आफ्ना सहकर्मी कलाकार सारुक ताम्राकारको निधनको विषयमा अभिनेत्री नम्रता श्रेष्ठले मुख खोलेकी छन् । सारुकको निधन भएको लामो समयसम्म उनी मौन नै थिइन् । आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका सारुकको मृत्युमा नम्रतामाथि विभिन्न खाले प्रश्न उठाइएको थियो । उनी माथि उठाइएका विभिन्न प्रश्नको जवाफ उनले सामाजिक संजाल फेसबुकमार्फत् फर्काएकी छन् । उनको लेखाई यस्तो छ : सम्पूर्ण देश तथा विदेशमा रहनु भएका आदरणीय आमाबुबा, दाजुभाइ दिदीबहीनी नातेदार, इस्टमित्र, दर्शक तथा शुभचिन्तकहरूमा हार्दिक नमस्कार।

धेरै समयपछि सामाजिक सञ्जाल मार्फत केही वास्तविक सूचना हजुरहरू माझ प्रवाह गर्न जाँदै छु। सन्दर्भ नेपाली चलचित्र ह्यासट्याग मायाको छायाङ्कनका क्रममा सोही चलचित्रका कलाकार तथा नायक सारूक ताम्राकार आफ्नै घरमा झुण्डिएर आत्महत्या गरी निधन भएको खबरले सम्पूर्ण चलचित्र जगतलाई दुःखी तुल्याएको छ।

सर्वप्रथम स्वर्गीय कलाकार सारूकको निधनप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकशन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्न चाहन्छु। स्वर्गीय कलाकार एक सम्भावना बोकेका कलाकार थिए। ऊनी सहयोगी भावना भएका मिलनसार व्यक्ति थिए। यो घटनाले हामीलाई अचम्मित तुल्याएको छ। यस दुखद घडिमा मृत आत्माको चिर शान्तिको कामना गर्दछु।

यो घटना केही दिन पहिले घटेको हो तर अहिले आएर सामाजिक सञ्जाल मार्फत म केही बोल्न बाध्य भएँ। सामान्य अवस्थामा पनि त्यतिसारो मिडियामा आउने मान्छे होइन म। तर हाल यो घटना पश्चात एकलौटी रुपमा विभिन्न मिडिया मार्फत कपोकल्पित समाचारहरू लेख्न र लेखाउन केही अनलाइन मिडियाहरु, केही सिनेकर्मी र केही पदाधिकारीहरू पूर्वाग्रही हिसाबले लाग्नु भएको थियो।

मेरो परिवार र हाम्रो कानुनी टिमले त्यो किसिमको हर्कतलाइ नजिकबाट नियालिरहेका थियौँ। एक जना महिला भएकै कारण यती धेरै सामाजिक आक्रमण भएको होला सायद किनकी यो पुरुषप्रधान समाज हो ठीकै छ। मेरो मौनतालाइ कमजोरी नठान्न अपिल गर्दछु। म एक महिला मात्र नभएर कलाकार पनि हो अनी नेपाली नागरिक। हरेक नेपाली नागरिकको बाँच्ने पाउने नैसर्गिक अधिकार हुन्छ सायद यो देशमा कानुन मरेको छैन। यो कानुनी राज्य हो झुटको खेती गर्नु हुने सबै दिग्गज महानुभावहरुलाई सत्यको बाटो हिँड्नको लागि आग्रह गर्दछु।

थुप्रै मिडयाहरुबाट कल आएको थियो। मेरो फोन मेरो दादासँग हुन्थ्यो। अहिले पनि मेरो परिवारले नै व्यवस्थापन गर्नु हुन्छ, तर मिडयामा बोल्दा अनुसन्धानमा असर पर्छ भनेर मेरो परिवारबाट बोल्ने अनुमति भएन। मैले विभिन्न टेलिभिजनबाट लाइभ अन्तवार्ता दिन सक्थेँ तर बिगतमा मैले दिएको अन्र्तवार्ताहरुमा विभिन्न कुरा जोडेर तोडमोड गरियो। ट्रोल बनाउने प्रयास भयो। त्यसकारण यस बखत टेलिभिजन अन्तर्वार्तामा आइन। आवश्यक पर्दा दिउँला त्यसमा कुनै संकोच छैन। यो घटनासँग जोडिएका ‘फेब्रिकेटेडड समाचार र विभिन्न भिडियोहरू मेरो कानुनी टिमले हेर्नेनै छ।

म यस चलचित्रको एक कलाकार पनि थिएँ। सोही चलचित्रको कलाकार भएको कारण मैले प्रहरी प्रशासनले बोलाइएको बेला उपस्थित भएर वास्तविक कुरा बयान दिनु स्वाभाविक थियो होला तर यहाँ एकतर्फी रुपमा केही मुठ्ठी भर मान्छेहरू हात धोएरै लागे। त्यो कुरा मिडियामा सबैले पढ्नु भएकै छ। मृत्यु जस्तो सम्बेदनशील विषयलाई धेरै चर्चा गर्नु उचित हुँदैन।

पत्रकार देशको चौथो अङ्ग हो। म उहाँहरूलाइ सधैँ सम्मान गर्छु। स्वच्छ पत्रकारिता पत्रकारको धर्म हो। तर केही पित पत्रकारिता गर्ने अनलाइन मिडियाहरूबाट यो घटनापछि भ्यूजका लागि जुन कपोकल्पित समाचारहरु एकतर्फी रूपमा प्रसारण गरियो यस्ता तथ्यहीन समाचारप्रति म घोर भर्त्सना गर्दछु। यो किसिमका तथ्यहीन समाचारप्रति सम्पूर्ण देश विदेशमा रहनु भएका मेरा आफन्तजन, प्यारा दर्शक र शुभचिन्तकहरू सचेत रहनु हुन हार्दिक अनुरोध गर्दछु।

म आफैँ पनि मेन्टल हेल्थको ‘सर्भाभर एण्ड एडभोकेट’ समेत भएकोले मैले सोचेँ कसैको यस्तो संवेदनशील विषय मिडियामा ल्याउन उचित ठानिन। म टोटल्ली घर अनी हस्पिटलतिर नै रहेँ। तर कपोकल्पित तबरले देशै छोडेर क्यानडा तिर गएको जस्ता फण्डाहरु फिँजाइयो जब की इन्डिया भन्दा बाहिर देश जाँदा भिसा चाहिन्छ।

प्रहरी प्रशासनलाई बयान दिन जाँदा मेरो पासपोर्ट हेरेर प्रहरी अधिकारीहरुले भन्नु भयो ‘तपाईं त विदेशतिर जानुभो भनेर हङ्गामा थियो त मिडियाहरु तिर। तर कतै भिजिट गरेको देखिन्न त’ भनेर सर्प्राइज हुनु भयो। चलचित्र मेकिङ टिम र मृतक का परिवारसँग मेरो परिवारका सदस्यहरू र सहयोगीले शुरुका दिनहरुबाट पटक पटक सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन चाहनु भएन।

म आफू बिरामी नै थिएँ परिवार कै रेखदेख मा रहेँ। जब मलाई प्रहरी प्रशासनबाट बोलावट भयो म तुरुन्त म प्रहरी कार्यालय हाजिर भएँ। यो घटना सम्बन्धी डिटेल इन्क्वाइरी भयो। जे जे यथार्थ थियो र हो सबै बताएँ। सो चलचित्रको मेकिङ टिम, कलाकारहरु सबै जनासँग सोधपुछ भइरहेको जस्तो लाग्छ। किनकी सो चलचित्रको कलाकार म मात्र थिइनँ। नेपाल प्रहरी विश्वकै टप छ अनुसन्धानमा। अब्बल प्रहरी हो भन्ने भनाइ छ। आशा छ यो घटनाको सत्यतथ्य पक्कै पनि दूध को दूध पानी को पानी हुने गरी अनुसन्धान गर्ने छ भन्नेमा हामी पूर्ण आशावादी छौँ।’

कोही अपराधी नउम्कयोस निर्दोष नफसोस भन्ने भनाइ हो , जहासम्म कालो बोका र बुटी को कुरालाई फण्डा बनाइएको थियो अहीले को एक्काईसैं शताब्दी मा आएर यस्तो रुढीवादी कुरा गर्नु कतिको युक्तिसंगत हुन्छ होला ?? यो देश लोकतन्त्रपछी धर्मनिरपेक्ष मुलुक हो सबैलाई धर्म मान्ने स्वतन्त्रता छ । सबैले मनन गरौं, पुजा गर्ने गुरुको कुरा छ जुन चर्चा को नाम थियो उहाँलाइ समेत प्रहरी प्रशासन ले पहिले नै बयान लिइ सकेको छ । अनुसन्धान लाई प्रभाव पार्ने काम कोही कसैबाट नगरौं । निष्पक्ष छानबिन होस्, म र मेरो परिवारको तर्फबाट प्रहरी प्रशासनलाई अनुसन्धान को सवालमा पूर्ण सपोर्ट रहने छ । अन्तमा मृतकको सम्पूर्ण परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस..आदरणीय पुराना बरिस्ठ कलाकार सानु ताम्राकार ज्यु बिरामी हुनुहुन्छ भन्ने सुनेको छु.. यदी सत्य हो भने शीघ्र स्वास्थ्य लाभ को गर्दछु ! चलचित्र मेकिङ टिम र मृतक को परिवार हरु प्रति मेरो भन्नु केही छैन, प्रशासनलाई सबै मिलेर अनुसन्धानमा बाधा नहुने गरी सहयोग गरौ । धन्यबाद !! श्री पशुपतिनाथ ले सबै को कल्याण गरुन्, सबै को जय होस ।

नम्रता श्रेष्ठ
काठमाडौं, नेपाल

११ भाद्र २०८०, सोमबार १६:०२ मा प्रकाशित
Nabintech