Play

माकाजूको सफलताका कथाहरू लोकार्पण

गुरुकुल खबर


पोखरा, अग्रज साहित्यकार तथा लेखक रवीन्द्र माकाजूको ६५ औं कृति सफलताका कथाहरू पोखरामा एक समारोहका बीच लोकार्पण गरिएको छ ।

कृतिको लोकार्पण गर्दै वरिष्ठ साहित्यकार सरुभक्तले जीवनी लेखनमा सत्य र तथ्यका लागि ध्यान दिनुपर्नेमा जोड दिए ।

उनले कृति लेखन, प्रकाशन, लोकार्पणलगायतका सन्दर्भ परिवेश र स्थान चयनले पनि जीवनमा सकारात्मक तथा नकरात्मक उर्जाका लागि प्रेरित गर्ने भएकाले त्यसमासमेत ध्यान दिन आवश्यक रहेको धारणा व्यक्त गरे ।
शिक्षासेवी प्रा.डा. रामचन्द्र पोखरेलले माकाजूको लेखन विषयको सार्थकता केन्द्रित रहने गरेकोमा आफूलाई खुसी लागेको बताए ।

पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठले माकाजूको बहुआयामिकताको स्मरण गर्दै उनलाई होलटाइमर अभियन्ताका रूपमा चिनाए ।

कृतिका स्रष्टा रवीन्द्र माकाजूले विभिन्न क्षेत्रमा सफलता हासिल गरेका ३१ जना स्रष्टाका सफलताका कथालाई कृतिमा समावेश गरेको बताए । उनले जीवित स्रष्टाको जीवनी लेख्नु भनेको चुनौतीपूर्ण रहे तापनि यसको छुट्टै सुखानुभूति रहेको बताए ।

कार्यक्रममा पोखरा प्रज्ञा–प्रतिष्ठानका कुलपति पद्मराज ढकाल, ब्रह्मकुमारी ईश्वरी विश्वविद्यालयकी ब्रह्मकुमारी परिणिता, जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानका अध्यक्ष मदनराज थापा, बुद्ध अनुयायी मिन गुरु, अनेसास कास्की संस्थापक उपाध्यक्ष देवेन्द्र के.सी.लगायतले बोलेका थिए ।

सोही समारोहबीच लेखक माकाजूले ब्रह्मकुमारी ईश्वरी विश्वविद्यालयलाई सहयोग हस्तान्तरणसमेत गरेका थिए ।

अनेसास गण्डकीका कार्यवाहक अध्यक्ष कल्याण पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव असफल गौतमले गरेका थिए ।

३ भाद्र २०८०, आईतवार ११:३५ मा प्रकाशित
Nabintech