Play

पोखरा मुग्लिन सडक विस्तार कार्य समयमै सक्न माग, निर्माण सुस्तीले पर्यटन व्यवसाय चौपट भएको गुनासो

गुरुकुल खबर


पोखरा, एशियाली विकास बैंकको आर्थिक सहयोगमा मुग्लिन–पोखरा सडक सुधार आयोजना अन्तर्गत उक्त खण्डमा जारी सडक स्तरोन्नती कार्य समयमै सक्न पोखरा पर्यटन परिषद्ले माग गरेको छ ।

परिषद्को आयोजनामा तनहुँको दमौलीमा हालै भएको पत्रकार सम्मेलनमा सो माग गरिएको हो । नेपालका दुई ठूला शहर– काठमाडौं र पोखरा जोड्ने पृथ्वी राजमार्ग अन्तर्गतको उक्त खण्डलाई कम्तिमा चार लेनको बनाउने कार्य निकै महत्वपूर्ण र सराहनीय भए पनि जुन गति र स्तरमा यो सडक विस्तार कार्य अगाडि बढेको छ, यसले आम उपभोक्ता, निजी क्षेत्र र पर्यटन जगतमा थुप्रै गुनासोहरु उब्जाएको परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।

‘सडक विस्तार कार्य अगाडि बढ्नु सकारात्मक पक्ष हुँदाहुँदै पनि निर्माण पक्षबाट भएको सुस्त र अव्यवस्थित विस्तारकार्यबाट सेवाग्राहीले थुप्रै कठिनाई र झण्जटहरु भोग्दै आउनु परेको छ । छोटो दुरीको यात्राका लागि लामो समय खर्चनुपर्ने, दिक्क लाग्दो र कष्टपूर्ण यात्रा, विरामी र अशक्त यात्रुका लागि थप जोखिम तथा हैरानीको अवस्था सिर्जना हुन पुगेको छ । यतिमात्र नभई ढिलो गतिमा काम अगाडि बढ्दा लामो समयसम्म सडक वरपरका वासिन्दाले धुलो, धुँवा र ध्वनी प्रदूषणको समस्याबाट गुज्रँदै स्वास्थ्य जोखिमको सामाना गर्नु पर्ने अवस्था सिर्जना भएको छ ।’ कार्यक्रममा वितरित प्रेस विज्ञप्तिमा भनिएको छ ।

यसैगरी नेपाली अर्थतन्त्रको महत्वपूर्ण आधार मानिएको पर्यटन र उद्योग वाणिज्य क्षेत्रले समेत सुस्त र अव्यवस्थित निर्माण कार्यबाट प्रत्यक्ष प्रभावित हुनु परेको र काठमाडौं वा नारायणगढ हुँदै पोखरासम्म यात्रा गर्न चाहने पर्यटकले सिंगो दिन खर्चनुपर्ने अवस्था सिर्जना भएको विषय पनि उल्लेख गरिएको छ । काठमाडौं–पोखराविचको पाँच देखि छ घण्टा लामो बसयात्राका लागि अहिले १२ घण्टा सम्म लाग्ने गरेको छ । यसबाट पोखरा र वरपरको पर्यटनमा नकारात्मक प्रभाव परेको र निजी क्षेत्रले विक्रीयोग्य बस्तु, अन्य उत्पादन र कच्चा पदार्थ ढुवानीमा लामो समय खर्चनु परेको परिषद्ले जनाएको छ ।

विज्ञप्तिमा थप भनिएको छ, ‘खर्बौं रुपैयाँको लगानी रहेको पोखरा क्षेत्रको पर्यटनका लागि यो सुखद पक्ष होइन । औपचारिक रुपमै नेपालको पर्यटकीय राजधानी घोषणा हुन लागेको पोखराका लागि त यो झनै नकारात्मक अवस्था हो । सडक विस्तार कार्य सुरु भएको यतिका समय गुज्रँदा पनि निकै कम प्रतिशत मात्र प्रगति हुनु निरासजनक र दुःखद पक्ष हो । यो विषयमा परिषद्ले विगतमा प्रधानमन्त्री, अर्थमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री, पर्यटन मन्त्री, गण्डकी प्रदेश सरकारका प्रमुख तथा मुख्यमन्त्री र मन्त्रीहरुको ध्यानाकर्षण गराइसकेको अवगत गराउन चाहन्छौं ।’

मुग्लिन–पोखरा सडक खण्डको विस्तार र स्तरोन्नती कार्यलाई तिव्रता प्रदान गरी समयमै काम सम्पन्न होस् भन्ने परिषद्को मुख्य माग र चासो भएको परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । सडक विस्तारको शैलीलाई परिवर्तन गरी सडकको एक किनारतर्फ काम गर्ने र अर्कोतर्फबाट सवारीसाधनको सहज आवतजावतको वातावरण सिर्जना गर्न सके सेवाग्राहीलाई सहज वातावरण सिर्जना हुने उनले बताए । विभिन्न सिफ्टमा काम गर्ने गरी राति र दिनमा उत्तिकै शीघ्र गतिमा काम अगाडि बढाउन जरुरी रहेको पनि उनले सुनाए । संभव भएका ठाउँमा वैकल्पिक मार्ग र डाइभर्सनहरुको व्यवस्था गरी यात्रालाई सहज र छिटो बनाउन सके झनै उत्तम हुने परिषद्को भनाई छ ।

पोखरा मुग्लिन सडक खण्डको ठेक्का सम्झौता अब ८ महिनामात्र बाँकी छ । पोखरा मुग्लिन सडक सुधार आयोजनाले २ खण्डमा काम गरिरहेको छ । २ वर्षमा पूर्वी खण्ड आँबुखैरेनीबाट जामुने सम्म ३१ प्रतिशत र जामुनेदेखि पोखरा सम्म पश्चिम खण्ड जम्मा ८ प्रतिशतमात्र प्रगति भएको छ । पूर्वी खण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का लागेको थियो । सरकारले मुग्लिन–पोखरा सडक विस्तारका लागि चालु आर्थिक वर्षमा ५ अर्ब ४२ करोड विनियोजन गरेको छ । पूर्वी खण्ड अन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा ७ किलोमिटर कालोपत्रको काम सुरु भइसकेको छ । पश्चिम खण्ड अन्तर्गत जामुनेबाट पोखरासम्म २०७८ जेठ २ गते सम्झौता भई सोही सालको भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्डको ठेक्का ७ अर्ब ४० करोड ४६ लाखमा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यो खण्डको म्याद २०८१ भदौसम्म छ । कार्यक्रमको संचालन परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले गरेका थिए ।

२९ श्रावण २०८०, सोमबार १४:२९ मा प्रकाशित
Nabintech