Play

सयपत्री सहकारीको १४ औं वार्षिकोत्सवमा खुल्ला रक्तदान

गुरुकुल खबर


पोखरा, सयपत्री बचत तथा ऋण सहकारी संस्थाले १४ औं वार्षिकोत्सव मनाएको छ । सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गतको १० औं खुल्ला रक्तदान आयोजना गर्दै वार्षिकोत्सव मनाएको हो । पहिलो रक्तदाता सूर्यप्रसाद घिमिरेलाई ब्लड ब्याग हस्तान्तरण गर्दै भूमी, कृषि तथा सहकारी मन्त्रालय सहकारी रजिष्टारको कार्यालय गण्डकी प्रदेशका सूचना अधिकारी चोलाकान्त वाग्लेले सहकारीलाई राम्रो र हाम्रो बनाउने हो भने वित्तीय सूचांक मासिकरुपमा नियाल्न सेयर सदस्यलाई आग्रह गरेका छन् ।

सहकारीका उपाध्यक्ष धर्मप्रसाद बास्तोलाको अध्यक्षतामा भएको सभामा रजिष्टार कार्यालयका अधिकृत वाग्लेले थोपा थोपा रगतको महत्व भएजस्तै सवै सेयर सदस्यको दायित्वलेमात्र सहकारी सक्षमरुपमा सञ्चालन हुने बताए । बजारमा सहकारीको नकारात्मक प्रचार भइरहेको स्मरण गर्दै समुदायको उन्नति र प्रगतिको साथी भनेको सहकारी बन्न सक्नु पर्नेमा जोड दिए । नाफा भन्दा पनि सेवामा जोड दिन सयपत्री सहकारीलाई आग्रह गर्दै कर्मचारीको भरमा विश्वास नगर्न आग्रह गर्दैै वित्तीय अवस्थाको जानकारी महिनामा एक पटक आफै आएर नियाल्न अनुरोध गरे ।

कार्यक्रममा पोखरा ११ का अध्यक्ष प्रेमप्रसाद कार्माचार्यले ७ सिद्धान्तको आधारमा सञ्चालन हुने सहकारीले कर्मचारी, सञ्चालक समिति र सेयर सदस्यबीच मैत्री भावलेमात्र सहकारी अघि बढ्ने बताए । सहकारीको विरुद्ध हामीजस्तै नागरिकहरु सडकमा उत्रेको अवस्थामा लगानीदेखि कलेक्सनसम्ममा ध्यान दिन अनुरोध गरे । ५३ जना रक्तदाताले रगत दान गरेको कार्यक्रममा सयपत्री सहकारीका सल्लाहकार माधवप्रसाद बास्तोला (मधु), जिल्ला सहकारी संघका अध्यक्ष सावित्रा कोइराला, सयपत्री सहकारीका पूर्व अध्यक्ष विश्वराज बास्तोला लगायतले बोलेका थिए ।

सयपत्री सहकारीको वित्तीय अवस्था जानकारी दिँदै व्यवस्थापक विकास सुवेदीले १६ करोड ६५ लाख ४२ हजार १ सय रुपैयाँ सेयर पुँजी रहेको जानकारी दिए । उनले कुल निक्षेप १ अर्व ४८ करोड ८७ लाख २३ हजार २ सय २० रुपैयाँ रहेको बताए । व्यवस्थापक सुवेदीले १ अर्व ५९ करोड ९१ लाख ९ हजार १ सय ९२ रुपैयाँ कर्जा लगानी रहेको उल्लेख गरे । सयपत्री सहकारीमा २४ करोड ८९ लाख ८० हजार १९ रुपैयाँ तरलता रहेको भन्दै जम्मा १७ प्रतिशत तरलता रहेको बताए । १ अर्व ९९ करोड ३८ लाख ५२ हजार ८ सय ९२ रुपैयाँ कुल सम्पती सयपत्री सहकारीमा रहेको जानकारी दिए ।

सहकारीका सचिव वसन्तराज कोइरालाले सञ्चालन गरेको सभामा कार्यक्रम संयोजक जनार्दन बास्तोलाले स्वागत गरेका थिए भने सहकारीका ७ सिद्धान्त शिक्षा उपसमितिका सदस्य डिल्लीराम तिवारीले बाचन गरेका थिए । समाज र समुदायलाई जोड्ने सहकारीको संरक्षणमा सवैले हातेमालो गर्नु पर्ने समय आएको बताईएको थियो । कार्यक्रममा ३ वटै तहको नीति र नियम पालना गर्न सहकारीलाई आग्रह गरिएको थियो । सयपत्री सहकारीले आगामी भदौ ९ गते वार्षिक साधारण सभाको आयोजना गरेको सहकारीका सदस्य शान्तिदेवी गुरुङले जानकारी दिइन् ।

२० श्रावण २०८०, शनिबार १५:१३ मा प्रकाशित
Nabintech