Play

एक सय ९१ बाख्रापालक कृषकलाई पोखरा महानगरको ४४ लाख रुपैयाँ अनुदान

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिकाले कृषकहरूलाई रु.४४ लाख बढी अनुदान प्रदान गरेको छ । मेयरमैत्री बाख्रा पकेट कार्यक्रम अन्तरगत महानगरका १९१ जना कृषकहरूलाई रु.४४ लाख २० हजार बराबरको अनुदान प्रदान गरिएको हो । महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा २८ कालिकामा आयोजित एक कार्यक्रमका बिच सो अनुदान प्रदान गरेका हुन् ।

बाख्रा पालन पकेट कार्यक्रमका रूपमा विकास भइरहेका बेला महानगरपालिकाको आर्थिक विकास महाशाखाले अनुदानका लागि योग्य कृषकहरूलाई अनुदान सहायता उपलब्ध गराएको हो । यस प्रकारको अनुदानले कृषकहरूलाई हौसला मिल्ने नगरप्रमुख आचार्यले विश्वास व्यक्त गरे । “महानगरपालिका कृषकहरूको सहायताका लागि सदैव सकारात्मक छ, प्रमुख आचार्यले भने, महानगरपालिकाको समृद्धिसँग कृषकहरूको समृद्धि पनि जोडिनु पर्दछ ।” आत्मसम्मानका साथ उत्पादन र उत्पादकत्व वृद्धिमा लाग्ने वातावरणको सृजना गर्न महानगरपालिका प्रतिबद्ध रहेको उनले बताए ।

कृषिजन्य उत्पादनहरूमा आयात प्रतिस्थापन गरी महानगरलाई आत्मनिर्भरता तर्फ उन्मुख बनाउन कृषकहरूको योगदान उल्लेखनीय हुने भएकाले आफ्नो उत्पादनको स्वच्छतामा समेत ध्यान दिन उनले आम कृषकहरूलाई अनुरोध समेत गरे । कृषकहरूलाई राज्यको तर्फबाट दिनुपर्ने संरक्षण, बजारको सुनिश्चितता र बजारीकरणका लागि आफूहरू प्रतिबद्ध रहेको उनले बताए ।

पोखरा महानगरपालिका वडा नं.२८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले बाख्रा पालन व्यवसाय तर्फ कृषकहरूको आकर्षण बढेको भन्दै खुसी व्यक्त गरे । उन्नत जातका बाख्रा पालनबाट कृषकहरूले मनग्य लाभ लिइरहेको बताउँदै उनले यसका सरकारी तवरबाट आवश्यक सहयोग तथा सहजिकरणका लागि आफूहरू तयार रहेको बताए । पोखरा महानगरपालिका वडा नं.२८ का पूर्व वडाध्यक्ष एवं कार्यपालिका सदस्य निर्मल दियालीले अनुदान रकमको सदुपयोगमा जोड दिए ।

पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रहरूमा बाख्रा पालन कार्यक्रम निकै प्रभावकारी र उपलब्धिमूलक भइहरेको बताए । बाख्रा पालन प्रति कृषकहरूले देखाएको चासो र उनीहरूले प्राप्त गरेको लाभले आफूहरूलाई यस क्षेत्रमा थप कामका लागि हौसला मिलिरहेको उनले बताए ।

भेटेरिनरी अस्पतालका विज्ञ सहदेव पौडेलले विभिन्न प्रकोपका कारण समस्यामा रहेका कृषकहरूलाई यस प्रकारको अनुदानले राहत मिल्ने विश्वास व्यक्त गरे । कृषकहरूको समस्या समाधानका लागि आफूहरू निरन्तर खोज तथा निदानका उपायहरूको सहजिकरणमा लागि रहेको उनले बताए ।

सोमबार वडा नं.१९ का २४ जना कृषकहरूलाई रु.६ लाख २० हजार, वडा नं.२० का ३२ जना कृषकहरूलाई रु.७ लाख २० हजार, वडा नं.२१ का ४३ जनालाई रु.१० लाख, वडा नं.२४ का ३७ जनालाई रु.८ लाख २० हजार, वडा नं.२५ का २३ जनालाई रु.४ लाख ८० हजार र वडा नं.२८ का ३२ जनालाई ७ लाख ६० हजार गरी १९१ जना कृषकहरूलाई रु.४४ लाख २० हजार नगद अनुदान प्रदान गरिएको पशुसेवा शाखा प्रमुख नवराज अधिकारीले बताए ।

वडा स्तरमा गठन गरिएका कृषि सञ्जाल र अनुदान प्राप्त गर्ने कृषकहरूले खुसी व्यक्त गरेका छन् । कृषकहरूका समस्याहरू समाधानका साथै आफूहरूको हौसला वृद्धिका लागि यस प्रकारका कार्यक्रमहरूको निरन्तरतामा उनीहरूले जोड समेत दिएका छन् ।

यसैबिच पोखरा महानगरपालिका वडा नं २८ मा माझठाना कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र समेत सञ्चालन गरिएको छ । केन्द्रको पोखरा महानगरपालिकाका प्रमुख आचार्यले उद्घाटन गरेका हुन् । वडा नं २८ र वडा स्तरीय कृषि सञ्जालको समन्वयमा केन्द्र सञ्चालन गरिएको हो । सो क्रममा कृषि औजार समेत प्रदान गरिएको छ ।

हाल पोखरा महानगरपालिकामा १५ स्थानमा कृषि सङ्कलन केन्द्र सञ्चालनमा रहेका छन्, भने ५ वटा कृषि बजारहरू महानगरपालिकाको तर्फबाट सञ्चालन गरिएको छ ।

९ श्रावण २०८०, मंगलवार १३:३३ मा प्रकाशित
Nabintech