Play

नेपालका प्रज्ञा प्रतिष्ठानबिच पोखरामा अन्तरक्रिया कार्यक्रम हुने

गुरुकुल खबर


पोखरा, नेपालका प्रज्ञा प्रतिष्ठानबिच पोखरामा अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानमा साउन १३ गते शनिबार आयोजना हुने अन्तरक्रिया कार्यक्रममा गण्डकी सहित नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल प्रज्ञा प्रतिष्ठान, मधेश प्रज्ञा प्रतिष्ठान र सुदुरपश्चिम प्रज्ञा प्रतिष्ठानको सहभागीता रहनेछ ।

गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने यो कार्यक्रममा सबै प्रतिष्ठानले कार्यपत्र प्रस्तुत गर्ने आयोजक प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए । प्रतिष्ठानका बिचमा अनुभव आदानप्रदान तथा सम्बन्ध बिस्तार गर्ने उद्धेश्यले यो कार्यक्रमको आयोजना गर्न लागिएको उनले खुलाए । अन्तरक्रिया कार्यक्रम सहित अन्य विभिन्न छलफल तथा भेटघाट कार्यक्रम समेत हुने उनको भनाई छ । ‘यो साउन १२, १३ र १४ गते हुने तीन दिने कार्यक्रम हो, मुख्य कार्यक्रम १३ गते शनिबार हुनेछ, सो कार्यक्रम मार्फत एउटा निष्कर्षमा पुग्ने प्रयास गर्छौ’ उनले भने ।

कार्यक्रममा प्रतिष्ठानका कुलपति, उपकुलपति र सदस्य सचिवले सहभागीता जनाउनेछन् । केही कार्यक्रम प्रतिष्ठानहरुबिच सहकार्य गरेर गर्दा प्रभावकारी हुने भएकोले सहकार्यको वातावरण समेत यो कार्यक्रमबाट बन्ने उनको विश्वास छ ।

यसैगरी स्वामी विवेकानन्द कल्चरल सेन्टर काठमाण्डौं तथा गण्डकी प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा दूई दिने फोटो प्रर्दशनी कार्यक्रम समेत हुने भएको छ । यो प्रर्दशनी पोखरा सभागृहमा साउन १० र ११ गते हुने भएको हो । यी दुई कार्यक्रमलाई भव्य बनाउन तयारीमा तिव्रता दिइएको गण्डकी प्रज्ञा प्रतिष्ठानले जनाएको छ ।

८ श्रावण २०८०, सोमबार १४:२३ मा प्रकाशित
Nabintech