Play

मानवीय अतिक्रमणमा परेको फिर्के खोलाको वास्तविक आकार पत्ता लगाउन नापचाँच सुरु

गुरुकुल खबर


पोखरा, पोखराको फिर्केखोलाको आकार पत्ता लगाउन बुधबारबाट काम सुरु भएको छ । पोखरा महानगरपालिकाको प्रविधिक सर्भेक्षण टोलीले पहिलो दिन पोखरा ६ बैदामस्थित गाईघाटबाट नाचजाँच सुरु गरेको हो । पहिलो दिन खोलाको करिब ८ सय मिटर सर्वेक्षण गरेको टोली संयोजक बासुदेव पौडेले सुनाए । पहिलो दिन २ टोलीले खोलाको सर्भेक्षण गरेको थियो ।

खोजीका क्रममा नापी नक्सा बमोजिम नै खोलाको चौडाइ भेटिएको उनले बताए । २४ मिटरसम्म फराकिलो फिर्केखोला यतिबेला कतै देखिन्छ, कतै देखिँदैन । खोला नदेखिनुमा मुख्य कारण मानवीय अतिक्रमण नै भएको स्पष्ट देख्न सकिनछ ।

फिर्के अतिक्रमित हुँदा पोखरा महानगरले यसको संरक्षण गर्न सर्भेक्षण टोली खटाएको जनाएको छ । सर्भेक्षणका क्रममा खोलाको भाग अतिक्रमण भएको भेटिए जति संरचना भत्काउने मेयर धनराज आचार्यले दाबी गरे । सर्भेक्षणका क्रममा फिर्के किनारा पुगेका मेयर आचार्यले भने ५÷६ दिनमा सर्वेक्षण सकिने सुनाए । ‘अहिले खोलाको मापदण्ड १० मिटर भन्ने छ । तर, यो ५ मिटर पनि हुन सक्छ । त्यो कार्यपालिकाको बैठकले नै निर्णय गर्नेछ ।’ उनले बताए ।

महानगरले फिर्केखोलाको वास्तविक आकार पत्ता लगाउन प्राविधिक टोली गठन गरेको थियो । टोलीले नापी नक्सा बमोजिम फिर्केखोलाको सीमांकन गर्ने जिम्मा पाएको छ । १८ सदस्यीय सर्वेक्षण प्राविधिक टोलीले बुधबारबाट रफ्तारमा काम गर्ने उल्लेख छ । बर्खामा पानीको बहाब बढ्दा मापदण्ड विपरीत निर्मित संरचनाले पानीको निकास पाउन कठिन हुने गरेको छ । गत हप्ता फिर्केखोला माथिको वडा नम्बर ५ र ८ जोड्ने राधाकृष्ण मन्दिर नजिकैको पुलमा क्षति पुगेको थियो । वर्षाका कारण पुलको तल्लो भाग बगाएको छ । पुल धरापमा छ । पानीले उचित निकास नपाउँदा पुलमा क्षति पुगेको हो ।

सर्भेक्षण टोलीले मापदण्ड विपरीत बनेका संरचना र सीमांकन यकिन गर्ने कार्यादेश पाएको छ । खोलाको वास्तविक जमिन कति हो ? यी सबै विषय निरीक्षण गरेर टोलीले प्रतिवेदन पेस गर्नेछ । ०३२ सालको नक्साअनुसार फिर्केखोलाको जमिन विभिन्न व्यक्ति, शक्तिकेन्द्र, शिक्षण संस्था, सामाजिक संस्था लगायतबाट अतिक्रमण भएको अनुमान छ ।

पहिलाका मेयर मानबहादुर जिसीको पालामा इन्जिनियर महेन्द्र गोदारको संयोजकत्वमा गठित रेखांकन समितिको प्रतिवेदनले खोला मिचेर १ सय ९२ वटा संरचना बनेको देखाएको थियो । तर, यो संख्या अहिले बढेको हुन सक्ने सरोकारवाला बताउँछन् । पोखरा १८ को अँधेरीकुनाबाट सुरु हुने फिर्केखोला वडा नम्बर १७ र ६ को गाईघाटमा पुगेर फेवातालमा मिसिन्छ । यसको लम्बाई करिब ८ किलोमिटर भएको अनुमान छ तर, चौडाइ भने निरन्तर घट्दै गएको छ ।

४ श्रावण २०८०, बिहीबार १५:०३ मा प्रकाशित
Nabintech