Play

पृथ्वीचोक र बसपार्क क्षेत्र व्यवस्थित बनाउन पहल

गुरुकुल खबर


पोखरा, पोखराको पृथ्वीचोक र बसपार्क क्षेत्रलाई सुरक्षित र व्यवस्थित बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । पृथ्वी होटल व्यवसायी समितिले सोमबार पोखरामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।

समितिका अध्यक्ष बालकृष्ण निउरेले उल्लेखित विषयमा कार्यपत्र प्रस्तुत गर्दै बसपार्क क्षेत्र व्यवस्थित बनाउन सर्वप्रथम सरकारी निकाय अग्रसर हुनुपर्ने बताउँदै अन्य पक्षले पनि यो अभियानमा सहयोग पुर्याउनुपर्ने बताए । कार्यपत्र वाचन गर्दै उनले भने– विभिन्न कारणहरुले पोखराको मुख्य बसपार्क व्यवस्थित हुन नसकेको कुरा यहाँहरुलाई विदितै छ । बसपार्कको निर्माण गर्नका लागि राज्यलाई दबाव सृजना गर्नु पनि हाम्रो नै दायित्व हो; तर त्यस भन्दा अगाडि जस्तो अवस्थामा छ त्यसैलाई व्यवस्थित गरेर आगन्तुक पाहुनाहरुलाई सभ्य र सुरक्षित पोखराको महसुस गराउनु हाम्रो मुख्य कर्तव्य हो ।

नेपालको प्रमुख पर्यटकीय राजधानी पोखरामा होटल पर्यटन सँग सम्वन्धित व्यवसाय गर्ने र यसै सँग सम्वन्धित संस्था भएकोले पोखरामा आउने पर्यटकहरुलाई कसरी सुरक्षित गर्न सकिन्छ भन्ने उद्धेश्यले समितिले कार्यक्रम आयोजना गरेको उनले जानकारी दिए । पर्यटकहरुलाई पोखराको बारेमा कसरी पुर्ण सकरात्मक बनाएर पठाउन सकिन्छ भन्ने कुरालाई मध्यनजर गर्दै पोखराको पृथ्वीचोक बसपार्क र आसपासमा हुने विभिन्न खालका गतिविधीहरुमा समितिको चासो रहेको उनले सुनाए ।

सभ्य र संयमित भई पर्यटकहरुलाई कसरी सकरात्मक सन्देश दिन सकिन्छ, स्वस्थ प्रतिस्पर्धा गरेर कसरी उनीहरुलाई सन्तुष्ट बनाउन सकिन्छ, ब्ढदो ट्राफिक समस्यालाई कसरी व्यवस्थापन गर्न सकिन्छ, साथै उक्त स्थानमा हुने अवान्छित क्रियाकलापहरुलाई न्युनीकरण गर्दै कसरी सुरक्षाको प्रत्याभुति गराउन सकिन्छ भन्ने विषयमा कार्यक्रममा चर्चा गरिएको थियो । पोखरा ९ वडा कार्यालय, जिल्ला ट्राफिक कार्यालय कास्की र पर्यटन सँग सम्वद्ध विभिन्नसंघ संस्थाहरु बिच कार्यक्रममा अन्तरक्रिया गरिएको थियो ।

कार्यक्रममा विशेषगरी होटल व्यवसायी तथा प्रतिनिधीहरुले गर्दै आएका क्रियाकलापहरु र यसका सकरात्मक तथा नकरात्मक असरहरु तथा समाधानका उपायहरु, ट्याक्सी व्यवसायी तथा चालकहरुले पर्यटनको क्षेत्रमा दिएको योगदान साथै यसका सकरात्मक तथा नकरात्मक असरहरु र समाधानका उपायहरु,बस व्यवसायीले बसपार्क भित्र बाटै बस सञ्चालन गर्न नसक्नका कारणहरु, यसले ट्राफिक व्यवस्थापनमा देखिएका समस्याहरु र समाधानका उपायहरु बारे सो अवसरमा छलफल गरिएको थियो ।

बसपार्क आसपासमा हुने फोहोर मैलाको व्यवस्थापन र सडक बालकहरु, लागु औषध तथा मदिरा सेवन गरी सडक पेटीमा बस्ने व्यक्तिहरुको व्यवस्थापनका विषयमा पनि चर्चा गरिएको थियो । कार्यक्रममा होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदी, पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष गोकर्ण कार्की, वडा ९ का अध्यक्ष दिपेन्द्र मर्सानी, सिटी रेवान र ट्राफिक प्रहरीका प्रतिनिधि लगायतको सहभागिता थियो ।

१८ असार २०८०, सोमबार १७:५६ मा प्रकाशित
Nabintech