Play

बिपद्मा परेका बेला जनताले प्रदेश सरकार छ भन्ने अझै बढी महशुस गरुन् : मुख्यमन्त्री पाण्डे

गुरुकुल खबर


गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिपद्बाट हुने जनधनको क्षती न्यूनिकरण गर्न, उद्धार, उपचार, राहतका सबालमा विषेश ध्यान दिन निर्देशन दिएका छन् ।

बिहीवार आयोजित प्रदेश विपद् ब्यवस्थापन परिषद्को बैठकमा बोल्दै उनले भने ‘हामीले सर्वसाधारण नागरिकको सेवा सँधै गर्नु नै पर्छ, दुःख परेका बेला सहयोगको आशा अझै धेरै हुन्छ, जनतासँग प्रदेश सरकार छ भन्ने महशुस हुने गरी हामीले काम गर्नुपर्छ ।’ प्रदेश सरकारसँग भएको साधन स्रोतको अधिकतम उपयोग गरेर सुरक्षा निकायको परिचालन र स्थानीय तहसँगको सहकार्यमा काम गर्न उनले अनुरोध गरे ।

प्रदेश सरकारले बिपद् ब्यवस्थापनकालागि आफुलाई तयारी अवस्थामा राखेको र हरेक स्थानीय तह, संघ संस्था, निजी क्षेत्र लगायत सबैको दायित्व भित्र बिपद् ब्यवस्थापन पर्ने हुँदा सहकार्य जरुरी रहेको मुख्यमन्त्री पाण्डेले बताए ।

मनसुनको समय सुरु भएकाले बाढी, पहिरो, कटान, डुबान लगायतबाट हुने क्षती न्यूनिकरण सँगै अन्य बिपद्का घटनामा संवेदनशिल भएर अघि बढ्न प्रदेश सरकारले उच्च शर्तकता अपनाएको उनले बताए । तत्काल उद्धार र राहतकालागि प्रदेश सरकारले सहयोग गर्ने बताउँदै उनले उपलब्ध सामग्री, साधन स्रोत स्टोर गरेर राख्ने नभई प्रयोग ल्याउनुपर्ने बताए ।

मुख्यमन्त्री पाण्डेले बिहिवार नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीलाई उद्धार सामग्री हस्तान्तरण गरेका छन् । वेन मेटी (खाना तातो बनाउने मेसिन) मोटरबोट र बिभिन्नि किसिमका उद्धार सामग्री गरि करिब ५२ लाख रुपैयाँको सामग्री हस्तान्तरण गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ । यी सामग्री सुरक्षा निकायले आवस्यकता अनुसार प्रदेश र जिल्लाहरुमा पठाउनेछन् ।

गण्डकी प्रदेश सरकारले बिपद्मा परेकाहरुको उद्धार, खोज र राहतकालागि ११ वटै जिल्लामा विपद् कोषमा बजेट पठाउने गरेको छ । प्रदेश सरकारलेपनि विपद् कोष संचालनमा ल्याएको छ ।

परिषद् बैठकमा प्रतिपक्ष दलका नेता खगराज अधिकारी, प्रदेश सरकारका मन्त्रिहरु, नीति आयोगका उपाध्यक्ष, प्रमुख सचिव, बिभिन्न संघ संस्था, सुरक्षा निकायका प्रमुखहरु लगायतको उपस्थिती थियो ।

७ असार २०८०, बिहीबार २१:५५ मा प्रकाशित
Nabintech