पोखरा । पोखरा पर्यटन परिषद्को आयोजनामा हुँदै आएको रोपाई महोत्सव यस वर्ष पोखरा १३ को कसेरीमा हुने भएको छ । १८औँ असारे रोपाइँ राष्ट्रिय धान दिवस असार १५ मा पोखरा १३ कसेरी, डुम्रिबोटमा हुने भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । पोखरा तथा गण्डकी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटनको प्रवर्द्धनमा रोपाई महोत्सवले थप टेवा पुर्याउने परिषद्ले जनाएको छ ।
पोखरा सुरक्षित रहेको र बाह्य तथा आन्तरिक पर्यटकहरूका लागि उत्कृष्ट, सबै मौसममा जान योग्य छ भन्ने सन्देश दिन पनि कार्यक्रम आयोजना गरिएको महोत्सव संयोजक कृष्ण प्रसाद भण्डारीले बताए ।
पोखरा १३ र पोखरा २८ को सिमाना कसेरीमा मा करिब १० रोपनी क्षेत्रफलमा १८ औ असारे महोत्सव हुन लागको हो । पोखरा सबै मौसमका लागि’ भन्ने नारा सहित नेपाल सबै सिजनमा ट्राभल गर्न उपयुक्त छ भन्ने सन्देश दिन महोत्सव मनाउन लागिएको हो ।
खेती योग्य जमिनको संरक्षण, कृषिलाई व्यावसायीकरण गर्दै कृषकलाई आफ्नो पेसाप्रति अभिप्रेरित गर्न पनि महोत्सव आवश्यक रहेको पोखरा १३ का वडा अध्यक्ष किरण बरालले बताए ।
रोपाई महोत्सवमा साउने प्रतियोगिता, हल गोरुको दौड, हिलोमा माछा समात्ने प्रतियोगिता, दौड, असारे गीत तथा रोपाइँ प्रतियोगिता, नेपाली र विदेशीलाई हिलोमा दौड प्रतियोगिता, उत्कृष्ट कृषक सम्मान लगायतका कार्यक्रमहरू हुने छन् । महोत्सवमा ५ सय विदेशी सहित करिब १० हजारले महोत्सव अवलोकन गर्ने आयोजकको दाबी छ ।
महोत्सव सम्पन्न गर्न करिब ३० लाख खर्च लाग्ने आयोजक अनुमान छ ।