Play

विधि, पद्धति र प्रक्रियाभित्रै रहेर सबै विषयहरूमा खोजिने समाधान र एकताबद्ध प्रयास नै कांग्रेस रूपान्तरणको मूल आधार

विजयराज अधिकारी


अहिले नेपाली कांग्रेस रूपान्तरणको बहस तीव्र बनेको छ। केही युवा नेता नेपाली कांग्रेस रूपान्तरण अभियान नै घोषणा गरेर प्रदेशहरूमा भेला गर्दै हिँडिरहेका छन्। भेलामा सभापति शेरबहादुर देउवाको विरोधमा भाषण गर्ने र कांग्रेस बिग्रनुको सबै दोष उनकै पोल्टामा हालिदिने प्रवृत्ति हाबी देखिन्छ।

कम्युनिस्ट या अन्य कुनै लोकतन्त्रविरोधी दलमा यस्ता क्रियाकलाप सामान्यत वर्जित मानिन्छन्। यस्ता क्रियाकलापमा संलग्न नेता–कार्यकर्तामाथि अनुशासनको डन्डा चलाइन्छ। अर्थात्, कारबाहीको भागीदार बनाइन्छ। तर कांग्रेसमा यी सबै क्रियाकलाप सामान्य नै मानिन्छन्।

अहिले मुलुकका सबैभन्दा ठुला दुई दल नेपाली कांग्रेस र एमालेकै तुलना गर्ने हो भने पनि यो कुरा स्पष्ट हुन्छ। एमालेमा ओलीसँग चुनाव लडेका भीम रावललाई टिकटसम्म दिइएन र शृखलाबद्ध रूपमा स्पष्टीकरण सोधिए। तर कांग्रेसमा देउवाले आफूसँग चुनाव लडेका नेता शेखर कोइरालाको सहमतिमै हरेक निर्णय गर्ने गरेका छन्।

विगत खोतल्ने हो भने कांग्रेसमा सभापति गिरिजाप्रसाद कोइरालाविरुद्ध सर्वोच्च नेता गणेशमान सिंहकै नेतृत्वमा थालिएको जनजागरण अभियान, सभापति कृष्णप्रसाद भट्टराईलाई चुनाव हराउन गिरिजाप्रसाद कोइरालाकै अगुवाइमा गरिएका अन्तरघातका हर्कतदेखि प्रधानमन्त्रीबाट आफ्नै नेतालाई हटाउन गरिएका षड्यन्त्रको तानाबानाजस्ता ठुल्ठुला घटना भएकै हुन्।

पार्टी विभाजनकै अवस्थाबाट समेत कांग्रेस गुज्रिँदै आएको हो। कांग्रेसभित्र यस्ता हर्कत बेहोर्दै र देख्दै भोग्दै आएका सभापति देउवा अहिलेका सबै घटनाप्रति जानकार मात्र होइन सचेत समेत रहेको देखिन्छ। त्यसैले त लोकतन्त्र र अझ खासगरी अभिव्यक्ति स्वतन्त्रताका सबैभन्दा ठुलो पक्षधर रहेका सभापति देउवाले भक्तपुरमा पार्टी कार्यकर्तालाई सम्बोधनका क्रममा भनिदिए, ‘कसैको विरोध गरेर पार्टी ठुलो बन्दैन।’ यसको स्पष्ट संकेत हो, सभापतिको विरोध गरेर कांग्रेसको रूपान्तरण हुँदैन।

यति मात्र होइन, कार्यक्रममा देउवाले सभापतिमा रहेर काम गर्ने आफ्नो कार्यकाल यो नै अन्तिम रहेको र अब युवा पुस्ताकै पालो आउने स्पष्ट धारणा राखेका थिए। उनले पार्टीका लागि काम गरेर पार्टीलाई बलियो बनाउन कसैले पनि नरोकेको भन्दै पार्टी बलियो बनाउन जनताको काँधमा काँध मिलाई जनसम्पर्क विस्तार गर्न सल्लाह दिए।

नेपाली कांग्रेसलाई आफूले देशको ठुलो पार्टी बनाएको र सबै एकजुट भएर लागे मात्रै पार्टी बलियो बनाउन सकिने उनको भनाइ थियो। देउवाको यो भनाइ रूपान्तरण अभियान चलाइरहेका एवं सधैं विरोध मात्रै गरिरहने कांग्रेसभित्रको एउटा तप्कालाई गतिलै सन्देश हो।

अहिले कांग्रेस रूपान्तरणको चर्को वकालत गर्नेहरू देउवा पटकपटक प्रधानमन्त्री र सभापति बनिरहेकोमा ईर्ष्या तथा मनोगत भावना पाल्नेहरू बढी देखिन्छन्। तर देउवाले यी सबै पद कुनै संयोगले या भाग्यवश प्राप्त गरेका होइनन्। जनअनुमोदन या लोकतान्त्रिक विधि र पद्धतिभित्रैबाट प्राप्त गरेका हुन्। उनले विश्राम लिने वा पदबाट हट्ने कुरा पनि विधि र पद्धतिभित्रैबाट मात्र सम्भव छ।

अब नेपाली कांग्रेस रूपान्तरणको मूल विषयमा फर्कौं। के हो रूपान्तरण भनेको? किन भइरहेको छ कांग्रेस रूपान्तरणको बहस? के देउवालाई गाली गरेर मात्रै कांग्रेसको रूपान्तरण सम्भव छ त? यसको उत्तर सहज देखिँदैन। नेपाली कांग्रेस पार्टी आफैं एउटा नेपाल रूपान्तरणको महाअभियान हो। इतिहासले यसको पुष्टि गरिसकेको छ।

अंग्रेजीको ‘ट्रान्सफर्मेसन’लाई नेपालीमा रूपान्तरण भनिन्छ। यसको अंग्रेजीमा ‘अ सडेन डाइनामिक चेन्ज अफ स्केनेरी अन स्टेज’ भन्ने अर्थ हुन्छ। रूपान्तरण भनेको सामान्यतया कुनै समाज, वस्तु, व्यक्ति वा चेतना एक अवस्थाबाट अर्को गुणात्मक रूपले भिन्न र नयाँ अवस्थामा र विशेषतः राम्रो, उच्च र सशक्त अवस्थामा बदलिने प्रक्रिया हो।

रूपान्तरण दुई थरीका हुन्छन् ः एउटा हो, मात्रात्मक अर्थात् अंश–अंश हुँदै सुस्त–सुस्त र क्रमशः हुने परिवर्तन। अर्काे, गुणात्मक अर्थात् एकैपटक फड्कोस्वरूप एक्कासि र अविश्वसनीय रूपले पूर्ववत् अवस्थाबाट आन्तरिक र बाह्य रूपमा समेत नितान्त भिन्न र नयाँ रूपरंग, गुणसार, आकारप्रकार र प्रकृति–प्रवृत्तिमा हुने परिवर्तन।

यसका पनि सकारात्मक र नकारात्मक, राम्रो र नराम्रो, प्रगतिशील र प्रतिगामी, अग्रगामी र पश्चगामी, जीवनशील र मरणशील अवस्था हुन्छन्। सकारात्मक र जीवनशील प्रक्रिया र परिणाममा बदलिने कार्य अलि कठिन, जटिल र चुनौतीपूर्ण हुन्छ। यो प्रक्रियामा धेरै नै समय, श्रम, शक्ति, बुद्धि, आँट र लगन लाग्ने गर्छ भने त्यसको तुलनामा नकारात्मक र मरणशील प्रक्रिया सरल र शीघ्र नै हुने गर्छ, लगानी पनि कम नै हुन्छ।

अहिले कांग्रेस रूपान्तरणको बहस दोस्रो प्रवृत्तितर्फ अर्थात् नकारात्मक प्रक्रियातर्फ अघि बढिरहेको देखिन्छ। अर्थात् अरूलाई गाली गर्ने र आफू हिरो हुने। एउटा सचेत र जिम्मेवार मान्छेले आफ्नो रूपान्तरणसँगै सबैलाई रूपान्तरण गर्दछ वा गर्न कोसिस गर्दछ। र, पार्टी, समाज, राज्य र सम्पूर्ण मानवजातिप्रति आफ्नो जिम्मेवारी पूरा गर्दछ। तर कुनै अवसरवादी, स्वार्थी, व्यक्तिवादी मानिसले रूपान्तरणको नारा केवल आफ्नै स्वार्थका निम्ति लगाउने गर्छ।

त्यसैले साँचो अर्थमा कांग्रेसलाई रूपान्तरण गर्ने हो भने हरेक कालखण्डमा कांग्रेसले लिएका नीति तथा रणनीतिहरूको गम्भीर समीक्षा हुनुपर्दछ। खासगरी पार्टी जीवनका महत्वपूर्ण आधारहरू विचार या सिद्धान्त, नीति या रणनीति, संगठन या संरचना अनि नेता या नेतृत्व सबै विषयमा सुस्पष्ट दृष्टिकोण तय गर्नुपर्दछ।

यी सबै विषयमा मौनता साँधेर सभापति देउवाको विरोधमा भाषण गर्दै हिँडेर रूपान्तरण अभियान चलाउनुको कुनै तुक देखिँदैन। यसले त कांग्रेस थप कमजोर बन्नेछ।

जतिसुकै कठिन परिस्थितिमा पनि सहमतिकै आधारमा अघि बढ्ने कांग्रेसभित्रको संस्कार र संस्कृति आज पनि उत्तिकै उपयोगी छ। विधि, पद्धति र प्रक्रियाभित्रै रहेर सबै विषयहरूमा खोजिने समाधान र एकताबद्ध प्रयास नै कांग्रेस रूपान्तरणको मूल आधार हो। यसतर्फ समयमै सबै सचेत बन्नु जरुरी छ।

– काठमाण्डौ प्रेस

३१ जेष्ठ २०८०, बुधबार २०:०६ मा प्रकाशित
Nabintech