Play

गोरखाका कार्यालय प्रमुखहरुलाई मुख्यमन्त्रीको निर्देशन- सेवा प्रवाहमा टाइमकार्ड लागू गर्नुस्

गुरुकुल खबर


गोरखा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनसेवालाई जतिसक्दो छिटो बनाउन गोरखाका कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका छन् । जिल्ला भ्रमणका क्रममा गोरखा पुगेका पाण्डेले बुधबार कार्यालय प्रमुखहरुलाई भेटेर नागरिकले एउटै कामका लागि पटक पटक कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने बताएका हुन् ।

‘एउटै कामकालागि सर्वसाधारण पटक–पटक आउनुपर्ने, कार्यालय धाउनुपर्ने बाध्यता हामीले हटाउनुपर्छ,’ उनले भने, ‘बरु सेवा छिटो र सहज बनाउन ‘टाईमकार्ड’ लागू गर्नुस् । समयमै काम भएन भने जनतामा आक्रोश बढ्छ । ब्यवस्थाप्रति नै बितृष्णा हुन सक्छ ।’

सरकारको सेवा प्रवाह झण्झटमुक्त हुनुपर्ने उनको भनाई छ । पाण्डेले सेवालाई प्रविधिमैत्री बनाउन कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका छन् । प्रदेश सरकारले दैनिक सेवा प्रवाह झण्झट रहित बनाउन क्याविनेटबाट निर्णय गरिसकेको उनको भनाई छ ।

पाण्डे मुख्यमन्त्रीको पदबहाली भएकै दिन यातायात क्षेत्रलाई व्यवस्थित गर्नका लागि सुझाव लिन कार्यदल गठन गरेका थिए । उक्त कार्यदलले प्रतिवेदन बुझाइसकेको छ । दरबन्दी अनुसारको कर्मचारी नहुँदा काम गर्न समस्या भएको गुनासो प्रदेश स्थित कार्यालयका प्रमुखहरुले गरेका थिए ।

गण्डकी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा तत्काल कर्मचारी ब्यवस्थापन गरेर अन्य कार्यालयमा पनि थप्दै जाने मुख्यमन्त्री पाण्डेले प्रतिबद्धता जनाएका छन् ।सेवा दिँदा जनतालाई राजनीतिक विभेद नगर्न पनि उनको निर्देशन छ । उनले संरक्षण सहितको विकास र विकास मार्फत राज्य संचालनको माध्यम निर्माण गर्नुपर्ने बताए ।

‘हामीले आम्दानीको दायरा बढाउन सकेनौं भने सामाजिक उत्तरदायित्व बहन गर्न र जनताको अपेक्षा पुरा गर्न सक्दैनौं । त्यसैले विकास पनि गर्नुपर्छ । गरिएको विकासबाट राज्यले केही प्राप्त पनि गर्न सक्नुपर्छ,’ उनले भने ।

आगामी आर्थिक वर्षको बजेटमा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, रोजगारी, पर्यटन लगायतका क्षेत्रलाई प्राथमिकतामा राखिने भएकोले योजना छनोट गर्दा ख्याल गर्न उनको आग्रह छ ।

यस्तै, विकास निर्माणका काम गर्दा ठेकेदारबाट हुने बदमासी रोक्न नियमित अनुगमन र ताकेता गर्न कार्यालय प्रमुखले चासो दिनुपर्ने उनको भनाई छ । गोरखाका कार्यालय प्रमुखहरुले प्रदेशबाट छुट्याउने योजना कम बजेटको हुँदा कार्यन्वयन प्रभावकारी नभएको र लागु गर्न झन्झटिलो भएको गुनासो राखेका थिए ।

प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषालले गोरखामा भएका समस्याका बारेमा मुख्यमन्त्री पाण्डेलाई जानकारी गराएका थिए । बिपद्को पूर्व तयारीकालागि विषेश ध्यान दिन उनले मुख्यमन्त्री पाण्डेलाई आग्रह गरे ।

यातायत कार्यालयको अनुगमन

यसैबीच, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यातायात व्यवस्था कार्यालय तनहुँको अनुगमन गरेका छन् । कार्यालयको अनुगमन गर्दै उनले यातायात व्यवस्था कार्यालयको कामलाई प्रविधिमैत्री बनाइने बताएका छन् । उनले कुनैपनि बहानामा सेवा प्रभावित हुन नहुने भन्दै छिटोछरितो सेवा दिन जनशक्ति व्यवस्थापन र प्रविधिमैत्री सेवाका लागि प्रदेश सरकारले काम अगाडि बढाएकोे जानकारी दिए ।

आफूले मुख्यमन्त्रीको कार्यभार सम्हालेलगत्तै यातायात व्यवस्था कार्यालयको सेवा प्रवाहलाई प्रविधिमैत्री र छिटोछरितो बनाउन कार्यदल गठन गरिएको र उक्त कार्यदलले सुझाव सहितको प्रतिवेदन दिइसकेको मुख्यमन्त्री पाण्डेको भनाइ थियो ।

सो क्रममा उनले सेवाग्राहीसँग कुरा गर्दै कार्यालयको सेवा प्रवाहको अवस्थाबारे चासो राखेका थिए । कार्यालयका निमित्त प्रमुख रामप्रसाद शर्माले स्थायी कर्मचारीको अभावमा सेवा प्रवाहमा समस्या भइरहेको मुख्यमन्त्रीको ध्यानाकर्षण गराए ।

कार्यालयले विमलनगरबाट सेवा प्रवाहका लागि व्यक्तिको घर पाँच वर्षका लागि भाडामा लिएको छ । कार्यालयले सवारी साधन दर्ता, चालक अनुमति (लाइसेन्स) वितरणको काम गर्दै आइरहेको छ । जिल्लाबाटै सवारीसाधन दर्ता र सवारी चालक अनुमतिपत्रको काम भएपछि पोखरा जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।

४ जेष्ठ २०८०, बिहीबार २२:०७ मा प्रकाशित
Nabintech