Play

आदिबासी जनजातिको सवालमा गम्भीर छु – मुख्यमन्त्री पाण्डे

गुरुकुल खबर


पोखरा । नेपाल लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ जिल्ला कार्य समिति कास्कीले गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई भेट गरी बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

महासंघ कास्कीका सभापति आशबहादुर गुरुङको नेतृत्वमा गएको टोलीले मुख्यमन्त्री पाण्डेको सफल कार्यकालको शुभकामना सहित गण्डकी प्रदेशको विकासका साथै आदिबासी जनजातिका सवालहरुमा गम्भीर हुन आग्रह समेत गरे ।
बधाई ज्ञापन गर्दै सभापति गुरुङले प्रदेशको मुख्यमन्त्री हुनु भनेको सबैको अभिभावक भएको स्मरण गराउँदै सबै क्षेत्र, सबै जाति र सबै वर्गको विकास तथा सशक्तिकरणकालागि अभिभावकिय भूमिका निर्वाह गर्नुुहुने विश्वास व्यक्त गरे ।

सभापति गुरुङले गण्डकी प्रदेशको राजधानी रहेको कास्की जिल्लाबाट एकजना पनि मन्त्री नियुक्त नहुनु दुखद पक्षरहेको गुनासो गर्दै भने – कास्कीबाट एक जना पनि मन्त्री नपर्नु दुखद पक्ष हो यद्यपि मन्त्रीमण्डलमा कास्की जिल्ला पर्न नसके पनि विकासको सवालमा भने यस्तो नहुने विश्वास लिएको छु ।

महासंघका सल्लाहकारद्धय खम्बसिंह गुरुङ र राधाकृष्ण गुरुङले सफल कार्यकालको शुभकामना दिदै विभिन्न क्षेत्रबाट पिछडिएका आदिबासी जनजातिको उत्थानकालागि कार्य गर्न आग्रह गरे ।

यसैगरी महासंघकै उपसभापतिद्धय तोत्रमान गुरुङ र चन्द्र प्रकाश थापा मगरले मुख्यमन्त्री पाण्डेको सफल कार्यकालको कामना गर्दै मुलुकको मुलधारबाट पछाडि परीरहेका आदिबासी जनजातिलाई मुलधारमा ल्याउन प्रदेश सरकारले सशक्तिकरणका कार्यक्रमहरु संचालन गर्नु पर्ने सुझाव दिए ।

जनसम्पर्क समिति बेलायतका पूर्व उप सभापति तथा महाधिवेशन प्रतिनिधि तर्कजंग गुरुङले मुख्यमन्त्री पाण्डेको कार्यकालमा सुशासन, विकास र पारदर्शी सेवाको अनुभुत गण्डकी प्रदेशबासीले गर्न पाउने विश्वास व्यक्त गर्दै समृद्धि र विकासको युगको आरम्भ गर्न आग्रह गरे ।

मुख्यमन्त्री पाण्डेले आदिबासी जनजातिको क्षमता अभिवृद्धि, सशक्तिकरण लगायत हरेक सवालमा आफु गम्भीर रहेको स्पष्ट पार्दै राजनीतिक अधिकारका साथै आर्थिक समृद्धिका लागि लागिपर्ने प्रतिबद्धता जनाए ।

यसैबीच  महासंघले मंगलबार नै गण्डकी प्रदेशका नवनियुक्त अर्थमन्त्री जीतप्रकाश आलेमगरलाई भेट गरी बधाई ज्ञापन गर्नुकासाथै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

महासंघ कास्की जिल्ला कार्यसमितिसंग भेट गर्दै अर्थमन्त्री आलेमगरले नागरिकले चाहेको आर्थिक समृद्धिलाई मध्यनजर गर्दै आफुले कार्य गर्ने र आदिबासी जनजातिको हितका लागि सधै कटिबद्ध रहने प्रतिबद्धता जनाए ।

३ जेष्ठ २०८०, बुधबार १३:२१ मा प्रकाशित
Nabintech