Play

विद्यालय शिक्षाका लागि “एभरेष्ट  म्याराथन”

गुरुकुल खबर


पोखरा । अन्नपूर्ण गाँउपालिका – १० घान्द्रुकस्थित मेश्रम बराह माध्यामिक विधालयको सहयोगार्थ सात जनाले  एभरेस्ट म्याराथनमा सहभागिता जनाउने भएका छन् ।

सूर्य गुरुङको नेतृत्वमा तर्कजंग गुरुङ, जित बहादुर गुरुङ, जुमप्रसाद गुरुङ, बुद्धिलक्ष्मी  गुरुङ, फत्तबहादुर गुरुङ र सरोज लिम्बुले सहभागिता जनाउने भएका हुन् ।

भूतपूर्व ब्रिटिस आर्मी तथा बेलायतमा बसोबास गर्दै आईरहेकाहरुको उक्त टिमले गाँउको शैक्षिक विकासका लागि एभरेष्ट म्याराथनमा सहभागिता जनाउने भएका हुन् ।

एभरेष्ट म्याराथन यहि जेठ १५ गते आयोजना हुने टिम संयोजक सूर्य गुरुङले मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

पत्रकार सम्मेलनमा बोल्दै गुरुङले बालबालिकालाई अध्ययन अध्यापनमा सहयोग गर्ने उद्धेश्यका साथ आफूहरु एभरेष्ट म्याराथनमा सहभागि हुन लागेको जानकारी दिए ।

विश्वकै कठिन म्याराथनमा दौडिएर च्यारिटीमार्फत रकम संकलन गर्नु म्याराथनको उद्देश्य भएको बताउदै उनले भने–“हाम्रो लक्ष्य ५ हजार पाउण्ड उठाउने थियो तर अहिले दोब्बर रकम नाघी सकेको छ, अझै सहयोग रकम आउने क्रम अझै छ ।” “म्याराथन कठिन छ तर पनि हामी पुरा गर्ने विश्वासका साथ तयारीमा लागेका छौं” गुरुङले भने ।

पत्रकार सम्मेलनमा बोल्दै दोश्रो पटक म्याराथनमा सहभागि हुन आएका तर्कजङ्ग गुरुङले विद्यालयको सहयोगार्थ दौडिन लागेको भएपनि एभरेष्ट म्याराथनलाई विश्वव्यापी रुपमा प्रचार गर्नु आफ्नो अर्को उद्देश्य रहेको स्पष्ट पारे । “लण्डन म्याराथन, पेरिस म्याराथन जस्तै अन्तराष्ट्रियरुपमा एभरेष्ट म्याराथनको प्रचार हुनुपर्छ’ गुरुङले भने “अन्तराष्ट्रिय रुपमा प्रचारमा आउन सक्यो भने राष्ट्रले ठुलो आर्थिक लाभ लिनसक्छ।”

उनले एक निश्चित उद्धेश्यका साथ म्याराथनमा सहभागि भएको भए पनि यो म्याराथन म्याराथनका लागि मात्रै नभई खेलकुदमार्फत देशलाई आर्थिक रुपले समृद्ध बनाउनु रहेको बताए। “एभरेष्ट म्याराथनमा हाम्रो सहभागिताको उद्देश्य फराकिलो छ ।” उनले भने ।

कार्यक्रममा श्री मेश्रम बराह माध्यामिक विधालय अर्थ संकलन समिति उपसमिति संयोजक क्या। कमल गुरुङ, सचिव कृष्ण गुरुङ, विधालयका पूर्व प्रधानाध्यापक कृष्ण पौडैलले आ-आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा पूर्व मन्त्री प्रकाशबहादुर गुरुङ, विधालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष ललित गुरुङ, सामाजिक अभियन्ताहरु भुवनसिंह गुरुङ, रुकबहादुर गुरुङ, मे. खेम थापा लगायतले एभरेष्ट म्याराथन टिमलाई सफलताको शुभकामना दिएका थिए ।

३ जेष्ठ २०८०, बुधबार ११:४३ मा प्रकाशित
Nabintech