Play

सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ गण्डकी प्रदेशमा ट्राफिक सप्ताह संचालन, पोखरामा बढ्दो शहरीकरण र सवारी चापका कारण दुर्घटनाहरु बढ्दो

गुरुकुल खबर


पोखरा, सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ बैशाख २५ गतेबाट गण्डकी प्रदेशका ११ जिल्लामा ट्राफ़िक सप्ताह -२०८० संचालन भैरहेको छ।

यही बैशाख २५ गतेबाट शुरु गरिएको ट्राफ़िक सप्ताह कार्यक्रम अन्तर्गत पहिलो दिन प्रभात फेरी, दोश्रो दिन अव्यवस्थित पार्किंग हटाउने र जेब्राक्रस नभएको ठाउंमा यात्रुलाई सडक पार गर्न सिकाउने, तेस्रो दिन ग्रामीण सड़क लक्षित कार्यक्रम गरेर सिट क्षमता भन्दा बढी यात्रु राख्न नदिनको लागि अनुगमन, तोकिएको भन्दा बढी भाडा लिएकोमा अनुगमन, आरक्षण सिटमा कसलाई राखिएको छ भन्ने विषयमा अनुगमन गरिएको थियो।

यसका साथै ट्राफ़िक सप्ताहको चौथो दिन सवारी नियम अनुगमन र चालक सहचालक प्रशिक्षण कार्यक्रमको संचालन गरिएको छ भने पांचौ दिन बैशाख २९ गते सडक प्रयोग कर्ता प्रशिक्षण कार्यक्रम, छैटौं दिन सवारी चालकको स्वास्थ्य परिक्षण, सवारी साधनको यान्त्रिक परिक्षण, रक्तदान र विधालयका सवारी साधनमा अनुगमन गर्ने कार्यक्रम रहेको छ ।

गण्डकी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय, पोखरा महानगरपालिका, गण्डकी प्रदेश कार्यालय र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफ़िक व्यवस्थापन कार्यालयों सहकार्यमा ट्राफिक सप्ताह कार्यक्रम संचालन भैरहेको छ ।

कार्यक्रमको पहिलो दिन गण्डकी प्रदेशका ११ वटै जिल्लामा गरिएको प्रभात फेरी कार्यक्रममा बिभिन्न क्षेत्रका सर्वसाधारणहरु सहित शिक्षक विधार्थी र सडक प्रयोगकर्ताहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा दुई लाख भन्दा बढीले सहभागिता जनाएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफ़िक व्यवस्थापन कार्यालयका प्रवक्ता, प्रहरी नायक उपरिक्षक इन्द्र प्रसाद सुबेदीले गुरुकुल खवरलाई जानकारी दिएका छन ।

उनका अनुसार चेतनामुलक माईकिंग करिब ६ हज़ार पटक गरिएको र सचेतनामुलक कार्यक्रम दुई हजार भन्दा धेरै पटक गरिएको छ ।

ट्राफ़िक सप्ताहको क्रममा पोखरा र कास्की जिल्लामा पनि सचेतनामुलक कार्यक्रमहरु संचालन भैरहेको कास्कीका ट्राफ़िक प्रहरी प्रमुख प्रहरी निरिक्षक कृष्ण बहादुर चन्दले जानकारी दिए । उनका अनुसार पोखरामा बढ्दो शहरीकरण र सवारी साधनको बढ्दो चापका कारण सवारी दुर्घटनाहरु समेत बढ्दो छन।

त्यसका लागि सिमित संख्यामा रहेका ट्राफ़िक प्रहरीहरुले ज़िम्मेवार र सक्रिय रहेर काम गरेको भएपनि सर्वसाधारणको गुनासो भने क़ायम छ ।

बजारको सडकमा समेत जेव्रा क्रस र सडक लेनको संकेत देख्न नपाईने अवस्था मात्र नभएर सडक बत्तीको अभाव र सडकमै निर्माण सामाग्री राख्ने जस्ता समस्या समाधानमा ट्राफ़िक प्रहरीले प्रभावकारी भुमिका निर्वाह गर्न नसकेको गुनासो आईरहेको सन्दर्भमा ट्राफ़िक प्रहरी प्रमुख चन्दले भने आंफुहरुले सरोकारवाला निकाय पोखरा महानगरपालिका, यातायात कार्यालय र सडक विभाग समक्ष समस्या समाधान गर्न आग्रह सहित समन्वय गरिरहेको जानकारी दिए ।

हामीले त ट्राफ़िक व्यवस्थापन गर्ने हो तर पोखरा महानगर लगायतका संस्थाले सडक व्यवस्थित गर्ने, लाईटको व्यवस्था गर्ने, सडकमा जथाभावी राखिएका सामान हटाउने काम नगर्दा दुर्घटनाको समस्या बढिरहेको छ ।

यस पटक चलिरहेको ट्राफ़िक सप्ताहको क्रममा कास्की ट्राफ़िकले शहर संगै ग्रामीण क्षेत्रमा समेत ट्राफिक सचेतनाका कार्यक्रम संचालन गर्न सबै गाउंपालिकामा ट्राफ़िक प्रहरी प्रतिनिधि खटाईएको छ ।

कास्कीमा ट्राफ़िक प्रहरीको दरबन्दी हाल सम्म २८ जनामा सिमित छ तर १ सय ६ जना ट्राफ़िक प्रहरी कार्यरत रहेपनि बढ्दो शहरीकरण र सवारी चाप व्यवस्थापन गर्न ट्राफ़िक प्रहरीको संख्या अझै थप गर्नुपर्ने खाँचों रहेको ट्राफ़िक प्रहरी प्रमुख चन्दले गुरुकुल खवरलाई जानकारी दिए ।

२९ बैशाख २०८०, शुक्रबार ०९:०८ मा प्रकाशित
Nabintech