Play

पोखरा स्पोर्टस अवार्डको सातौं संस्करण सम्पन्न

गुरुकुल खबर


पोखरा । पोखरा स्पोर्टस अवार्डको सातौं संस्करणमा क्रिकेटका करण केसी र फुटबलकी सावित्रा भण्डारीले सर्वोत्कृष्ट वर्ष खेलाडीको उपाधि जितेकी छन् ।

खेलकुद पत्रकार मञ्च गण्डकीले शनिबार पोखरामा लाइफ टाइम अचिभमेन्ट सहित विभिन्न ७ विधामा आवार्ड वितरण गरेको थियो ।

पुरुष तर्फ सर्वोत्कृष्ट खेलाडी बनेका करण केसीले टेनिसका प्रदीप खड्का, आर्चरीका गंगाबहादुर कुबँरलाई पछि पार्दै उपाधि जिते ।

यसैगरी सावित्रा भण्डारीले आर्चरीकी रोजीना थापा मगर र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगरलाई पछि पारिन् ।

वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जि नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पारे ।

उदीयमान खेलाडीतर्फ क्रिकेटका सुवास भण्डारीले सम्मानीत भएका छन् । उनले भलिबलका रवि केसी, फुटवलका सुमित श्रेष्ठलाई पछि पारे ।

वर्ष उत्कृष्ट प्रशिक्षक तर्फ आर्चरीका किशोर कुमार गुरुङले उपाधि जिते । उनले लनटेनिसका निरज थापा र आइटिएफ तेक्वान्दोका सुरज सुनारलाई पछि पारे ।

त्यसै गरी बर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड सागर राज तिमिल्सिनालाई प्रदान गरिएको छ । उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट पत्रकार अवार्डका विजेताले नगद ३५ हजार रुपैयाँ, प्रमाणपत्र र ट्रफीले सम्मानीत भए ।

वर्षोत्कृष्ट खेल संघ गण्डकी कास्की जिल्ला ह्यान्डबल संघले जितेको छ । संघले अवार्ड सहित ३५ हजार रुपैयाँ हात पारेको छ ।

मञ्चले सातौं संस्करणको लाइफटाइम अचिभमेन्ट अवार्डबाट बक्सिङका प्रशिक्षक विद्या प्रसाद मर्सानी सम्मानीत भए । मर्सानीलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सम्मानीत भए ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकै क्रममा दुर्घटनामा परी गत असोज ३० गते निधन भएका प्याराग्लाइडिङ खेलाडी निसिम थापाको योगदानको कदर गर्दै कीर्तिशेष सम्मान गरेको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पुर्व मुख्यमन्त्री खगराज अधिकारी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिब टंकलाल घिसिङ, पोखरा महानगरपालिका मेयर धनराज आचार्यले लगाएतले उत्कृष्टहरुलाई अवार्ड प्रदान गरेका थिए ।

२४ बैशाख २०८०, आईतवार १८:२५ मा प्रकाशित
Nabintech