Play

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका पाण्डे नियुक्त, शपथ ग्रहण र पदबहाली शुक्रबार हुने (भिडियो सहित)

गुरुकुल खबर


पोखरा ।गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् ।

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । पाण्डेले आजै प्रदेश प्रमुख समक्ष बहुमत सहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

उनलाइ संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री नियुक्त गरेका हुन।

पाण्डेलाई कांग्रेसको २७, माओवादीको ७ र १ स्वतन्त्र सहित ३५ सांसदको समर्थन छ । प्रदेश प्रमुखले मंगलबार संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न दलहरूलाई आह्वान गरेका थिए ।

मुख्यमन्त्री नियुक्ती भएपछि आण्डेले अहिलेको गठबन्धन प्रदेशसभाको अवधिभर रहने बताउदै सरकार आलोपालो गरेर चलाउने बताए । उनले छिटै मन्त्रिपरिषदलाई पूर्णता दिने र सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्ने बताए । मन्त्रिपरिषद ७ सदस्यीय भन्दा नबढ्ने पनि पाण्डेले बताए । प्रदेशलाई आत्मनिर्भर बनाउने र रोजगारी बढाउने खालका कार्यक्रमहरु बजेटमा समेट्ने बताए ।

गण्डकीको नेतृत्वमा माओवादीले पनि दाबी थियो । तर केन्द्रबाट नै पहिलो कार्यकाल कांग्रेसले नेतृत्व गर्ने निर्णय पठाए पछि माओवादिले कांग्रेसका पाण्डेलाई समर्थनको हस्ताक्षर बुझाएका हुन् । माओवादीबाट दलका नेता हरिबहादुर चुमानले मुख्यमन्त्री दाबी गरेका थिए । चुमानले आलो पालो गरेर सरकार चलाउने बताउदै कसले कति बर्ष चलाउने भन्ने निर्णय भैनसकेको बताए ।

यसअघि खगराज अधिकारी नेतृत्वको सरकार १०५ दिनमै ढलेको थियो । पाण्डेले मुख्यमन्त्रीको शपथ शुक्रबार लिने तयारीमा छन् । गण्डकी प्रदेशमा नेपाली काग्रेसका २७, नेकपा एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र एक जना सांसद रहेका छन् ।

स्कुले जीवनबाटै कांग्रेस निकट नेपाल विद्यार्थी संघमा आवद्ध सुरेन्द्रराज पाण्डे २०३६ सालको विद्यार्थी आन्दोलनमा होमिएका थिए। त्यसयता उनी निरन्तर कांग्रेसको राजनीतिमा संलग्न छन्। २०४५ साल र २०६१ सालमा तत्कालीन राजाको प्रत्यक्ष शासनको विरोध गर्दा उनी ८ महिना जेल बसेका थिए। पटक-पटक हिरासतमा परे।

२०३९ सालमा नेविसंघ अस्कल क्याम्पसको इकाइ सचिव भएका पाण्डे २०४५ सालमा त्रिचन्द्र क्याम्पसका स्ववियु सभापति निर्वाचित भएका थिए।

विद्यार्थी राजनीतिमा रहँदा उनी २०४९मा नेविसंघको केन्द्रीय सदस्य र २०५९ मा नेपाल तरूण दलको महासचिव बने। नेपाली कांग्रेसको लगातार तेस्रो पटक केन्द्रीय सदस्य रहे पनि पाण्डेले सरकारको नेतृत्वमा पुग्ने अवसर यसअघि पाएका थिएनन्।

माओवादीले कांग्रेसको इमान्दारिता रहेसम्म गठबन्धन रहने बताउँदै आए पनि स्वयं पाण्डे भने माओवादीप्रति नरम रहेको उनकै विगतले बताउँछ। २०७४ को प्रतिनिधि सभा निर्वाचनमा गोरखा-२ बाट टिकट पाएका पाण्डेले नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराइलाई छाड्नुपर्‍यो।

उनले त्यतिबेला टिकट पाएर पनि चुनाव लड्न नपाएको भनेर नेतृत्वप्रति सार्वजनिक रूपमा चित्त दुखाएनन्। कांग्रेस सभापति देउवानिकट पाण्डे त्यसपछि राष्ट्रिय सभा सदस्यमा मनोनित भएर प्रमुख प्रतिपक्षी दलका नेता बने। गत मंसिर ४ को निर्वाचनमा उनी गोरखा कांग्रेसबाट सर्वसम्मत प्रतिनिधि सभा सदस्य उम्मेदवारमा सिफारिस भएका थिए।

दोस्रो पटक प्रतिनिधि सभा सदस्य टिकट पाउने निश्चित हुँदा पनि उनले नै त्याग गर्नुपर्‍यो। निर्वाचनमा समेत गठबन्धन दलहरू मिलेर जाने भएपछि उनको क्षेत्रबाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चुनाव लडे। उनी निर्वाचित भएर प्रधानमन्त्री बने। निर्वाचनका दौरान प्रचण्ड र बाबुराम दुबैले पाण्डेलाई मुख्यमन्त्री बनाउने भन्दै प्रदेशको टिकट दिलाएर भोट मागेका थिए।

जब निर्वाचन सकियो, प्रचण्ड एमालेतर्फ ढल्किँदा पाण्डेको मुख्यमन्त्री सपना चकनाचुर बनेको थियो। अब गठबन्धन संसदको बाँकी कार्यकाल टिकाएर सरकारलाई स्थिरता दिने पाण्डे र चुमान दुबैले बताएका छन्। प्रदेश सभाका दुई दलका संसदीय दलका नेताद्वयले मात्र चाहेर गठबन्धन टिक्ने कि नटिक्ने निर्धारण हुँदैन। केन्द्र सरकारमा आउने खटपटले नै अहिलेसम्म गण्डकी सरकार बन्ने र भत्कने देखिएकाले पाण्डे नेतृत्वको सरकारलाई पनि केन्द्रमा गठबन्धन टिक्ने कि नटिक्नेमा भर पर्ने देखिन्छ।

यसअघि बनेका गण्डकी सरकार पनि केन्द्रमै देखिएको खटपटले पूरा कार्यकाल चल्न सकेका छैनन्। २०७४ को निर्वाचनपश्चात स्थापित गण्डकी सरकारमा सबैभन्दा लामो समय तत्कालीन नेकपाका तर्फबाट पृथ्वीसुब्बा गुरूङले ३३ महिना नेतृत्व लिएका थिए।

नेकपा विघटन भएपछि कांग्रेस नेता कृष्णचन्द्र नेपाली पोखरेलले १८ महिना सरकारको नेतृत्व लिन पाए।

गत मंसिर ४ मा भएको निर्वाचनपश्चात केन्द्रमा एमाले-माओवादी गठबन्धन बनेपछि प्रदेशमा पनि सोही गठबन्धन निर्माण भयो। एमाले नेता खगराज अधिकारी पुस २५ गते मुख्यमन्त्री नियुक्त भए।

केन्द्रमा प्रचण्ड नेतृत्वको सरकारबाट एमाले बाहिरिएपछि गण्डकीमा अधिकारी नेतृत्वको सरकारबाट माओवादी बाहिरियो। गत शनिबार अधिकारीले प्रदेश सभाबाट विश्वासको मत नपाएपछि उनी पदमुक्त भए। अधिकारीले जम्मा १०५ दिन प्रदेश सरकारको नेतृत्व गर्न पाए।

अहिले बनेको कांग्रेस-माओवादी गठबन्धनको सहमतिअनुसार जाँदा पनि अब २ वर्ष पाण्डेले सरकारको नेतृत्व गर्न पाउँछन्। मुख्यमन्त्री बनेपछि उनले दिएको अभिव्यक्तिअनुसार २ वर्षपछि उनले माओवादी केन्द्रलाई छाड्नुपर्ने हुन्छ। त्यतिबेला माओवादीका चुमान मुख्यमन्त्री हुन पाउनेछन्।

सरकार गठन र विघटनको खेलमा सँगसँगै रहेको एमालेले सत्ता गठबन्धनको उक्त सहमतिअनुसार सरकार हस्तान्तरण गर्ने बेला कुनै चाल चाल्न सक्छ। जसले माओवादीलाई सरकारको नेतृत्वमा जानबाट रोक्न वा कांग्रेसलाई सरकारको नेतृत्वबाट हटाउन हरसम्भव प्रयत्न गर्नेछ।

१४ बैशाख २०८०, बिहीबार १७:५८ मा प्रकाशित
Nabintech