Play

गण्डकी प्रदेश सरकारको समर्थन फिर्ता लिदैं माओवादी केन्द्र

गुरुकुल खबर


पोखरा, १० चैत । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गण्डकी प्रदेश सरकार छाड्न निर्देशन दिए लगत्तै सरकारबाट माओवादी अलग्गिने भएको हो ।

एमालेलाई दिएको समर्थन फिर्ता लिनका लागि औपचारिक निर्णय गर्न माओवादी केन्द्रले आज शुक्रबार विहान ११ बजे संसदीय दलको बैठक बोलाएको संसदीय दलका नेता हरिबहादुर चुमानले डन न्यूजलाई जानकारी दिए ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री समेत रहेका नेता चुमानले भने–‘केन्द्रमा फेरिएको समिकरणसँगंै त्यसको प्रभाव प्रदेशमा देखिनु स्वभाविकैं हो । त्यसैले हामीले एमालेलाई दिएको समर्थन फिर्ता लिदैंछौं ।’

नेपाली काँग्रेस र माओवादी केन्द्रबीच आलोपालो नेतृत्व गर्ने सहमतिसँगैं आज माओवादीले प्रदेश सरकार छाड्ने निर्णय गर्ने भएपनि पहिलो कार्यकालमा को मुख्यमन्त्री बन्ने भन्ने विषय अझै टुंगो लागिसकेको भने छैन ।

माओवादीसहितको समर्थनमा गण्डकीमा नेकपा एमाले संसदीय दल नेता खगराज अधिकारी मुख्यमन्त्री बनेका छन् ।
माओवादीले समर्थन फिर्ता लिएसँगैं मुख्यमन्त्री अधिकारीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । तर प्रदेश सभामा कांग्रेस र माओवादी गठबन्धन गरेमा सरकार निर्माणका लागि बहुमत पुग्दछ ।

६० सदस्यीय प्रदेश सभामा एमालेको उपसभामुखसहित २२, माओवादीका सभामुखसहित ८ जना सांसद छन् भने नेपाली कांग्रेसका २७ जना सांसद छन् । राप्रपाका २ र नेकपा एकीकृत समाजवादीका एक जना सांसद छन् ।

१० चैत्र २०७९, शुक्रबार १०:३३ मा प्रकाशित
Nabintech