पोखरा । अनलाइन पत्रकार संघ गण्डकीको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन सोमबार पोखरामा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले अनलाइन मिडियालाई व्यवस्थित बनाउन संघले अनलाइन सम्बन्धि साक्षरता कार्यक्रमको आयोजना गर्नुपर्ने बताए ।
उनले पछिल्लो समय अनलाइनको संख्या बढ्दै जाँदा गुणस्तरियतामा ख्याल नगरिएको जनाए । कतिपय अनलाइनमा आएका समाचारले समाजमा नकरात्मक प्रभाव पारेको उनको भनाई थियो । अनलाइन मिडियाहरुलाई पनि नियमन गर्नुपर्ने आवश्यकतालाई उनले औंल्याए । ‘पत्रकार निश्पक्ष हुन आवश्यक छ । विज्ञापन उठाउन पत्रकार जाने होइन । पत्रकारिता क्षेत्रमा नै गुणस्तरियता भएन भने अन्य क्षेत्र स्वतः समस्यामा पर्छ ।’, उनले भने ।
मुख्यमन्त्री अधिकारीले पत्रकार हित बमोजिम नै आमसंचार विधेयक ल्याउन गण्डकी सरकार प्रतिबद्ध रहेको बताए । उनले पछिल्लो समय सत्ताका लागि मात्र राजनीति गर्दा नागरिक समस्यामा परेको उल्लेख गरे । ‘सत्ताका लागि मात्र राजनीति केन्द्रित हुन थाल्यो । मेरा लागि सत्ता प्रमुख होइन । जनताका आधारभूत आवश्यकतालाई परिपूर्ति गर्ने तवरले हामी अगाडि बढ्न सके नै देशकोे विकास हुन्छ ।’, उनले भने ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनीले पत्रकार क्षेत्रको उन्नयनका लागि केही गर्न सके नै लोकतन्त्रको अनुभुति हुने बताइन् । पत्रकारका मुद्धाहरुलाई सरकारले सुनवाई गर्नुपर्ने धारणा उनको छ ।
पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले प्रदेश सरकारले ल्याउन लागेको आमसंचार विधेयक पत्रकारमैत्री हुनुपर्ने धारणा राखे । उनले आमसंचार विधेयकका विषयमा सरकारले अपेक्षा अनुरुप काम नगरेको बताए । आमसंचार विधेयक वाक स्वतन्त्रता सँग सम्बन्धित हुनुपर्ने उनको भनाई थियो ।
पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले अनलाइन मिडियामा आएका समस्यालाई समाधान गर्न संघ लाग्नुपर्ने बताइन् । अनलाइनलाई व्यवस्थित गर्दै आमसंचार मिडियालाई प्रभावकारी बनाउन आजको आवश्यकता रहेको भनाई उनको छ ।
पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष दिपेन्द्र श्रेष्ठले अनलाइन कान्छो विधा भएर पनि सबै भन्दा प्रभावकारी भएको उल्लेख गरे । अनलाइनको कन्टेन्टमा प्रश्न चिन्ह उठीरहेका बेला संघले अनलाइन मिडियालाई नियमन गरी दक्ष जनशक्ति उत्पादन गर्न तर्फ जोड दिन उनको आग्रह छ ।
नेपाल प्रेस युनियन गण्डकी प्रदेशका महासचिव प्रकाश ढकालले अनलाइनबाट अपेक्षा धेरै गरिएता पनि अनलाइनलाई नै संरक्षण गर्न सरकार मुकदर्शक बनेको बताए । अन्य पत्रकारसँग सम्बद्ध संस्थाजस्तै अनलाइन मिडिया सँग सम्बद्ध संस्थालाई पनि सरकारको सहयोगको आवश्यकता रहेको उनको भनाई छ ।
अनलाइन पत्रकार संघ गण्डकीका निवर्तमान अध्यक्ष कमल सुवेदीले गण्डकी सरकारले ल्याउन लागेको आमसंचार विधेयक अनलाइन मिडिया मैत्री हुनुपर्ने धारणा राखे । उनले दर्ता देखि नविकरण सम्मको काम झन्झटिलो रहेको उल्लेख गर्दै गण्डकी प्रदेशको राजधानी पोखरामा नै नविकरण गर्ने व्यवस्था मिलाउन नीति निर्माण गर्नुपर्ने आवश्यकतालाई औंल्याएका छन् ।
साधारण सभा पश्चात भएको संघको अधिवेशनबाट अध्यक्षमा ढाका मोहन (गणेश) बराल सर्वसम्मत निर्वाचित भएका छन् । त्यस्तै अधिवेशनबाट उपाध्यक्षमा सन्तोष बस्याल, सचिवमा प्रल्हादचन्द्र घिमिरे र कोषाध्यक्ष चन्द्रिका घिमिरे (अनिता) निर्वाचित भए । त्यसैगरि सदस्यमा निरज बसौला, ऋषिराम दाहाल, सञ्जय आचार्य, सुरेशराज अधिकारी, सरिता गुरुङ, प्रविण मगर, दीपकराज गिरी, शेखर कोइराला, शिव न्यौपाने र रोहित बस्नेत सर्वसम्मत निर्वाचित भएका छन् ।
अनलाइन पत्रकार संघको अधिवेशन सफल पार्न सल्लाहकार केशव पाठकको संयोजनमा सदस्यहरु माधव बराल र सागरराज तिमिल्सिना गरी तीन सदस्यीय निर्वाचन कमिटी गठन गरिएको थियो ।